जनकपुरधाम । आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश नम्बर २ मा उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रदेश २ मा राष्ट्रियसभाको ४ सीटका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय जनता पार्टी राजपा, नेपाली कांग्रेस र समाजवादी पार्टी गरी ४ पार्टीका उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउनेहरुमा खुल्ला तर्फ समाजवादी पार्टीबाट अनिरुद्ध प्रसाद सिंह यादव र राजपाबाट मृगेन्द्र प्रसाद सिंह यादव रहेका छन् ।
त्यस्तै महिलामा नेकपाबाट तुलसा दाहाल र नेपाली कांग्रेसबाट नगिना यादवले उम्मेदवारी दिएका हुन् भने दलितमा समाजवादी पार्टीबाट रामपृत पासवानले उम्मेदवारी मनोनयन दिएका छन् । यसअघि पनि पासवान सोही पार्टीबाट राष्ट्रिय सभा सदस्य थिए । उनलाई पार्टीले फेरी अवसर दिएको छ ।
नेकपाबाट दलित कोटामा राधेश्याम पासवानले उम्मेदवारी दर्ता गराए । अपाङ्ग तथा अल्पसंख्यकमा नेपाली कांग्रेसबाट भोला पजियार र राजपाबाट शेखर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन अघि नेकपा र राजपाका कार्यकर्ताहरु जुलुश सहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।
५९ सदस्यीय राष्ट्रिय सभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ । राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि २ वर्ष, अर्काे एक तिहाइको ४ वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।
दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो । राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा.युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । उनीहरूको आगामी फागुन २० गते कार्यकाल सकिनेछ ।
फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९ , नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना सदस्य छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।