प्रतिनिधिसभा विघटनपछि रमाइला–रमाइला दृश्य देख्न थालिएको छ । हिजो पूर्व भन्नेहरू अहिले पश्चिम देखाएर कोकोहोलो मच्चाउँदै छन् ।
०७२ असोजमा संविधान जारी गर्दा यसको उग्र विरोधी थिए, लेखक खगेन्द्र संग्रौला । मधेसी र उत्पीडितलाई अधिकार दिन कन्ज्युस्याइँ गरिएकाले यो संविधान विभेदकारी रहेको उनको ठहर थियो । संग्रौला यतिमा मात्रै सीमित भएनन्, संविधान नै जलाउने कृत्यमा सहभागी भए ।
समय कति बलवान् हुँदो रहेछ भने हिजो संविधान जलाउन अगुवाइ गर्ने तिनै संग्रौला अहिले खरानी पारेको त्यही जिनिसको रखबारी गर्न लागिपरेका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै भइरहेका विभिन्न नागरिक सभा सम्मेलनमा संग्रौला कुनै संकोच नमानी अहिलेको सरकार र राष्ट्रपतिमाथि विषवमन गरिरहेका छन् ।
०७२ मा संविधानसभाबाट संविधान जारी गर्नुपूर्व नै मधेसवादी दल मस्यौदा जलाउन सडक झरेका थिए । उनीहरूले महिनौं संविधानप्रतिको असन्तुष्टि प्रकट गरे । उपेन्द्र यादव असन्तुष्टिलाई सत्तासँग साटेर सरकारमा सहभागी बने पनि तत्कालीन राजपा यही मुद्दाका कारण सरकारमा गएनन् । सरकारलाई समर्थन दिए पनि फिर्ता लियो ।
तर हिजो संविधानलाई विभेदकारी भएको, मधेसीको नभएको बताउने नै संविधानमाथि ‘कू भएको तर्क गर्दै अहिले आन्दोलनमा छन् ।
मधेसवादी दलजस्तै विभिन्न संघ–संगठनमा आबद्ध, जो हिजो संविधानविरुद्ध थिए, अहिले सरकारले ताजा जनादेशमा जाने निर्णय गरेपछि चर्को संविधानवादी भएर निस्किएका छन् । त्यसैले भनिएको होला– समय समयकी बात् ।