प्रदेश–२ सरकारले सांसदहरुका लागि विनियोजन गरिएको बजेट भुक्तानी गर्न नसक्दा लगातार संसद बैठक अवरुद्ध हुन थालेको छ ।
बिहीबार दिउँसो १ बजे बोलाइएको बैठक समेत सूचना टाँस गरेर स्थगित गरिएको छ । प्रदेश संसद सचिवालयले २८ पुस दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको छ ।
१७ पुसबाट शुरु भएको अधिवेशन सांसदहरुको अवरोध पछि बस्न सकेको छैन । आर्थिक वर्ष २०७५/०७६ मा सांसदहरुका लागि विनियोजन गरिएको बजेट भुक्तानी नभए पछि प्रतिपक्षी दलले संसद अवरोध गर्दै आएको छ ।
बजेट भुक्तानीबारे मुख्यमन्त्री लालबाबु राउतले प्रष्ट जवाफ नदिए सम्म बैठक सञ्चालन हुन नदिने नेकपाका सांसद बेची लुंगेली बताइन् । उनका अनुसार, काम भइसकेका आयोजनाहरुको प्रदेश सरकारले भुक्तानी गर्न सकेको छैन ।
प्रदेश सरकारले सांसदहरुलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ करोड र संसदीय विकास कोषका लागि एक करोड विनियोजन गरेको छ । प्रदेश सरकारले बजेट विनियोजन गरेपछि सांसदहरुले पूर्वाधार विकास लगायतका काम अगाडि बढाए पनि अझै बजेट भुक्तानी रोकिएको छ ।
प्रदेश–२ मा १०७ सांसदहरुका लागि विनियोजित बजेट मध्ये ९२ करोड भुक्तानी हुन बाँकी छ । बजेट भुक्तानीको विषय लिएर संसद अगाडि बढ्न नसक्दा प्रदेशको नामकरण र राजधानी बारे छलफल हुन सकेको छैन ।
गत ७ भदौंमै प्रदेश–२ का लागि दलहरुले नाम र राजधानी बारे प्रस्ताव दर्ता गराएका छन् । सत्तारुढ समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजप)ले मधेश, नेकपाले जानकी र कांग्रेसले मधेश–मिथिला नाम प्रस्ताव गरेको छ । राजधानीबारे भने लगभग सहमति छ । सवै दल जनकपुर राजधानी राख्न सहमत छन् ।