About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
टीकापुरवासीको एउटै आस: रेशम चौधरीको रिहाइ

जेलमा राखेर टीकापुरमा शान्ति कायम हुँदैन

खोज केन्द्र बुधबार, चैत्र ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

टीकापुर घटनामा जेल सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि जनता समाजवादी पार्टीका नेताका साथै उनको निर्वाचन क्षेत्रका नागरिक अगुवा र स्थानीयले पनि माग गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि तथा अर्को फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग भएपछि सत्ता राजनीतिको नयाँ सिलसिला शुरु भएको छ।

एमाले र माओवादी केन्द्र एकतापूर्वको अवस्थामा फर्किएपछि संसद्‌मा तेस्रो शक्तिबाट चौथो बनेको जनता समाजवादी पार्टी (जसपा) सत्ता राजनीतिमा निर्णायक बनेसँगै रेशम चौधरीको रिहाइको विषय चर्चामा आएको छ।

जसपाले सरकारलाई समर्थन गर्न हिरासतमा रहेका आफ्ना निलम्बित सांसद चौधरीसहित मधेश आन्दोलनका क्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइलाई शर्त बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सरकार टिकाउन मात्र हैन, नेपाली कांग्रेस र माओवादी केन्द्रलाई नयाँ सरकार बनाउन पनि जसपाको सहयोग अनिवार्य चाहिन्छ।

जसका क्रममा जसपाले चौधरीको रिहाइलाई सत्ता शर्त बनाएको छ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा सरकारलाई सघाउन चौधरीलाई रिहाइ गर्नुपर्ने शर्त राखेको जसपाका नेताहरुले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा पनि त्यही शर्त राखे।

बदलिँदो सत्ता राजनीतिमा निर्णायक बन्दै गएको जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्न हिरासतमा रहेका आफ्ना नेता–कार्यकर्ताको रिहाइलाई पहिलो शर्त बना…

कानूनी रूपमा चौधरीको मुद्दा फिर्ता लिन जटिल भए पनि दलका नेताहरूले चौधरीलाई रिहाइ गर्नुपर्ने बताउँदै आएका छन्।

काठमाडौंमा मात्रै होइन, सांसद चौधरीको निर्वाचन क्षेत्र कैलाली–१ का बासिन्दा पनि उनलाई रिहाइ गर्नुपर्ने बताउँदै आएका छन्।

“उहाँहरूलाई जेलमा राखेर टीकापुरमा शान्ति कायम हुँदैन। सरकारले टीकापुर मुद्दा खारेज गरेर थारू र पहाडीबीच सद्भाव कायम हुने वातावरण बनाउनुपर्छ।”

टीकापुरका बासिन्दा किन चौधरीको रिहाइको माग गरिरहेका छन्? नेपाली कांग्रेस कैलाली–१ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी भन्छन्, “रेशम चौधरीको मुद्दा कुनै चोरी डाँका तथा गुन्डागर्दीको मुद्दा नभएर विशुद्ध राजनीतिक मुद्दा हो।

थारूहरूले अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको क्रममा भएको एक दुर्घटना हो। त्यसैले टीकापुर मुद्दालाई खारेज गरिनुपर्छ।”

थरुहट/थारुवान आन्दोलन चर्किएको वेला टीकापुरमा ७ भदौ २०७२ मा हिंसा भड्किँदा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनामा दोषी पाइएपछि रेशम चौधरी जेलमा छन्।

 घटनालगत्तै फरार रहेका उनी २०७४ मंसीरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली-१ मा अत्यधित मतसहित निर्वाचित भएका थिए।

कांग्रेस कैलाली-१ का क्षेत्रीय सभापति अधिकारी चौधरीलाई जेलमा राखेर टीकापुरमा शान्ति कायम नहुने बताउँछन्। “टीकापुरवासी सांसदविहीन बनेका छौं। जनताले ३४ हजार मत दिइसकेपछि अदालतले पनि जनताको मतलाई कदर गर्नुपर्छ र रेशम लगायतलाई छोड्नुपर्छ,” उनी भन्छन्, “सरकारले टीकापुर मुद्दा खारेज गरेर थारू र पहाडीबीच सद्भाव कायम हुने वातावरण बनाउनुपर्छ।”

थरुहट/थारूवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधव चौधरी पनि टीकापुर मुद्दाको समाधान निकाल्नुपर्ने बताउँछन्। “रेशमलाई छुटाउन मात्रै नभएर टीकापुर क्षेत्रमा शान्ति स्थापनाका लागि पनि टीकापुर घटनालाई राजनीतिक मुद्दाका रूपमा हेर्नुपर्छ र सरकारले फिर्ता लिनुपर्छ,” टीकापुरको मुद्दासँगै थरुहट/थारूवानका माग पनि सम्बोधन हुनुपर्ने बताउँदै चौधरी भन्छन्, “कैलालीका जनता सद्भाव चाहन्छन्।

शान्ति, सद्भाव र विकास निर्माणका लागि पनि रेशम लगायत टीकापुर घटनाका बन्दीको रिहाइ हुनुपर्छ।”

अधिकारकर्मी गोमा आचार्य पनि टीकापुर घटना राजनीतिक भएको जिकिर गर्छिन्। आचार्य भन्छिन्, “टीकापुर घटना नितान्त राजनीतिक घटना हो। यो घटनालाई जातीय घटना बनाएर समाज भाँड्न खोजिएको छ।”

आचार्य अब टीकापुरमा जातविशेषबीच कटुता पैदा हुने गरी त्यस्ता घटना हुन नदिन पनि चौधरीसहितका बन्दीलाई रिहाइ गर्नुपर्ने बताउँछिन्। “प्रहरीको ज्यान गएकोे छ, अर्को दिन थारूका घरमा आगो लगाएर ठूलो क्षति भएको छ,” उनी भन्छिन्, “त्यस्ता घटना फेरि दोहोरिन नदिन तथा सामाजिक सद्भाव कायम गर्न टीकापुर घटनाका बन्दीको रिहाइ हुनुपर्छ।”

“विखण्डन ल्याउने, हतियार उठाउने समूहको मुद्दा फिर्ता गर्ने, तर रेशम चौधरीको मुद्दालाई झन् गहिरो बनाउने कार्यले सरकारको नश्लवादी चरित्र देखाउँछ।”

थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरी टीकापुर क्षेत्रमा सद्भाव कायम गर्न पनि मुद्दा फिर्ता लिनुपर्ने बताउँछन्। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि लगाएका मुद्दा फिर्ता लिए जस्तै टीकापुर घटना मुद्दा पनि फिर्ता लिएर सांसद चौधरीलाई रिहाइ गर्नुपर्ने बताउँछन्।

संयोजक चौधरी भन्छन्, “विखण्डन ल्याउने, हतियार उठाउने समूहको मुद्दा फिर्ता गर्ने, तर रेशम चौधरीको मुद्दालाई झन् गहिरो बनाउने कार्यले सरकारको नश्लवादी चरित्र देखाउँछ।”

निलम्बित सांसद चौधरीसहित टीकापुर घटनामा मुद्दा लगाइएका थारू समुदायका व्यक्तिहरूलाई जति धेरै दिन जेलमा राख्यो, त्यति नै टीकापुर क्षेत्रमा सद्भाव कायम गर्न गाह्रो हुने उनको अनुभव छ। आन्दोलनको क्रममा भएको दुर्घटनामा जबरजस्ती सांसद चौधरी लगायतलाई मुछिएको बताउँदै उनी भन्छन्, “टीकापुरमा थारू विद्रोह हुँदा घटनास्थलमा रेशम चौधरी, लक्ष्मण थारू नभएको अवस्थामा पनि उनीहरूलाई जन्मकैदको सजाय सुनाउनु न्यायसम्मत होइन।”

टीकापुर घटनामा संलग्न रहेको आरोपमा थरुहट नेता लक्ष्मण थारूसहित २६ जनालाई एकपछि अर्को गर्दै पक्राउ गरिएको थियो। त्यतिवेला भागेका रेशम चौधरीले १४ फागुन २०७४ मा जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरेका थिए।

टीकापुर घटनाको मुद्दामा जिल्ला अदालत कैलालीले बुधबार गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

बिहीबार, २३ फागुन, २०७५, त्यसअघि उनले भारतमै बसेर तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट कैलाली–१ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिए। र, ३४ हजार ३४१ मतसहित निर्वाचित पनि भए। त्यो वेला पनि टीकापुर घटनाको मुद्दा फिर्ता लिन माग उठेको थियो। तर, अदालतमा पुगेको मुद्दा फिर्ता भएन। जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा रेशमसहित ११ जनालाई जन्मकैद र १२ जनालाई तीन/तीन वर्षको कैद सजाय सुनायो। त्यस्तै, तीन जनालाई सफाइ दियो। यो अवधिमा जेलमै रहेका थारूसहित १२ जना रिहा भए।

सांसद चौधरीसहित ११ जनाले जिल्ला अदालतको फैसलाविरुद्ध २०७६ फागुनमा उच्च अदालत, दिपायलमा पुनरावेदन गरे। २ पुस २०७७ मा उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले रेशमसहित सात जनालाई जन्मकैदको फैसला सुनायो भने केहीलाई जिल्ला अदालतकै फैसला सदर गर्‍यो।

उच्च अदालत, दिपायलका निमित्त रजिस्ट्रार सीता रेग्मीका अनुसार, जन्मकैद सजाय पाउनेमा सांसद चौधरीसहित हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन्। अन्य चार जनालाई भने पाँच/पाँच वर्षको कैद सुनायो।

त्यस्तै, थरुहट नेता थारूको हकमा भने जिल्ला अदालतको फैसला उल्टियो। जिल्ला अदालतको फैसला नमिलेको औल्याउँदै उच्च अदालतले थारूलाई जन्मकैदको सजाय सुनायो।

त्यसयता टीकापुर क्षेत्रमा झन् असन्तुष्टि बढेको छ।

कैद सजाय भोगेकाहरू पनि अदालतको फैसलाप्रति सन्तुष्ट छैनन्। निर्दोष हुँदाहुँदै सजाय भोग्नुपरेको उनीहरूको गुनासो छ। कैद सजाय भोगिसकेका केही व्यक्तिले त घटनामा आफू संलग्न नै नभएको बताएका छन्।

त्यो दिन म अर्कै गाउँपालिकामा थिएँ : चुन्नी चौधरी

घटना भएको दिन ७ भदौ २०७२ का दिन म टीकापुरमा नभई जोशीपुर गाउँपालिकामा थिएँ। मैले क्षेत्रीय स्तरको जिम्मेवारी पाएको थिएँ। त्यो दिन जोशीपुरको झवहीस्थित रामजानकी मन्दिरको पर्खालमा नाराहरू लेखिरहेको थिएँ। केहीबेरमै टीकापुरमा घटना भएको खबर पाएँ।

इलाका प्रहरी कार्यालय, भजनीको टोलीले मलाई २७ फागुनमा पक्राउ गर्‍यो। १ चैतमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा पुर्‍यायो। जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनायो। उच्च अदालतले पनि त्यसैलाई सदर गरिदियो।

घाइते आफन्तलाई भेट्दा पक्राउ परेँ : दिलबहादुर चौधरी

घटना हुँदा म घरमै थिएँ। मेरो घर घटनास्थलबाट पाँच किलोमिटर टाढाको मुनुवा गाउँमा पर्छ। खेतीपातीमै व्यस्त भइराख्ने म त्यो दिन पनि त्यस्तै काममा थिएँ। त्यो साँझ ७ बजेतिर आफन्त राजकुमार कठरियालाई गोली लागेको खबर पाएँ।

खाना र कपडा बोकेर राजकुमारलाई भेट्न टीकापुर अस्पताल पुगेँ। त्यो रात प्रहरीले निगरानीमा राख्यो र अर्को बिहान अस्पतालबाटै पक्राउ गर्‍यो। अस्पतालमै पनि खुब कुटे। बन्दुकको कुन्दाले हाने, टाउको पनि फुट्यो। उपचार गर्न नपाएर अहिलेसम्म पनि टाउको दुख्छ। अदालतले पनि न्याय दिएन।

आन्दोलनमा नपुग्दै गोली लाग्यो : राजकुमार कठरिया

त्यो दिन म आन्दोलनमा जाँदै थिएँ, तर त्यहाँ पुगेको थिइनँ। बाटोमा कल्भर्टमा बसेर चुरोट खाँदै थिएँ, पछाडिबाट गोली लाग्यो। म त त्यहीँ ढले। रेडक्रसले उद्धार गरेर अस्पताल पुर्‍यायो। ज्यान बच्यो। तर, राम्ररी उपचार पनि गर्न दिइएन। प्रहरीले पक्राउ गर्‍यो।

म घटनास्थलमा पुगेकै थिइनँ भने मैले मान्छे कसरी मार्नु? आन्दोलनमा सहभागी नहुँदै गोली लाग्यो। मलाई पो गोली लागेको थियो, मैले त गोली हानेको थिइनँ। तर, अदालतले मलाई पनि दोषी भन्यो। जिल्ला र उच्च अदालतले कैद सजाय सुनाए।

कुरुवा बस्न जाँदा पक्राउ परेँ : रामकुमार कठरिया

मेरो गाउँका राजकुमारलाई गोली लागेको थियो। उनी टीकापुर अस्पतालमा थिए। गाउँले भएकाले कुरुवा बस्न गएको थिएँ, प्रहरीले त्यहीँबाट मलाई पक्राउ गर्‍यो।

आफन्तलाई दुःख परेको वेला सहयोग गर्नुपर्छ भनेर जाँदा आफै‌ं दुःखमा परेँ। पक्राउ गर्दा त खासै केही गरेनन्, तर जिल्ला प्रहरी कार्यालय लगेपछि खुब कुटे। अहिले पनि शरीर दुख्छ।

बयान पढ्न नजान्ने हुँदा जेल परेँ : राजेश चौधरी

मेरो घर टीकापुरबाट १८ किलोमिटर जति टाढा छ। म साइकलमा तरकारी बेच्ने गर्थें। त्यो दिन आलु बेच्न गएको थिएँ। त्यो पनि टीकापुरभन्दा २० किलोमिटर जति टाढा थिएँ। तर, एकाएक १३ भदौ राति १२ बजे घरमा प्रहरी आए। सुतिरहेको थिएँ, उठाए। त्यत्तिकै पक्राउ गरेर लगे।

जिल्ला प्रहरी कार्यालयमा ल्याएर कुन पार्टीको हो भनेर सोधे। मैले ‘कुनै पार्टीमा छैन, तरकारी बेच्छु’ भने। बयान लेखेको पाना पढ् भने। मैले ‘मलाई पढ्न आउँदैन, हजुर नै पढेर सुनाइदिनुस्’ भनेँ। उल्टै कुटे। त्यसमा के लेखेका थिए, थाहा छैन। बयान पढ्न नजान्ने हुँदा जेल परेँ। अदालतले पनि पाँच वर्ष कैद सुनायो।

काठमाडौं रहेका छोरालाई फोन गर्दा पक्राउ परेँ : सन्तराम चौधरी

मेरो घर टीकापुरबाट २५ किलोमिटर टाढा छ। गाउँकै स्कूलमा राहत कोटाको शिक्षक थिएँ। मेरो जेठो छोरा काठमाडौंमा थियो, कान्छो छोरा टीकापुरमा पढ्थ्यो। त्यो घटना भएको सुनेपछि छोरालाई लिन टीकापुर जाँदै थिएँ, भागाभाग भयो। टीकापुर नपुग्दै फर्किएँ।

त्यहीँबाट काठमाडौंमा रहेका छोरालाई फोन गरेर सुनाएँ।

टीकापुर क्षेत्रबाट काठमाडौं फोन गरेको आधारमा पक्राउ परेँ। १२ भदौ राति प्रहरीले घरबाट पक्राउ गर्‍यो। कैलालीको भजनीबाट सुख्खड ल्याउने क्रममा जंगलमा ‘इन्काउन्टर’ गर्ने योजना बनाएछन्। जंगलमा पुगेपछि भाग्न लगाए, तर म निर्दोष थिएँ, भागिनँ। त्यसपछि खुब कुटे। कानको जाली फुटेको छ, आँखामा चोट लागेर अहिले पनि राम्रोसँग देख्दिनँ।

पानी माग्दा मुखमा थुक्थे : रामप्रसाद चौधरी

थरुहट आन्दोलनमा संलग्न त थिएँ, तर त्यो दिन सहभागी थिइनँ। म अर्कै जोशीपुर गाउँपालिकाको नेतृत्व गर्थें। तीन दिनदेखि बिरामी थिएँ। त्यसैले आन्दोलनमा नगएर अस्पताल भर्ना भएको थिएँ।

मलाई ८ भदौ (२०७२) मा पक्राउ गर्‍यो। जिल्ला प्रहरी कार्यालय ल्याए।

दिउँसो २ बजे पक्राउ गरेका थिए, बाटोभरि कुटपिट गरे। राति १ बजे धनगढी पुर्‍याए। मेरो लामो कपाल र जुँगा थियो, प्रहरीले ती उखेल्थे।

कुट्दाकुट्दा मेरो शरीरका कपडा पनि सबै च्यातिएका थिए। खुट्टामा आलपिन ठोके। ‘पानी पानी’ भनेर माग्दा पनि दिएनन्। पानी माग्दा ‘मुख खोल्’ भन्थे, आँ गर्दा मेघाश्री खाएको थुक प्याच्च मुखमा थुक्थे। त्यतिबेल पाएको यातनाका कारण अझै पनि शरीर दुख्छ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]