About Contact
२५ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
जनकपुर अञ्चल आयुर्वेद औषधालयमा आर्थिक अनियमितता, कामै नगरी सकिए

खोज केन्द्र बुधबार, पौष २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । जनकपुर अञ्चल आयुर्वेद औषधालयमा आर्थिक अनियमितता भएको पाइएको छ । गतवर्षसम्म औषधालयमा आएको बजेट कामै नगरी सकिएको खुलेको हो ।

सामाजिक विकास मन्त्रालयले गत आवमा औषधालयलाई सुविधासम्पन्न बनाउन सशर्त अनुदान अन्तर्गत प्रदान गरेको ५० लाख, ५ लाख ९२ हजार र ३ लाख ६१ हजार गरी ५९ लाख ५३ हजार रुपैयाँमध्ये कार्यालय व्यवस्थापन, फर्निचर, मेशिनरी उपकरण लगायत शीर्षकमा सामान खरीद नै नगरी बजेटको दुरुपयोग गरिएको देखिएको छ ।

अस्पतालको फर्निचरका लागि मन्त्रालयले ५ लाख, मेशिनरी उपकरणका लागि ५ लाख, प्रयोगशाला व्यवस्थापनका लागि ४ लाख ५० हजार, स्थास्थ्य जीवनशैलीका लागि ३ लाख, बिरामीको शøयाका लागि २ लाख, क्षारसूत्र व्यवस्थापनका लागि ३५ लाख र यूएसजी मेशिनका लागि १९ लाख रुपैयाँ निकासा गरेको थियो । तर रकम निकासा गरिएको कतिपय शीर्षकको सामान कार्यालयमा छैन ।

औषधालय कार्यालयको सञ्चालन एवं व्यवस्थापनका लागि विनियोजित २ लाख ५६ हजार रुपैयाँ केही काम नगरी भ्रष्टाचार गरिएको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए । उपमहानगरपालिकाले फर्निचर खरीदका लागि दुईपटक ९९ हजार ४४० र ४० हजार रुपैयाँ बजेट दिएको थियो । तर, उक्त रकमको कुनै पनि फर्निचर कार्यालयमा नआएको कर्मचारीहरूको भनाइ छ ।

फर्निचर खरीद शीर्षकमा प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयले समेत ५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकमबाट मात्र दुईओटा सोफा मात्र खरीद गरिएको छ । यस्तै औषधालयका प्रमुख डा. सीमा झाका श्रीमान् सरोज राय यादवले सञ्चालन गरेको औषधि पसलबाटै अस्पतालले विभिन्न मितिमा औषधि खरीद गरेको पाइएको छ ।

जनकपुर–४ स्थित राहत आयुर्वेद फर्माबाट कोटेशनमा औषधि खरीद गरेको कार्यालयको तथ्यांकले देखाए पनि उक्त पसल कतै पनि छैन । ‘पटक पटक राहत आयुर्वेद फर्माको नाममा कोटेशन निकाली औषधि खरीद गरिएको देखिन्छ,’ एक कर्मचारीले भने, ‘तर भौतिक रूपमा उक्त पसल बजारमा कतै पनि छैन ।’

उपमहानगरमा मन्त्रालयबाट सशर्त अनुदानमा दिएको रकममा समेत कार्यालय प्रमुखले राजनीति गरेको कर्मचारीहरूको आरोप छ । मन्त्रालयले उपलब्ध गराएको सशर्त अनुदान अन्तर्गत ‘गाउँघर क्लिनिक’ शीर्षकको १ लाख ५० हजार रुपैयाँ कार्यालय प्रमुखको मिलेमतोमा हिनामिना भएको कर्मचारीहरूको जिकीर छ ।

गाउँघर क्लिनिकका लागि गाउँ गाउँमा गएर सञ्चालन गरेका वास्तविक कर्मचारीले नपाएर अर्कै कर्मचारीले पाएको उनीहरूको गुनासो छ । औषधालयका कर्मचारीले उक्त कार्यक्रम सञ्चालनको भत्ता अहिलेसम्म नपाए पनि पालिकाबाट पैसा निकासा भइसकेको छ ।

सूचना दिन आलटाल
कार्यालय प्रमुख झाले सञ्चारकर्मीलाई समाचार प्रयोजनका लागि सूचना दिन आलटाल गरेकी छिन् । उनले आफ्नो कार्यालयमा कुनै प्रकारको अनियमितता नभएको समेत दाबी गरिन् । ‘कार्यालयका आर्थिक कारोबार सम्बन्धी कुनै फाइल छैनन्,’ उनले भनिन्, ‘सबै फाइल अडिटिङका लागि प्रदेश कोष लेखा नियन्त्रण कार्यालयमा छन् ।’

प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख विनोद गेलालले भने हालसम्म औषधालयको कुनै पनि कागजात नआएको बताए । निकै समस्या देखिएको औषधालय चालू आवदेखि प्रदेश सरकार अन्तर्गत सञ्चालनमा आएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]