About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
भ्रष्टाचार बढ्यो, बढिरहन्छ !

रत्न प्रजापति बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

अहिले नेपाली जनता लोकतन्त्रभन्दा लुटतन्त्रको बढी अनुभूति गर्न बाध्य छन् र लोकतन्त्रको सुखानुभूतिभन्दा लुटतन्त्रको पीडानुभूतिले पिरोलिएका छन् ।

अखबारमा समाचार आयो, ‘नेपालमा भ्रष्टाचार झन् बढ्यो ।’ नेपालमा भ्रष्टाचार कहिलेचाहिँ घटेको थियो र ? सरकारी प्रतिवेदनमा घटे पनि भ्रष्टाचार त दिनप्रतिदिन बढिरहेकै छ । धनी–गरिब सबैले देशमा भ्रष्टाचार बढेको महसुस गरिरहेकै छन् । भ्रष्टाचारको पीडा भोगिरहेकै छन् । भ्रष्टाचार घटाउने काम नै के गरेको छ र सरकारले ? बरु सरकार आफैं भ्रष्टाचारलाई प्रश्रय दिने काममा तल्लीन छ । जुन देशमा प्रधानमन्त्रीकै नाम भ्रष्टाचारमा जोडिएर आउँछ, त्यो देशमा भ्रष्टाचार बढ्छ, बढिरहन्छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ को ‘सिटिजन्स भ्युज एन्ड एक्सपेरिएन्सेस अफ करप्सन’ नामक प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको महसुस गरेका छन् । भ्रष्टाचार हुने देशहरूमा एसियामै नेपाल अग्रस्थानमा परेको छ । नेपालका लागि यो चिन्ता र लाजको पनि विषय हो । सर्वेक्षणमा सहभागी नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् । सरकार र त्यसको नेतृत्वका कारण जनतामा यस्तो धारणा बनेको विज्ञहरूको भनाइ छ । चाहे ओम्नीे प्रकरण होस्, चाहे सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण होस्, चाहे गोकर्ण र बालुवाटारकै जग्गा प्रकरण होस्, चाहे आयल निगमको जग्गा खरिद प्रकरण होस्, ती सबैमा सरकार र नेतृत्वको कमजोरी देखिएको छ । यस्तो अवस्थामा हाम्रो देशका प्रधानमन्त्रीदेखि अरू नेताहरूले गर्ने भ्रष्टाचारमा शून्य सहनशीलताको भाषणले आफैंलाई गिज्याइरहेको भान हुन्छ ।

भ्रष्टाचार र आर्थिक अनियमितताको छानबिनका लागि प्रमाणकै कुरा गर्ने हो भने सडकदेखि सदनसम्म चर्चामा रहेका भ्रष्टाचारका नाङ्गा रूप, सञ्चारजगत्का तथ्य र प्रमाणसहितका समाचार, जनस्तर र नागरिक समाजको आवाज, आमनागरिकले भोगेको भ्रष्टाचारको पीडा नै पर्याप्त लाग्छन् । तर लोभीपापी प्रवृत्तिले गर्दा भ्रष्टाचारीउपर दरो छानबिन र कारबाही प्रक्रिया नै सुरु हुन नसेकोमा कसैको बिमति रहन सक्दैन । भ्रष्टाचारीलाई राजनीतिक संरक्षणदेखि नीतिगत सहजतासमेत प्राप्त भएकाले जतासुकै भ्रष्टाचार मौलाएको छ । आमजनताले प्रत्यक्ष देख्ने र भोग्ने मालपोत, भन्सार, भूमिसुधार, नापी र यातायात कार्यालयमा हुने नगद भ्रष्टाचारदेखि अरू धेरै ठाउँमा हुने नीतिगत भ्रष्टाचारले मुलुकमा भ्रष्टाचार बलियोसँग संस्थागत हुँदै गएको पुष्टि गर्छ । यस्तो संस्थागत भ्रष्टाचारबाट मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पनि अछुतो रहन सकेका छैनन् । यही कारणले गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयं पनि भ्रष्टाचारविरुद्धको अभियानमा निरीह सावित हुनुपरेको छ । राजनीतिक शक्ति सन्तुलन मिलाउनका लागि पनि खुलेआम भ्रष्टाचार भइरहेको भ्रष्टाचारविरुद्ध उभिएका अभियन्ता र स्वयं सांसदहरूले आरोप लगाउने गरेका छन् । अख्तियारको भूतभन्दा राजनीतिक हतियार शक्तिशाली भइदिँदा भ्रष्टाचार निवारणको प्रयास प्रभावहीन बन्दै गएकोमा कसैको विमति हुन सक्दैन ।

राजनीतिक शक्तिकै प्रभावले प्राप्त भएको पदीय शक्तिको प्रभाव र दबाबका कारण लोभलालचमा लिप्त व्यक्तिहरूलाई आफ्नो स्वार्थ पूरा गर्न सहज वातावरण बन्दै गएको सन्दर्भमा यदाकदा सच्चा र इमानदार राष्ट्रसेवकलाई वाक्कदिक्क पारेर पदत्यागै गर्नुपर्ने स्थिति पनि सिर्जना नभएका होइनन् । यस्तो अवस्थामा जिम्मेवार राजनीतिक नेतृत्वतह र सरकारका नेतृत्वकर्ताहरूको शिर लाजले झुक्नुपर्नेमा उल्टै उनीहरू नै डुक्रिँदै हिँड्ने स्थिति विद्यमान रहनु निकै ठूलो दुर्भाग्य हो । राजनीतिक नेता वा कार्यकर्ताले भनेपछि जोसुकैले मान्नुपर्ने र जेसुकै गर्नुपर्ने गलत प्रवृत्तिले गलत संस्कारलाई नै प्रश्रय दिन्छ, दिएको छ । साथै यसले संस्थागत भ्रष्टाचारलाई प्रोत्साहित गर्छ । भ्रष्टाचारीउपरको कारबाही प्रक्रियामा हुने राजनीतिक हस्तक्षेप वा दबाबले अन्ततः भ्रष्टाचारलाई संस्थागत बनाउँछ । यस्तो संस्थागत भ्रष्टाचारले मुलुकको अर्थतन्त्रलाई खोक्रो र जर्जर बनाउँछ । अहिले नेपालको अर्थतन्त्र यस्तै खोक्रो र जर्जर अवस्थामा पुगेको छ ।

राजनीतिक नेतृत्व र कार्यकारी तहले मुलुकमा भ्रष्टाचार निवारण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा तिनैले भ्रष्टाचार गर्ने र भ्रष्टाचार गर्नका लागि प्रोत्साहित गर्छन् भने भ्रष्टाचारले मौलाउने अवसर पाउनु स्वाभाविकै हुन्छ । साथै राजनीतिक शक्तिको आडमा आर्थिक अनियमितता र संस्थागत भ्रष्टाचारले पनि अघोषित वैधानिकता प्राप्त गर्छ । मुलुकका ठूला राजनीतिक पार्टीहरूले पार्टी सञ्चालनका लागि ठूला व्यापारीहरूबाट प्राप्त गर्ने चन्दा र सत्तासीन राजनीतिक पार्टीले तिनै ठूला व्यापारीहरूको हितलाई ध्यानमा राखी गर्ने आर्थिक तथा कानुनी निर्णयहरूबाट घुमाउरो पारामा पार्टीले प्राप्त गर्ने आर्थिक लाभ पनि संस्थागत भ्रष्टाचारभित्रै पर्छन् ।

मुलुकमा भ्रष्टाचारीकै रजगज छ । अरू क्षेत्रमा जतिसुकै अन्योल भए पनि भ्रष्टाचारको दिशा स्पष्ट छ । साँच्चै भन्ने हो भने राजनीतिक अन्योल बढ्दा भ्रष्टाचारको दिशा झन् स्पष्ट हुन्छ र झन् सहज हुन्छ । भ्रष्टाचारीका अगाडि सदाचारी निरीह बनेका छन्, राजनीति, सरकारी सेवा तथा न्याय सेवामा चरम व्यापारीकरण भएको छ, गरिब र निमुखा नेपालीको जीवनचक्रमा कुनै सकारात्मक परिवर्तन आएको छैन, राजनीतिक नेतृत्व, कर्मचारी वर्ग, मुठ्ठीभरका टाठाबाठा र सम्पर्कको व्यापार गर्नेको संरक्षणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्जाल फैलाएर भ्रष्टाचार उद्योग सञ्चालन भएको छ । मुलुकमा अरू उद्योगव्यवसाय सेलाए पनि भ्रष्टाचार उद्योगचाहिँ राम्रोसँग मौलाएको छ ।

तल्लो तहका राष्ट्रसेवक कर्मचारीबाट हुने ‘थोक’ वा ‘खुद्रे’ भ्रष्टाचारले आममानिसलाई खासै फरक पारेको देखिंदैन । तर नीतिगत र संस्थागत रूपमै हुँदै आएका ठूल्ठूला ‘होलसेल’ भ्रष्टाचारले भने चौतर्फी असर पार्ने गरेको छ । यस्तो भ्रष्टाचारले मुलुकको अर्थतन्त्र नै गम्भीर रूपमा प्रभावित हुनुका साथै आममानिस पनि त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन् । नीति र ऐनकानुनलाई दुरुपयोग गर्दै व्यक्तिगत वा संस्थागत लाभ हासिल गर्ने परिपाटीको विकासले मुलुकमा खुद्रे भ्रष्टाचारभन्दा होलसेल भ्रष्टाचार निकै खतरनाक रूपमा बढिरहेको छ । यसले गर्दा राज्यले प्रदान गर्ने सेवा तथा सुविधा महँगो सावित हुँदै आएको छ । ठूला परियोजनाहरूमा तलदेखि माथिसम्म सेटिङ मिलाएर हुने होलसेल भ्रष्टाचारले परियोजना समयमा सम्पन्न नहुने मात्रै होइन, परियोजना नै कहिल्यै सम्पन्न नहुने र परियोजनाको लागत अनुमानितभन्दा धेरै बढ्ने गरेको तीतो यथार्थ छ । जहाँजतासुकै तलदेखि माथिसम्म सेटिङ मिलाएर हुने होलसेल भ्रष्टाचारले राज्यले तर्जुमा गरेको नीति तथा ऐनकानुनलाई नै आआफ्नो स्वार्थअनुकूल व्याख्या गर्ने तथा संशोधन र परिमार्जन गर्ने परिपाटीले भ्रष्टाचारविरुद्धको अभियानमा ठूलै हाउगुजीको रूपमा देखा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि धेरैजसो मुद्दामा चित खानुपर्ने अवस्था सिर्जना नभएको होइन ।

कहिलेकाहीं भ्रष्टाचारविरुद्धको मुद्दामा अदालतको फैसलासमेत पत्याउन नसकिने हुने गरेको छ । तर धेरैजसो भ्रष्टाचार मुद्दामा अदालतले दोषी ठहर गरी जेल सजायको फैसला गर्दा अभियुक्तहरू अलिकति मलिन अनुहार लिएर आफ्ना आफन्त, समर्थक र शुभचिन्तकलाई नमस्कार गर्दै जेल जान्छन् । कैद भुक्तानपछि जेलबाट छुट्ने दिन उनै आफन्त, समर्थक र शुभचिन्तकले अबिर र फूलमालाले स्वागत गर्दै जयजयकार गर्दा गर्वले छाती फुलाएर दर्शकदीर्घातिर आँखा दौडाउँछन् । त्यतिखेर आमजनता निरीह भएर उनै शक्तिशाली भ्रष्टाचारीलाई हेरिरहेका हुन्छन् । दुईचार दिनपछि उनै भ्रष्टाचारीलाई हाइहेल्लो गर्ने पङ्क्तिमा उभिन पुग्छन् । अनि यही प्रवृत्तिले भ्रष्टाचारीलाई पुरुषार्थीको रूपमा पुरस्कृत गर्न सहयोग गरिरहेको हुन्छ ।

पसिनाको कमाइ खानेलाई हामी ‘सानो मान्छे’ भनेर हेंला गर्छौं । तर, घूस ज्युनार गर्नेलाई ‘ठूलो मान्छे’ भनेर सम्मान गर्छौं । यही हाम्रो भूल हो । हाम्रो यही भूलले गर्दा मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि उपेक्षित छ र भ्रष्टाचारले सर्वत्र मौलाउने अवसर पाएको छ । माटोमा पसिना बगाउनेलाई सम्मान गर्ने संस्कृति भए पो कृषिले सम्मानित हुने अवसर पाउँछ । भ्रष्टाचार गर्नेलाई सम्मान गर्ने संस्कृतिले बढावा पाएपछि कसरी मुलुक उँभो लाग्न सक्छ ?

जुन मुलुकमा शक्तिको आडमा भ्रष्टाचारविरोधीको ज्यानै लिन सक्ने आँट भ्रष्टाचारी, डन, दलाल र माफियाले गर्छन्, त्यो मुलुकमा भ्रष्टाचार कसरी घट्छ ? अवैध रूपमा स्रोत र साधनको दोहन गर्ने अपराधी माफिया, ठेक्का लिएर कमसल काम गर्ने लुच्चा ठेकेदार, व्यापारी, डन र दलालसँग हाम्रा राजनीतिक दलका नेता, कार्यकर्ता, उच्चपदस्थ र प्रहरी प्रशासनको मिलेमतो अथवा साँठगाँठ छैन र ? यी सबैको सेटिङ नमिलिकन भ्रष्टाचार हुन सक्छ र ? काले–काले मिलेर खाऊँ भाले भन्ने र कानुनका अगाडि तैं चुप मैं चुपको सिद्धान्त अपनाइएको मुलुकमा भ्रष्टाचार बढ्छ र बढि नै रहन्छ ।

लोकतन्त्रलाई लुटतन्त्रका रूपमा उपयोग गर्न तँछाडमछाड गर्नेहरूले जनताको अपेक्षालाई पाइतालामुनि धूलो कुल्चिएजसरी कुल्चिदिए । लोकतन्त्र आए यस्तो राम्रो हुन्छ र उस्तो राम्रो हुन्छ भनेर लोकतन्त्रका सकारात्मक पक्षका कुरा मात्रै गरियो । तर, लोकतन्त्रलाई लुटतन्त्र बनाउँछन् भनेर त्यसको नकारात्मक पक्षको कुरा कसैले गरेनन् र कहिल्यै गरेनन् । अहिले नेपाली जनता लोकतन्त्रभन्दा लुटतन्त्रको बढी अनुभूति गर्न बाध्य छन् र लोकतन्त्रको सुखानुभूतिभन्दा लुटतन्त्रको पीडानुभूतिले पिरोलिएका छन् ।

लोकतन्त्रसँगसँगै लोकलाज पनि जोडिएर आउनुपर्ने हो । तर लोकतन्त्रको दुहाइ दिनेहरूले पनि कहिल्यै लोकलाजको कुरा गरेको सुनिएन, देखिएन । बरु लोकतन्त्रलाई लुटतन्त्रको रूपमा उपयोग गर्न उद्यत वर्गले लोकतन्त्रलाई माध्यम बनाएर देश र जनतालाई लुटिरहे । यसरी देश र जनता लुट्नेहरूले कहिल्यै लोकलाजको वास्ता गरेनन् । उनीहरूलाई कहिल्यै लोकलाजको डर भएन । बरु भ्रष्टाचार गर्न सक्नुलाई पुरुषार्थको रूपमा लिइयो–हेरियो । भ्रष्टाचार गर्नेहरू नै समाजमा पुरुषार्थीका रूपमा स्थापित भए, सामाजिक प्रतिष्ठा कमाए र सम्मानित भए । हो, यस्तो परिवेशमा भ्रष्टाचार बढ्छ र बढि नै रहन्छ ।

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]