निषेधाज्ञाको मौका पारी व्यापारीहरुले सीमावर्ती तराईका जिल्लाहरुमा व्यापक तस्करी धन्दा चलाएको पाइएको छ ।
त्यसको प्रष्ट प्रमाण हिजो राती महोत्तरीको मटिहानी नाकामा तस्कर र सशस्त्र प्रहरीबीच भएको दोहोरो भीडन्तले पुष्टि गरेको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा हिजो राती भीडन्त हुँदा एक सशस्त्र प्रहरी जवान र आठ भातरीय तस्कर घाइते भएका छन् । भीडन्तमा परी मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट घेराबेरा र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड भएका छन् ।
करिब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक चुस्ता समेत ढुङ्गामुढा गर्नेहरुले च्यातिदिएका छन् ।
बोर्डर आउट पोष्ट बीओपी मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राती करिब ८ बजे ५०/६० जना भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेकाे दावी गरेका छन ।
तर भारतीय तस्करहरुका अनुसार बीओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन तस्करी गर्ने इजाजत दिएकोमा गए राती ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका तस्करसँग थप पैसा माग्दा नदिएपछि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए । सशस्त्र प्रहरीको लाठी चार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् ।
तस्करहरुका अनुसार आफूहरुले महिनाबारी (महिनामा एकैचोटी) रकम दिएर इन्सपेक्टरसँग लाइन लिएकोमा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् । डिउटीमा खटिनेलाई सय पचास रुपैयाँ दिने गरेतापनि ठूलो रकम माग्न थालेपछि आफूहरुले नदिदाँ प्रहरीले कुटपिट गरेको दावी गरेका छन् ।
त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् ।