About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
मदमस्त होली

रामदयाल राकेश आइतबार, चैत्र १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मैथिली साहित्यका महाकवि विद्यापतिले वसन्त ऋतुको अनुपम सौन्दर्यको चित्राङ्कन गर्दा फागु महोत्सवको वासन्ती र सांस्कृतिक पक्षमाथि प्रकाश पार्नुभएको छ किनभने फागु वसन्त ऋतुमा मनाइने सबैभन्दा ठूलो लोकोत्सव हो । 

वसन्त ऋतुको पदार्पण जब प्रकृतिको प्राङ्गणमा हुन्छ तब भमरा सबैभन्दा पहिले मातेको हुन्छ । रसिक भमरा फूलको सुवास एवं सुगन्धले भरिएको बाटोतिर अर्थात् आफ्नो गन्तव्यतिर लम्किन थाल्छ । यस्तै मादक मनोहर र मस्त तथा मधुर वातावरणको सिर्जना गर्नमा वसन्त ऋतु सफल हुन्छ ।

अनि मिथिलावासीहरू पनि मदमस्त भएर फागु लोकोत्सव मनाउन थाल्छन् । मस्ती नै यस लोकोत्सवको मूलमन्त्र हो । जीवनमा आनन्द प्राप्त गर्नु नै मानिसको ठूलो अभिलाषा हुन्छ । फागु लोकोत्सव मनाउनुका पछाडि आनन्दको अन्वेषण पनि एउटा मुख्य कारक तŒव हो ।

यसको प्रारम्भ वसन्तपञ्चमीदेखि नै हुन्छ । जब मिथिलावासीहरू जो अधिकांश कृषक छन्, आफ्नो मुख्य धानबाली भिœयाउँछन् तब मस्तीले भरिएको लोकोत्सव फागु मनाउनमा चिन्ताविहीन भएर दत्तचित्त हुन्छन् । जब मानिस चिन्ताविहीन हुन्छ, कामकाजको बोझबाट उन्मुक्त हुन्छ । अनि ऊ आमोदप्रमोदमा लाग्न खोज्छ ।

आजको आधुनिक मनोविज्ञानले पनि यस तथ्यलाई पुष्टि गर्छ । स्वभावतः मानिस उत्सवप्रिय हुन्छ । तसर्थ यस अनुरुप सुरम्य एवं सुरुचिपूर्ण वातावरणको सिर्जना हुनु सर्वथा स्वाभाविक मानिन्छ । 

संसारका विभिन्न जातिले सांस्कृतिक परम्परा अनुसार आफ्नो मौलिक लोकोत्सव मनाउनुका पछाडि पनि यही तथ्य लुकेको छ । अमेरिका र युरोपमा क्रिस्मस, मुस्लिम देशहरुमा ईद (रमजान) र हिन्दू देशहरूमा दशैँ, दीपावली र फागु मनाउनु यसै तथ्यका ज्वलन्त उदाहरण हुन् ।

यस किसिमका लोकोत्सव मनाउँदा संस्कृतिको संरक्षणका साथै मनोरञ्जनको पनि भावना पुष्ट हुन्छ । यस अर्थमा फागुको सांस्कृतिक पक्ष झन् प्रष्ट हुन्छ । कामसूत्रको ‘जय मङ्गला टीका’ मा सुवसन्तलाई ‘मदन महोत्सव’ भनिएको छ । 

प्रस्फुटित पूर्ण यौवनको वासन्ती पृष्ठभूमिमा जब प्रकृति आफ्नो पीत परिधानमा परिवेष्टित हुन्छिन् र मधुमासको मन्द–मन्द मलयानिल पनि सङ्गीतमय गाना गाउँदै प्रवाहित हुन्छ तब फागुको सांस्कृतिक पर्व सबैतिर मनाइन्छ ।

सङ्गीतमय तिहारमा ‘फागु’ को तिहार सर्वोत्कृष्ट र सबैभन्दा सरस तथा सुहाउँदो किसिमको मानिन्छ । यसको पृष्ठभूमिमा आँपका बगैँचाहरूमा कर्णप्रिय कोइलीको सरस एवं सुमधुर पञ्चमतान, पपिहाको पी–पीको पुकार, पुष्पहरुको मधुमय मुस्कान, भमराहरूको सङ्गीतमय स्वरलहरीले गर्दा सम्पूर्ण वातावरण प्रतिध्वनित हुन थाल्छ ।

चारैतिर नयाँ उत्साह, नौलो उमङ्ग, रमाइलो रमझमको सुमधुर र सङ्गीतमय वातावरण दिगन्तमा परिव्याप्त हुन्छ । वन–उपवन, खेत–खलिहान, गाउँ–गल्ली र चौबाटो–चौतारी तथा गोरेटो–घोडेटो फागुको लोकलहरीबाट निनादित हुन थाल्छ । फागुको सुमधुर सम्झनामा वासन्ती मादकता तन्नेरी र तरुणीहरूको प्रेमासक्ति आँखामा गाजलको रूपमा खेल्न थाल्छ र नीलो आकाशमा सेतो बादल मादल लिएर सङ्गीतको सरस धारा प्रवाहित गर्न थाल्छ ।

ऋतुराजको यस्तै मधुरतम एवं मादक बेलामा फागु सम्पन्न हुन्छ । यसलाई मैथिलीभाषामा ‘पÞmगुआ’ र ‘होरी’ भनिन्छ ।

प्राकृतिक सौन्दर्यका अमर गायक महाकवि कालिदासले यसलाई ‘अभिज्ञानशाकुन्तलम्’ ‘रघुवंश’ र ‘मालविकाग्निमित्र’मा ऋतु उत्सवको उपाधिबाट अलङ्कृत गरेका छन् । 

यो लोकोत्सव हिरण्यकशिपुकी बहिनी होलिकासँग सम्बन्धित भएकाले यसलाई होलिका दहन पनि भनिन्छ । हिरण्यकशिपुको आतङ्क र अत्याचारबाट सबै प्रजाजन प्रताडित एवं पीडित थिए । उसको छोरा प्रह्लाद भगवान्को सच्चा भक्त थियो । उसले प्रह्लादलाई मार्नका लागि एउटा षड्यन्त्र रच्यो ।

होलिकाको काखमा राखेर प्रह्लादलाई मार्ने योजना बनाइयो तर प्रह्लाद भगवान्को असीम कृपाबाट बचे । होलिकाचाहिँ आगोमा जलेर मरिन् । त्यसैबेलादेखि होलिका दहनको परम्परा चल्दै आएको मानिन्छ । के गाउँ के शहर सबै ठाउँमा यो समान रूपमा मनाइन्छ । रङ र अबिरको खुलम् खुला प्रयोग हुन्छ । सम्पूर्ण वातावरण रङ्गीन हुन्छ ।

यो रङ लोकोत्सवमा के बच्चा, के युवक र के बूढा सबै समानरूपमा सहभागी हुन्छन् । त्यस्तै के बच्ची, के तरुणी र के बूढी सबै समान भएर एक आपसमा रङ र अबिरले सरोबर भएर यस लोकोत्सवलाई सार्थकता र जीवन्तता प्रदान गर्छन् । वर्षभरिको दमित एवं कुण्ठित मनोग्रन्थीलाई फुकाउने अवसर प्रदान गर्दछ यो पÞmगुआ तिहारले ।

अश्लील लोकगीत गाइन्छ । गालीगलौज गरिन्छ तर कसैले नराम्रो मान्दैन । तरुणीहरूलाई जिस्क्याउने गरिन्छ तर यसलाई पनि नराम्रो मानिँदैन । देवर र भाउजुको बीचमा छेडछाड स्वच्छन्दतापूर्वक चल्छ तर यसलाई पनि सामाजिक स्वीकृति नै मानिन्छ । सालीसँग पनि यस्तै निर्बन्ध सम्बन्ध गाँसिन्छ पÞmगुआभरि । यसै सन्दर्भमा एउटा पÞmगुआ लोकगीतको टुक्रा प्रस्तुत गरिन्छ– नकवेसर कागा ले भागा, सैयाँ अभागा न जाना’ अर्थात् लोग्ने र स्वास्नी साथसाथ सुतेका छन् तर कागले स्वास्नीको नाकको फुली लिएर भागिसक्यो ।

लोग्ने अभागीलाई थाहै भएन किनभने ऊ मस्त भएर बेहोश अवस्थामा सुतिराखेकै छ । यस कथनको पनि सांस्कृतिक पृष्ठभूमि छ । पÞmगुआभरि माछा, मासु र मदिरा प्रशस्त खाने परम्परा छ । यस बाहेक भाङ र अन्य नशालु पदार्थको सेवन स्वतन्त्रतापूर्वक गरिन्छ ।

जबसम्म मानिस बेहोस हुँदैन तबसम्म यसमा कुनै व्यवधान आउँदैन । यो त भो मांसाहारीको हाल । 

शाकाहारी मानिसहरू पनि भिन्न भिन्न किसिमका स्वादिष्ट भोजन हलुवा, खीर, मिठाई र फलफूलका साथै भाङ र कुसु (भाङ, धतुरो दूध, किसमिस, अलैँची, काजु, नरिवल मिसाएको पेय पदार्थ) खाने गर्छन् । यस्ता पौष्टिक खाना खानुको पछाडि कामोत्तेजना बढोस् भन्नु नै हो । प्रेमका देउता कामदेवले पनि यो बेला प्रत्येक मान्छेमा कामवासनाको सञ्चार गर्छन् भन्ने मान्यता छ । तसर्थ यस लोकोत्सवको एउटा पक्ष कामुक भावनालाई उत्तेजित पार्नु पनि हो ।

यस लोकोत्सवलाई कृष्ण र राधाको रासलीलासँग पनि जोडिन्छ । कृष्णले जसरी मायावी एउटा साधारण मानिस जस्तो राधा र उसकी सखीहरूसँग सहवास र सुखसयलको आनन्द लुटेका थिए, यमुनाको तटमा कदम्ब रूखमुनि कृष्णले राधा तथा गोपिनीहरूसँग ‘होरी’ खेलेका थिए, जनकपुरमा राम र सीताले एक आपसमा फागु खेलेका थिए, हिमालयमा शिव र पार्वतीले ‘होरी’ खेलेका थिए, त्यस्तै आजका तरुण र तरुणीहरूबीच रङ र अबिर पिचकारीमा भरेर एक अर्कामाथि रङ्गीन आक्रमण गर्ने परम्परा शताब्दीऔँदेखि चल्दै आएको छ । 

यो लोकोत्सव साम्प्रदायिक सद्भावको प्रतीक हो । यसमा सबै जाति, सबै वर्ग र सबै वर्णका मानिस समभावले सरिक हुन्छन् । जातिपातीको कुनै बन्धन हुँदैन । धनी र गरिबबीच कुनै भेदभाव हुँदैन । यसको मूल उद्देश्य नै साम्प्रदायिक सद्भाव हो । अनि एकआपसमा रहेका रिस, राग, द्वेष हटाउनु हो । 

मिथिलाञ्चलका हरेक गाउँमा महिना दिन अघिदेखि नै गाउँभरिको कसिङ्गर एक ठाउँमा जम्मा गरिन्छ । फागु पूर्णिमाको रात अन्तिम प्रहरमा त्यसमा आगो लगाइन्छ । यसलाई स्थानीय भाषामा ‘सम्मत’ भनिन्छ । यो कार्यलाई समभाव र सद्भावको सूचक नै मान्न सकिन्छ । सम्मतको प्रदक्षिणा गरेर र त्यसको खरानी शरीरमा घसेर मानिसहरू विभिन्न बाजागाजाका साथ गाउँका हरेक घरमा घुम्छन् । ‘भले हो भले’ र ‘सुनलो मोर कबीर’ भन्दै पÞmगुआ लोकगीत गाउँदै हरेक घर पुग्छन् ।

प्रत्येक घरधनीले यथोचित स्वागत गर्छन् । रङ र अबिर हालेर पान र सुपारी खान दिएर खुला हृदयले यो टोलीलाई बिदा गरिन्छ । यो धेरै राम्रो परम्परा हो । तर अचेल गाउँलेहरूमा राजनीतिक मतमतान्तर एवं अन्य मतभेदले यो परम्परा लोप हुँदै गएको भान हुन्छ । यो सामाजिक लोकोत्सव साँघुरो भएर पारिवारिक पर्वका रूपमा सीमित हुँदै गएको छ । पारिवारिक परिधिमा सीमित यस उत्सवलाई फेरि पहिलेकै अवस्थामा ल्याउनु जरुरी छ । 

सङ्क्षेपमा भन्नुपर्दा फागु आमोदप्रमोद, हास–परिहासको उल्लासमय र विलासमय लोकोत्सव हो । यसको सन्देश ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ हो । सामाजिक एकता, समता र समरूपताको पर्व हो । यसलाई यही सामाजिक र सांस्कृतिक सन्दर्भमा मनाउनु सर्वथा उपयुक्त होला ।

समयको साथमा यसमा आएका केही विकृति र केही कुरीतिलाई हटाउँदै यसलाई आफ्नो लोकपरम्परामा नै मनाउनु मनासिव देखिन्छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]