वीरगञ्ज । वीरगञ्जमा आउँदो फागुन २५ गते ‘अभियन्ता सम्मेलन–२०२०’ आयोजना हुने भएको छ । सम्मेलनमा सहभागिताका लागि सोमवारदेखि नै दर्ता खुला भएको छ । सम्मेलनमा सहभागी हुन चाहनेले माघ ८ गतेसम्म आवेदन दिन सक्ने आयोजकले जानकारी दिएको छ ।
सामाजिक संस्था भोर र प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियानको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनमा विभिन्न पेशामा आबद्ध रहेर प्रदेश २ को समग्र समृद्धिका लागि योगदान गरिरहेका २०० सामाजिक अभियन्ताहरूको सहभागिता रहने भोरका अध्यक्ष राजकुमार महतोले बताए ।
सम्मेलनमा तीन जना अन्तरराष्ट्रिय मुख्य वक्ताको सम्बोधन, प्यानल डिस्कसन, १० ओटा सामानान्तर स्याटेलाइट वर्कशप, ११ विधामा अभियन्ता अवार्ड, प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचनलगायत कार्यक्रम हुने आयोजकले बताएको छ । प्रदेश २ को विविधतामा एकता प्रर्वद्धनका लागि विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।
सम्मेलनले प्रदेश २ को समृद्धिमा अभियन्ताको भूमिकालाई एकीकृत रूपमा स्थापित गराउन मद्दत मिल्ने महतोको विश्वास छ । प्रदेशको विकासका लागि प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा गरिनुपर्ने कार्य, रणनीति र सिफारिश तय गरी सरकारलाई उपलब्ध गराउने योजना आयोजकको छ ।