About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेश २ को पहिलो आवधिक योजना सार्वजनिक

आर्थिक वृद्धिदर ११ प्रतिशत पुर्‍याउने लक्ष्य

खोज केन्द्र बिहिबार, पौष २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । प्रदेश २ सरकारले ११ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले पञ्चवर्षीय योजनाको आधारपत्र लोकार्पण गर्दै प्रदेशको आर्थिक वृद्धिदर ११ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको उद्घोष गरेका हुन् । आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०८०/८१ सम्मका लागि ल्याइएको प्रदेशको पहिलो आवधिक योजनाको नारा ‘उच्च मानव विकास र पहिचान, समृद्ध मधेश समाज’ रहेको छ ।

हाल प्रदेश २ मा २७ दशमलव ७ प्रतिशत गरीबी रहेकोमा आगामी ५ वर्षमा यसलाई २१ प्रतिशतमा झार्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८० सम्ममा प्रदेशको प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलर पुर्‍याइने आधारपत्रमा उल्लेख छ । आर्थिक वृद्धिदर ११ प्रतिशत पुर्‍याउन कुल स्थिर लगानी ११ खर्ब ५९ अर्ब ३६ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

कुल स्थिर लगानीका लागि सार्वजनिक क्षेत्र, निजीक्षेत्र र सहकारी क्षेत्रलाई ‘आधारस्तम्भ’ मानिएको छ । योजनात्मक लगानीमा सार्वजनिक क्षेत्रबाट ३८ प्रतिशत, निजीक्षेत्रबाट ५८ प्रतिशत र सहकारी क्षेत्रबाट ४ प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।

प्रादेशिक पूँजीबजारको विकास, सार्वजनिक खर्च पारदर्शी बनाई चुहावटरहित सरकारी बचतको सृजना, बचत अभिवृद्धिका लागि उत्पादनशील लगानीमा प्रोत्साहन, निजीक्षेत्रको लगानी प्रवर्द्धन, विदेशी लगानीका लागि प्रोत्साहन तथा लगानी क्षेत्रको पहिचानका लागि लगानी सम्मेलन गर्ने र प्रादेशिक औद्यागिक नीति बनाई लागू गर्ने लगायतका लक्ष्य आवधिक योजनाले लिएको छ ।

प्रदेश २ को आर्थिक, सामाजिक विकासमा देखिएका चुनौतीलाई सामना गर्दै कार्यनीति बनाएर अगाडि बढ्ने उनले बताए । प्रदेश नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले प्रदेशमा उपलब्ध स्रोतसाधन, सम्भाव्यता, चुनौती तथा अवसरलाई विश्लेषण गरी पञ्चवर्षीय आधारपत्र तयार गरिएको बताए ।

आधारपत्रमा प्रादेशिक विकास निर्माणका बहुआयामिक विषयवस्तुलाई समेटिएको पनि उनले जानकारी दिए । ‘आधारपत्रमा क्षेत्रगत सोच, लक्ष्य, उद्देश्य, नीति, कार्यनीति, कार्यक्रम तथा अपेक्षित उपलब्धिहरू समेटिएका छन्,’ उनले भने, ‘तिनैलाई आधार मानेर बृहत् आवधिक योजना निर्माण गरिनेछ ।’

नेपालले अन्तरराष्ट्रिय रूपमा व्यक्त गरेको दिगो विकासका लक्ष्य हासिल गर्ने प्रतिबद्धता कार्यान्वयनमा प्रदेशले आफ्नो तहबाट सघाउने गरी पहिलो योजनाको आधारपत्र तयार गरिएको उनको भनाइ छ । कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशमा उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै प्रादेशिक आकांक्षालाई योजनाबद्ध ढंगले सम्बोधन गर्न पहिलो आवधिक योजनाको आधारपत्र तयार गरिएको बताए ।

आधारपत्रले प्रदेशको आगामी विकास निर्माण कार्यक्रमको तर्जुमा गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको उनको भनाइ छ ।

‘आधारपत्रले विस्तृत आवधिक योजना निर्माणका लागि कार्यदिशा निर्धारण गर्छ,’ प्रदेश नीति आयोगका अध्यक्ष समेत रहेका राउतले भने, ‘साथै दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिव्यक्ति आय वृद्धि, प्रदेशको आर्थिक वृद्धि, स्रोतको सदुपयोग र आर्थिक, सामाजिक तथा सांस्कृतिक सामन्जस्य कायम गर्न पनि मद्दत पुर्‍याउँछ ।’

पर्याप्त बैंकिङ सेवाको विस्तार गर्न, जनताको आयस्तर बढाउन, उद्यमशीलताको विकास गर्न, प्रदेशका सम्भाव्यताको खोजी गर्न र सहजतापूर्वक ऋण उपलब्ध गराउन भने चुनौती रहेको उनको भनाइ छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]