About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
कार्यसम्पादनमा कमजोर समाजिक मन्त्री नवलकिशोरलाई किन हटाइएन मन्त्री पदबाट ?

मन्त्री साहको गालीगलौजदेखि भ्रष्टाचार काण्डसम्म

खोज केन्द्र मंगलबार, जेठ २५, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

मुख्यमन्त्री लालबाबु राउतले महन्थ–राजेन्द्र पक्षबाट शामिल रहेका मन्त्रीहरुलाई बर्खास्त गरेसंगै प्रदेश २को राजनीति तातिएको छ । आइतबार राति मुख्यमन्त्री राउतले जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरेका थिए । यी चारैजनालाई पदबाट बर्खास्त गर्नुको मुख्य कारण कार्यसम्पादन संतोषजनक नरहेको बताइएको छ । पदबाट बर्खास्त गरिनुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले देखाएको कारणलाई लिएर प्रदेश सरकारको आलोचना समेत भईरहेको छ ।

हुनत गत वर्षदेखि नै प्रदेश २ सरकारमा राजपा खेमाबाट सामाजिक विकास मन्त्रीको रुपमा शामिल नवलकिशोर साहलाई मन्त्री पदबाट हटाइने अडकलवाजी चलिरहेको थियो । साह सरकारमा शामिल हुँदा राजेन्द्र महतोको विश्वास पात्र थिए । तर जसपा भित्र वर्तमान समयमा देखिएको किचलो र मन्त्री पद धरापमा पर्ने खतरा देखेपछि कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा लागेर मन्त्री पद जोगाएका हुन् । जबकि प्रदेश सरकारमा शामिल मन्त्रीहरु मध्ये सामाजिक विकास मन्त्री साहको कार्य सबैभन्दाबढी असंतोषपूर्ण रहेको पाइएको छ ।

उनकै कार्यकालमा प्रदेश २ले कोरोना महामारीको २ वर्ष खेपि सकेको छ । तर कोरोना महामारी नियन्त्रणका लागि गर्नुपर्ने कार्य गर्न नसकेको प्रदेशवासीको आरोप छ । उनकै कार्यकालमा प्रदेश सरकारका मन्त्रालयहरु मध्ये सबैभन्दा बढी भ्रष्टाचार भएको र विवादित रहेको बेलाबखतमा संचारमाध्यमहरुमा आएका समाचारहरुले प्रष्ट्याउँछ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले सम्हालेको मन्त्रालयबाट भएका भ्रष्टाचार र विवादका मुख्य नमूनाहरु यस प्रकार छन् ।

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता

प्रदेशमा कोरोना महामाररी फैलिरहेको समयमा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार भएको देखियो । गत वर्ष कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि महँगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको श्रेय उनकै मन्त्रालयलाई जान्छ ।

पोहोर सप्तरीको राजविराज, धनुषाको जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि ‘रियल टाइम’ पीसीआर मेसिनसहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको पाइएको थियो ।

प्रदेश २ सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आरडीटी–पीसीआरसँग सम्बन्धित उपकरण खरिदमा बजार मूल्यभन्दा धेरै २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको थियो । तर, सोही मेसिन र उपकरण २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरेर सामाजिक विकास मन्त्री साह र टेण्डरमा सेटिंग गर्ने उनका छोरा सुमित साह विवादमा तानिएका थिए । खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्ममध्ये सस्तोमा दिनेबाट खरिद नगरी महँगो दर रेटमा खरिद गरेर करोडौं भ्रष्टाचार गरेको पाइएको थियो ।

क्वारेण्टाइन व्यवस्थापनको नाममा मन्त्रीको छोराको ब्रह्मलुट

गत वर्ष भदौमा धनुषाको नगराइन नगरपालिका गंगुलीमा निर्माण गरिएको क्वारेन्टाइन व्यवस्थापनको नाममा करोडौँको भ्रष्टाचार यसै मन्त्रालयबाट भएको थियो । कवारेन्टाइनका लागि खाद्य सामग्री र औषधीहरुमा बजारको मूल्यभन्दा दोब्बर तेब्बरमा रेटमा खरिद गरेको खुलासा पछि मन्त्री साह विवादित बनेका थिए ।

मन्त्री साहले छोरा सुमित साह मार्फत ठेक्केदारसंग मिलेर करोडौँको कमिशन लिएको आरोप त्यो बेला लागेको थियो । जबकि आर्थिक मामिला तथा योजना मन्त्रालयले क्वारेन्टाइन व्यवस्थापनकालागि समाजिक विकास मन्त्रालयलाई ८६ करोड ५५ लाख ८४ हजार ७ सय ८० रुपैयाँ निकासा गरिएको थियो भने  ५४ कार्यक्रम संशोधन सहित ८७ करोड ९ लाख ८४ हजार ७ सय ८० रुपैया थप निकासा गरिएको थियो । क्वारेण्टाइन व्यवस्थापनका नाममा रहेको रकम कुम्ल्याउन आफ्ना छोरा सुमित साहलाई परिचालन गरेका थिए ।

बजेटमा रकमान्तरको झेल

कोरोना महामारी रोकथाम एवं नियन्त्रण शिर्षकमा प्रदेश २ सरकारले २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम गत वर्ष खर्च गरेको बताइएको छ । प्रदेस सरकारले कार्यक्रम संशोधनसहित थप निकासा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको थियो ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा कोरोनाभाइरस रोकथाम, नियन्त्रण एवं उपचारको नाममा ५ वटा मन्त्रालयलाई १ अर्ब १७ करोड ७३ लाख ३४ हजार ७ सय ८० रुपैयाँ थप रकम निकासा र ५१ करोड ७३ लाख रुपैयाँ कार्यक्रम संशोधन गरी कुल १ अर्ब ६९ करोड ४६ लाख ३४ हजार ७ सय ८० रुपैयाँ निकासा आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको थियो ।

मन्त्रालयले सार्वजनिक गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं उपचारका लागि थप बजेट निकासा र रकमान्तर विवरणमा सबै भन्दा बढी रकम सामाजिक विकास मन्त्रालयले गरेको थियो । मन्त्रालयले बजेट रकमान्तर गरेर मन्दिर निर्माण तथा सडक तथा नाला निर्माण लगायतका कार्यमा बजेट लगाएको पाइएको थियो ।

यति मात्र नभई एउटै शिर्षकको खर्च रकम दुई ठाउँमा मन्त्रालयले देखाएपछि मन्त्री साह विवादमा परेका थिए ।

अदालतको आदेशको अवज्ञा

पोहोर कोरोना महामारीको नाममा समाजिक मन्त्रालयको एक पछि अर्को भ्रष्टाचार सार्वजनिक भएपछि उच्च अदालतले प्रदेश २ सरकार संग  कोरोना महामारी नियन्त्रणमा भएको कामहरुको विवरण बुझाउन अन्तरिम आदेश जारी गरेको थियो । अधिवक्ता सुधिरकुमार कर्णले दायर गरेको रिटउपर सुनवाइ गर्दै प्रदेश २ सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै अधिवक्ता कर्णले गत वर्ष साउन १६ गते कोरोना रोकथाम र नियन्त्रणतर्फ उदासीनता देखिएकोले अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए । तर मन्त्रालयले चित्तबुझ्दो जवाब दिन सकेको थिएन ।

हरेक भ्रष्टाचारको नाइके मन्त्रीको छोरा

समाजिक विकास मन्त्री नवलकिशोर साहले सम्पूर्ण काम आफ्ना छोरामार्फत गराउने गरेको गुनासो प्रदेशसभामै पटक पटक उठाइयो । यो गुनासोपछि उनलाई मन्त्री पदबाट हटाउने तयारी समेत गरिएको थियो । तर प्रदेश सरकारको सत्ता समिकरणमा असर पर्ने डरले मुख्यमन्त्री राउत हच्किएका थिए ।

मन्त्री साहको गाली काण्ड

सामाजिक विकास मन्त्री नवलकिशोर साह मन्त्री पद पाएको केही दिन नबित्दै एसईई परिक्षा देशै भरी भयो । प्रदेश २मा समेत एसईई परिक्षा चलिरहेको थियो । उनी आफ्नो गृहजिल्ला सप्तरीस्थित एक परिक्षा केन्द्रमा निरिक्षण गर्नका लागि पुगेका थिए । त्यहाँ संचारकर्मीहरु समेत तस्विर खिच्नका लागि पुगेका थिए । तर मन्त्री साहले त्यहाँ उपस्थित संचारकर्मीहरुलाई अश्लिल गाली गलौज गरे । जसको आलोचना प्रदेशभरी भएको थियो । त्यस्तै मन्त्री साहको गालीगलौज गरिरहेको अर्को एउटा भिडियो समेत सार्वजनिक भएको थियो । सो भिडियोमा उनी अश्लिलताको पूरै पराकाष्ठा पार गरेका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]