जनकपुरधाम । जनकपुरधाम उपमहानरपालिका १० अरगजा पोखरीस्थित सिताराम राष्ट्रिय प्राथमिक विद्यालयमा प्राथमिक तहको सबै विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाउँदै गरेको पाइएको छ ।
विद्यार्थी अभावमा शिक्षकहरूले एउटै कक्षाकोठामा शिशुदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई राखेर पढाउँदै गरेका छन् ।
मंगलबार विद्यालयमा सबै कक्षाको विद्यार्थी उपस्थित भएपनि न्यून संख्यामा उपस्थिति रहेको भन्दै एउटै कक्षाकोठामा पढाएको राहत शिक्षक मिनु कर्णले जानकारी दिइन् । ‘विद्यार्थी अभावमा एउटै कक्षामा राखेर पढाएका छौं । तर, विद्यार्थीको पढाई प्रभावित भएको छैन्,’ उनले भनिन्, ‘जति प्रयास गरपनि े विद्यार्थी आएका छैनन्। कोरोना र चिसोको कारण पनि कम विद्यार्थीको उपस्थित भएको छ ।’
मंगलबार विद्यालयमा मात्र १६ जना विद्यार्थी उपस्थित भएको उनले बताइन् । तर, विद्यालयको तथ्याङ्क अनुसार विद्यालयमा ७६ जना विद्यार्थी भर्ना भएका छन् । उनका अनुसार विद्यालयमा विद्यार्थीको उपस्थिति नहुनुमा अभिभावकको दोष छ । ‘अभिभावकले आफ्नो जिम्मेवारी पूरा गरेका छैन,’ उनले भनिन्, ‘हामीले जति प्रयास गरपनि विद्यार्थी आएका छैनन् । भर्ना अभियान, विद्यालय सुधार योजना र दिवा खाजा चलाए पनि विद्यार्थी आएका छैनन् ।’
विद्यालयमा अति विपन्न परिवारका बालबालिका पढने गरेको भन्दै उनीहरू कहिले आउने, कहिले नआउने गरको उनको भनाइ छ । गाउँमा भोजभतेर भएको बेला पूरा स्कुल नै शून्य हुने गरको सुनाउँदै अभिभावकले आफ्नो जिम्मेवारी पूरा नगरेसम्म सुधार नहुने उनले औल्याइन् ।
अभिभावकको अंग्रेजी मोहका कारण विद्यार्थी सामुदायिक भन्दा पनि निजी विद्यालयतर्फ आकर्षण भएको अर्का शिक्षक आरती शर्माले बताइन् । ‘बैदेशिक रोजगारी बढेपछि सबै अभिभावकको रोजाईमा पर्छ अंग्रेजी विद्यालय,’ उनले भनिन्,‘सामुदायिक विद्यालयका प्राथमिक तहमा विद्यार्थी आकर्षण घटनुको प्रमुख कारण निजी विद्यालयप्रति अभिभावकको आकर्षण हो ।’
अभिभावक यतिसम्म लालायित रहेको उदाहरण देखाउँदै विद्यालयले तोकेभन्दा बढी शुल्क तिर्न तयार हुने गरेको उनले सुनाइन् । विद्यालयमा एक राहत, तीन स्थायी र एक बाल विकास गरी पाँच जना शिक्षक छन् ।
सरकारले सामुदायिक विद्यालयमा एक शिक्षक बराबर ५० जना विद्यार्थी राख्ने व्यवस्था गरे्को छ । तर, यहाँ एक शिक्षक बराबर पाँच जना विद्यार्थी पनि पुग्ने गरेका छैनन् ।
शिक्षकहरू बसेरै तलब खाने गरेका छन् । मंगलबार विद्यार्थी कम उपस्थित भएको भन्दै शिक्षकहरू चौरमा बसेर घाम ताप्दै गरेका थिए भने एक जना शिक्षक एउटै कक्षा कोठामा सबै विद्यार्थीलाई राखेर पढाउँदै गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक रेनु मिश्र भने अनुपस्थित थिइन् ।