चित्त बुझ्दो जवाफ नदिए पार्टीबाटै निष्कासन गर्ने चेतावनी
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
यसअघि सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै ठाकुरले उपेन्द्रलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन शनिबार केन्द्रीय कार्यालयले पत्र काटेको हो ।
दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको पत्रमा जवाफ नदिए पार्टीबाट निष्कासनसम्मको कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
यता जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण मागेको हो ।
स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधानअनुसार कारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।