प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेकाहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।
सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग बालुवाटारमा तीन घण्टा लामो वार्ता गरेपछि जसपाका नेताहरु मन्त्री र राज्यमन्त्रीको नाम टिपाएर बालुवाटारबाट फर्किएका छन्। आजै साँझ ६ बजे जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले शपथ लिने बताएको छ ।
आज दिनभर भएको छलफलपछि ८ मन्त्री र दुई राज्यमन्त्री ठाकुर-महतो पक्षले पाउने छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो।
मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् । उनीहरुले कुन-कुन मन्त्रालय पाए भन्ने जानकारी शपथग्रहणको समयमा गराउने कर्णले बताए ।
स्रोतका अनुसार महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, भण्डारी, ऊर्जा तथा जलस्रोत, झा, खानेपानी तथा सरसफाई, कर्ण, भूमि व्यवस्था तथा सहकारी, श्रीवास्तव, श्रम तथा रोजगार, अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा शपथ लिने वरिष्ठ नेता भण्डारीले नेपालबहस डटकमलाई जानकारी दिए ।