About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
तराई मधेसमा डरलाग्दा हत्या श्रृङखला

राजेन्द्र यादवको हत्याः फिल्मजस्तो घटना

खोज केन्द्र बुधबार, माघ २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं, २१ माघ । मधेस तराईका जिल्लाहरूमा सम्पत्तिका लागि क्रुर हत्या श्रृङखला बढेका छन् । आफन्तबाटै यस्तो हत्या हुन थालेको हो । 

कतिसम्म भने आमा समेतको मिलेमतोमा छोराको हत्या भएको छ । दुई महिनाअघि बाबु–आमाले परिवारको इज्जत जोगाउन भनेर भाडाका अपराधी प्रयोग गरी छोरीको हत्या गराएका थिए । 

यता रौतहटमा सम्पत्ति जोगाउन आमा र दाजुभाई नै मिलेर एक युवकको हत्या गरेका छन् । पर्सामा पनि सम्पत्तिकै लागि एक व्यक्तिको मृत्यु भएको छ । धनुषामा एक व्यवसायीको बीभत्स हत्या रहस्यमै छ ।

राजेन्द्र यादवको हत्याः फिल्मजस्तो घटना

गत ६ माघमा मायादेवी गाउँपालिका वडा नम्बर ७ गरगड्डीमा स्थानीय युवक राजेन्द्र यादवको शव भेटियो । शव नांगो अवस्थामा थियो । शरिरका अङ्गहरु जलेका थिए । हत्या गरेर शवको पहिचान नहोस् भनेर जलाइएको थियो । तर, प्रहरी सनाखत गराउन सफल भयो ।अनुसन्धानको क्रममा उनको परिवारबाटै हत्या भएको खुल्यो ।

बायाँ हातमा रहेको औंठीबाट उनको सनाखत भयो । ३४ वर्षिय राजेन्द्रले २ वर्षको हुँदा बुबा गुमाएका थिए । सर्पको टोकाइबाट उनको बुवाको मृत्यु भएपछि आमाले काकासँगै दोस्रो विहे गरिन् । दोस्रो विहेपछि उनले आमाको माया पाउन सकेनन् । करिब १५ वर्षको कलिलो उमेरमै उनी काम खोज्दै मुम्बई पुगे । १४ वर्ष मुम्बई बसेर गत वर्ष घर फर्किएका थिए ।

आमाको दोस्रो श्रीमानबाट तीन जना छोरा थिए । आफ्नो बुबातर्फको सम्पत्ति पनि उनीहरुसँगै थियो । उनले आफ्नो अंश मागे । नदिएपछि उनले अदालतमा मुद्दा दायर गरे । गत १४ पुसमा उनले सियाली गाउँपालिका वडा नम्बर २ मा रहेको साढे १४ कठ्ठा जग्गा पाउने भए । अदालतमा मिलापत्रका आधारमा उनले जग्गा पाउने भएको थियो ।

सोही जग्गा छुट्याउन अदालतबाट डोर आउने तयारी थियो । तर, उनको परिवार कुनै पनि हालतमा उनलाई जग्गा नदिने प्रपञ्च रच्दै थियो । राजेन्द्रले बिहे गरेका थिएनन्, बिहेको तयारीमा थिए । त्यसकारण उनलाई मारेर सो जग्गा आफ्नै बनाउने योजनाअनुसार उनीहरु अघि बढे । भाडाका अपराधी प्रयोग गरी मारिदिने र शव जलाउने उनीहरुको योजना बन्यो ।

उनका काका बाबुराम बेतास यादवले नै योजना बनाए । बुढो सम्धी नाता पर्ने प्रजित यादवमार्फत मान्छे मार्ने कामको ठेक्का लिने सन्तकुमार यादवसँग सम्पर्क राखे । मान्छे मारेपछि २५ लाख नगद र एक कठ्ठा जग्गा दिने सहमति भयो । त्यसका लागि सन्त कुमारले बुद्धिराम कोहरलाई जिम्मा लिए । काम अघि एक पटक २० हजार र अर्काे ५० हजार रुपैयाँ दिइयो ।

हत्याको योजनाअनुसार राजेन्द्रसँग उनका सौतेनी भाई वीरेन्द्रसँग नजिकिन थालेका थिए । उनी नियमित जसो मदिरा पिउँथे । ५ माघमा वीरेन्द्र र राजेन्द्र विहानैदेखि मदिरा पिउन थाले । त्यहाँबाट अटो रिक्सा चढेर भारतको नौतनवा पुगे । हत्याको सुपारी लिएका सन्तकुमार सोनु मुराउ पनि पुगे ।

त्यहाँबाट चारै जना मोटरसाइकलमा नेपाल आई भट्टीमा रक्सी पिउन थाले । त्यहीँ योजनाअनुसार उनीहरुले राजेन्द्रको रक्सीको गिलासमा निद्रा लाग्ने औषधि हालिदिए । त्यो औषधिले राजेन्द्र बेहोस भए । सन्तकुमार यादवले अफताब मुसलमान र राकेश यादवलाई मोटरसाइकलसहित भट्टीमा बोलाए ।

राजेन्द्रलाई मोटरसाइकलमा हाली उनीहरुले मायादेवी नगरपालिका ७ मा बेहोस अवस्थामा पुर्याए । एकान्तमा उनीहरुले घाँटी कसी छातीमा लात्तिले हानेर हत्या गरे । हत्यापछि सबै लुगा खोलेर छातीमा पेट्रोल खन्याएर जलाइदिएका थिए ।

भोलिपल्ट प्रहरीले शव देखेपछि अनुसन्धान अघि बढाएको थियो । जटिल किसिमको यो घटनामा एक सातामै प्रहरी अभियुक्तसम्म पुग्न सफल भयो । रुपन्देहीका एसपी प्रवीण पोखरेल भन्छन्– ‘सनाखत भएपछि परिवारमा सम्पत्तिको विवाद रहेको खुल्यो, सोही आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरुको संलग्नता पुष्टि भयो ।’

प्रहरीले घटनामा सलग्न राम बेतास यादव, वुद्धिराम कोहार, वीरेन्द्र यादव, सन्तकुमार यादव, सोनु मुराउ, रामेश यादव र अफताव मुलसमानलाई पक्राउ गरेको छ । आमा लगायतलाई पनि यसबारे थाहा भएपनि प्रष्ट संलग्नता नदेखिएकाले प्रहरीले पक्राउ गरेको छैन ।

यसरी मार्नुअघि उनीहरुले बलात्कार मुद्दामा जेल हाल्ने प्रयास समेत गरेका थिए । भाई वीरेन्द्र यादवको श्रीमतीलाई बलात्कार गर्न खोजेको भनेर उजुरी गर्ने प्रयास गरेका थिए । त्यो थाहा पाएपछि उनी घर छाडेर डेरामा बस्न थालेका थिए ।

त्यही कारण हत्या भएको प्रहरी आशंका छ । प्रहरीले साझेदारसहित आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । हत्या भएको प्रष्ट भएपनि पोष्टमार्टम र भिसेरा रिपोर्ट आइनसकेकाले प्रहरीले विस्तृत विवरण बाहिर ल्याएको छैन ।

सम्पत्तिकै विवादमा डिष्टिलरी सञ्चालकको हत्या

सम्पत्तिकै विवादमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको छ । फ्याक्ट्रीकै निवासमा उनको मंगलबार बेलुका हत्या भएको हो । उनी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ चुआरेका बासिन्दा हुन् । उनी मंगलबार बिहान मात्रै घरबाट फर्किएका थिए । साँझ ७ बजेतिर आफ्नो उद्योग आएका उनी साथीभाइसँग बसेर मदिरा समेत सेवन गरेको पाण्डेले बताए । आफन्तसँगै मिलेर उनले त्यहाँ मदिरा उद्योग चलाएका थिए । तर, कम्पनीमा साझेदारहरुबीच विवाद थियो ।

जग्गा खानकै लागि हत्या गरेर झुन्डाइयो 

पर्सामा पनि सम्पत्ति हत्याउनकै लागि एक व्यक्तिको हत्या भएको प्रहरीले गत साता सार्वजनिक गरेको छ । बहुदरमाई नगरपालिका वडा नं ४ बहुअरी बस्ने शिवचरण राउत अहिरको छोरा वर्ष २१ को अकलेश राउत यादवको शव रुखमा झुन्डिएको अवस्थामा फेला पर्यो ।

गत १ पुसमा पर्सागढी नगरपालिका– ६ चैनपुर स्थित आफ्नै खेतजग्गाको आलिमा रहेको पकडीको रुखमा आफ्नै गलबन्दी कपडाको पासोमा झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा प्रहरीले लापरबाही गर्यो । झुन्डिएर आत्महत्या गरेको आँकलन भयो । सोही अनुसार प्रहरीले विस्तृत अनुसन्धानमा चासो दिएन ।

पर्साको प्रहरी प्रमुखमा एसपी वेल बहादुर पाण्डे गएपछि फेरि घटनाको अनुसन्धान अघि बढाए । जसक्रममा घटना आत्महत्या नभई हत्या भएको खुल्यो । हत्या गरेर झुन्डाई आत्महत्या जस्तो देखाउन खोजिएको खुल्यो । जसमा संलग्न पर्सागढी नगरपालिका वडा नं ५ बस्ने भागरित राउत अहिर, शेष ताहिर मिया, छठु पटेल भन्ने दिनेश पटेलललाई प्रहरीले पक्राउ गर्यो ।

मृतकका फुपाजु भागिरत राउतको योजनामा उनको हत्या भएको थियो । युवकको हत्यापछि उसको बुबा र ठूलोबुबाको नाममा रहेको लाखौं सम्पत्तिको एक्लो हकदार आफु हुने भएकाले उनले त्यसरी हत्या गर्न लगाएका थिए ।

योजनाअनुसार युवकलाई विभिन्न प्रलोभनमा पारी घटनास्थलमा बोलाइएको थियो । त्यहाँ डोरीले कसेर उनको हत्या भयो । हत्यापछि पासो बनाई उनलाई रुखमा झुन्डाइएको पर्सा प्रहरीको निचोड छ ।

सम्बन्धित

ताजा अपडेट
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]