About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
प्रदेस २: कोरोना उपचारमा चरमलापरवाही

खोज केन्द्र बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना संक्रमणको दोस्रो लहरका कारण प्रदेश २ का ८ वटै जिल्ला प्रभावित छन्। त्यसमा पनि सबैभन्दा बढी पर्सा आक्रान्त छ। धनुषा पनि निकै प्रभावित जिल्ला हो।

कोरोनाको पहिलो लहरमा पनि हटस्पट बनेको प्रदेश २ मा कोरोना संक्रमितको उपचार व्यवस्था भने फितलो देखिएको छ। कैयौं अस्पतालमा कोरोना संक्रमितको उपचारमा लापरवाही भएको र समयमा औषधी तथा अक्सिजन वा भेन्टिलेटर नपाएर मृत्युवरण गर्नुपरेको गुनासो बिरामीका आफन्तले गरिरहेका छन्।

मंगलबारमात्रै प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका एक जना कोरोना संक्रमितको उपचार अभावमा मृत्यु भएको आरोप लागेको छ। महोत्तरीको जलेश्वर अस्पतालमा उनको उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि भर्ना गरियो। तर उनको मृत्यु भयो। परिवारजनले भने बिरामीलाई अस्पतालमा उपचारका लागि भर्ना नै नगरिएको आरोप लगाएको छ।

यसअघि वैशाख २५ गते समेत महोत्तरीको एक कोरोना संक्रमितको भेन्टिलेटर नपाएर मृत्यु भएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि जलेश्वर अस्पतालस्थित आइसोलेसन कक्षमा राखिएको थियो। अस्पतालमा भेन्टिलेटर त थिए तर भेन्टिलेटर चलाउने जनशक्ति नपाएर उनले मृत्युवरण गर्नुपरेको थियो।

त्यस्तै वैशाख १२ गते सर्लाहीका एक कोरोना संक्रमितको समेत भेन्टिलेटर नपाएर मृत्यु भयो। उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना त गरियो तर भेन्टिलेटर अभावका कारण भेन्टिलेटरमा राख्न सकिएन। काठमाडौं लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो।

वैशाख २१ गते धनुषाको बटेश्वरमा हृदयविदारक दृष्य देखियो। बटेश्वरको स्थानीय क्लिनिकमा एकजना कोरोनाको शंकास्पद बिरामीको उपचार सम्भव नभएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइयो। तर त्यहाँ पनि बेड खाली नपाएपछि जनकपुरधामकै केही निजी अस्पतालमा पनि गए।

अस्पताल चहार्दाचहार्दै कहीँ पनि उपचार सम्भव नभएपछि बटेश्वरकै एक स्थानीय क्लिनिकमा फेरि लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो। परिवारजनले त कोरोना संक्रमणको त्रासका कारण उनको शव क्लिनिकेमै छोडेर भागेका थिए। पछि नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको थियो।

लापरवाही भएकै हो?

प्रदेश २ मा उपचार अभावमा मृत्युवरण गरेका यी व्यक्तिहरु प्रतिनिधिमूलक पात्र मात्रै हुन्। यस्ता कयौँ व्यक्ति छन् जो उपचार अभावमा मृत्युको मुखमा धकेलिँदै आइरहेका छन्। प्रश्न के छ भने बिरामीको उपचारमा चिकित्सले लापरवाही नै गरेका हुन् कि स्रोतसाधन र जनशक्ति अभावका कारण कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको तर्क मान्ने हो भने प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि आफ्नो पूरै शक्ति लगाएको छ। स्रोेतसाधन अभाव रहेका अस्पतालमा स्रोतसाधन उपलब्ध गराइएको छ। चिकित्सक अभाव रहेका अस्पतालहरुमा जनशक्ति भर्ना गरिएको प्रदेश सरकारको दावी छ।

अहिले सबैभन्दा बढी आवश्यकता भेन्टिलेटर चलाउने जनशक्तिको रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादव बताउँछन्। उनका अनुसार प्रदेश सरकारले करारमा जनशक्ति भर्ना त गर्यो, तर एनेस्थेसियाको जनशक्ति पूर्ति गर्न सकेको छैन। एनेस्थेसिया चिकित्सक नै भेन्टिलेटर चलाउन पूर्ण रुपमा सक्षम देखिएनन्।

महोत्तरीको जलेश्वरमा रहेको जिल्ला अस्पतालमा ५ वटा भेन्टिलेटर छन् तर चलाउने जनशक्ति नै छैन। भेन्टिलेटर चलाउने जनशक्ति नभएका कारण एक जना पनि कोरोनाका बिरामी उपचारका लागि सो अस्पतालमा पुगेका छैनन्। महोत्तरी जिल्लामा ७४१ जना कोरोनाका सक्रिय संक्रमित छन्। सबै होम आइसोलेसन नै छन्। होम आइसोलेसनमा रहेका एक संक्रमितले भने, ‘जिल्ला अस्पतालमा राम्ररी केयर हुने अवस्था छैन। कमसेकम घरमै आइसोलेट भएर राम्रो केयर भइरहेको छ।’

जलेश्वर अस्पतालका अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले अस्पताललाई प्रदेश सरकारले २३ जना अस्थायी करारका जनशक्ति उपलब्ध गराएको जानकारी दिए। उनका अनुसार भर्ना गरिएका जनशक्तिमा स्टाफ नर्स र जनरल मेडिसिनमात्रै छन् एनेस्थेसिया वा रेडियोलोजिस्ट पठाइएको छैन। उनले भने, ‘एनेस्थेसिया वा रेडियोलोजिस्ट नपठाइएपछि रहेका भेन्टिलेटर पनि प्रयोगविहीन अवस्थामै छन्।’

वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी अस्थायी कोभिड अस्पताल उद्घाटन गर्दै। महानगरपालिकाले वीरगञ्जको गोपाल मण्डली धर्मशाला पूरै भाडामा लिएर २३० शैय्याको अस्पताल सुरु गरेको हो।

प्रदेश २ मा अक्सिजन आपूर्तिको अवस्था पनि नाजुक नै छ। स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक यादवका अनुसार अहिले आइरहेका कोरोना संक्रमितहरुमा सबैभन्दा बढी श्वासप्रश्वासमा समस्या देखिएको छ। उनले भने, ‘कोरोना संक्रमितहरुलाई अहिले अक्सिजन सिलिण्डर नितान्त आवश्यक छ तर अक्सिजन सहज रुपमा आपूर्ति हुन सकिरहेको छैन।’ उनका अनुसार अक्सिजनका प्लान्ट रहेका अस्पतालहरुमा अक्सिजन आपूर्तिमा समस्या छैन तर प्लान्ट नरहेका अस्पतालमा एकदमै समस्या भइरहेको छ।’

प्रदेश २ को सिरहा तथा लहान अस्पतालमा मात्रै अक्सिजनको प्लान्ट छ। तर कोरोना संक्रमितको सबैभन्दा बढी चाप रहेको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट नै छैन।

अक्सिजनका सिलिण्डर आपूर्ति रहेका अस्पतालहरुमा समेत त्यसमा प्रयोग हुने पाइप तथा मास्कको अभाव देखिएको छ। मंगलबार कोरोनाका शंकास्पद बिरामीको मृृत्यु हुनुअघि अक्सिजनको सिलिण्डर त प्राप्त भयो, तर पाइप र मास्क उपलब्ध हुन नसक्दा उनलाई समयमै मास्क दिन नसकिएको उनको छोराहरुले बताएका छन्।

प्रादेशिक अस्पतालमा रहेको कोभिड अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार ३२ जना कोरोना संक्रमितको अहिले उपचार भइरहेको छ। तर आवश्यक जनशक्ति छैन। उनले भने, ‘३२ जनामध्ये १९ जना संक्रमित आईसीयूमा छन्।

उनीहरुको रेखदेखका लागि हरेक क्षण अलगअलग नर्सको आवश्यकता पर्छ। ६–६ जनाको टोली बनाएर ३ सिफ्टमा काम गरिरहेका छौँ।’ ६ जनाको टिमले ३२ जना कोरोना संक्रमितको रेखदेख गर्नु असम्भवप्रायः हुने उनी बताउँछन्।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]