About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
बदलिएको नेपाल

खोज केन्द्र मंगलबार, पौष ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

गणतन्त्रपछि नेपाल धेरै फेरिइसकेको छ । नेपाली जनताले राष्ट्रपति पाएका छन् । प्रदेश, प्रदेश सरकार र स्थानीय सरकार पाएका छन् । गाउँहरूमा गाउँलेहरूले धानखेत हुँदै डाँडाकाँडा जताततै बाटो पाएका छन् । पहिले मान्छेहरूले समाजसेवाको नाममा राजनीति गर्थे । अहिले उनीहरू राजनीतिका नाममा व्यापारमा लागेका छन् । अर्थात् समृद्धिलाई सघाएका छन् ।

देशमा सञ्चार क्षेत्रले फड्को मारेको छ । सोही अनुरूप के केन्द्र, के प्रदेश, सबै सरकारका मन्त्रीहरू पनि एक से एक प्रविधिमैत्री बन्दै गएका छन् । उनीहरूले मुखभित्र पनि मोबाइलका सिम फिट गरेका छन् । शायद ‘आउट गोइङ’ सिम मात्र फिट गरेका कारण हिजोआज उनीहरूले सार्वजनिक कार्यक्रमहरूमा गएर एकोहोरो बोलिरहने मात्र काम पाएका छन् । यो पनि एक परिवर्तन नै हो ।

गाउँ गाउँमा नयाँ नयाँ डोजरे डनहरू, गिट्टी, बालुवा गुन्डाहरू उदाएका छन् । त्यसमध्ये केही निर्वाचित भएपछि नेतामा रूपान्तरण पनि भएका छन् ।

कतिपय मन्त्री तथा सांसदहरू मन्त्री, सांसद जस्ता छैनन् । शायद उनीहरू स्वयंलाई पनि विश्वास लागिरहेको छैन होला । कमसेकम उनीहरूको व्यवहारले त्यस्तै देखाउँछ । तर जे भए पनि भाग्यकै कुरा हो । परिवर्तित समयको कुरा हो । पहिले भाग्यमा विश्वास नगर्नेहरू पनि पछिल्ला नियुक्ति वा निर्वाचित मन्त्री तथा सांसदहरूलाई देख्दा भाग्यमा बढी नै विश्वास गर्ने भएका छन् । त्यसकारण तपाईंहरू पनि लाइनमा चैं बसिरहनु होला । के थाहा फ्याट्ट मन्त्री, सांसद बनि पो हाल्नुहुन्छ कि !

भाग्यकै कुरा गर्दा अस्ति सम्पन्न साग खेलकुदकै कुरा गरौं न ! कसैले पनि सोचेकै थिएनन् होला कि नेपाली खेलाडीले पनि यति धेरै स्वर्ण लगायत पदक जित्न सक्छन् भनेर । किनकि न त सरकारले खेल र खेलाडीका लागि खासै लगानी गरेको थियो, न कार्यक्रम त्यति व्यवस्थित नै थियो । तर पनि नेपाली खेलाडी आधा सयभन्दा बढी त स्वर्ण पदकै जितेर साग खेलमा दोस्रो स्थान हासिल गर्न सफल भए । यो भाग्य नभए के होला र ? त्यस्तै नेपाली दर्शक पनि भाग्यमानी नै हुन् । किनकि उनीहरूमध्ये धेरैले साँघुरो रंगशालाभित्रै गएर हेर्न नपाए पनि खुला सडकमै बसेर खेल हेर्ने आनन्द मजैले लिन पाए । त्यस क्रममा पुसिलको २/४ लाठी पनि चाख्न भ्याए । खेलको रमाइलो भनेकै यस्तै त हो नि !

त्यसो त परिवर्तन सबै ठाउँमा आएको छ । प्रहरीमा मात्र नआउने कुरा पनि भएन । त्यै भएर नेपालका प्रहरी बेलाबेलामा नेताभन्दा पनि अलि बढी नै क्रान्तिकारी बनिदिन्छन् । बोलीले हुने कुरामा पनि लाठी र गोली नै चलाइदिन्छन् । बेलाबेलामा चोरलाई लखेट्ने क्रममा दौडेर चोरभन्दा अघि पनि पुगिदिन्छन् ।

उपभोक्ताहरूमा पनि व्यापक परिवर्तन आएको छ । दूध होस् या प्याज वा बैंकको ब्याज महँगो भएको भन्दै सरकार भनिने अमूर्त मूर्तिसँग दुःख मनाउ गरेर बसिरहन्छन् । तर मदिरा र बियर पिउन भने विश्वकै उपभोक्ताका तुलनामा औसतभन्दा बढी नै खर्च गर्छन् । यो नेपाली समाज उदार हुँदै गएको संकेत पनि हो । समाज उदार भएकैले होला मिडियामा पनि किसानका समस्या वा कुखुराका डिम्ब नबिकेको कुराभन्दा किशोर–किशोरीका नितम्बका कुरा, जौका भन्दा जोवनका कुरा, नीतिभन्दा नेताका गफ बढी नै छापिन थालेका छन् । परिवर्तन यस्तो आएछ कि पहिले पत्रकारलाई कसरी लेख्ने भन्ने सिकाउनु पर्थ्यो । अब त कसरी नलेख्ने भन्नुपर्ने हो जस्तो पो हुँदै गाछ ।

परिवर्तन शहरमा भन्दा गाउँमा बढी पुगेको भान हुन थालेको छ । हाम्रा बाउ–बाजेले कहिल्यै नदेखेको प्लास्टिकका पाउचमा किसिम किसिमका उत्पादन, चाउचाउ, बिस्कुट, कुरकुरे, चिजबल, सस्ता चाइनिज चकलेटदेखि मदिरा र बियरसम्म गाउँ–गाउँमा पुगेका छन् ।

प्रायः घरघरमा इन्टरनेटको पहुँच पनि पुगिसकेको छ । आउट–डेटेड बुढाबुढीहरू पनि अपडेट हुन थालेका छन् । साइबर संसारमा को बुढो, को तन्नेरी छुट्ट्याउन मुश्किल छ  । अनि फस्ने र फसाउने, खस्ने र खसाउने उपक्रम पनि जारी छ । साथै सामाजिक सञ्जालमा मित्रहरू बढ्दै गएका छन् । तर परिवार, छरछिमेक र चौतारामा कुराकानी बन्द हुँदै गएको छ ।

गाउँ गाउँमा नयाँ नयाँ डोजरे डनहरू, गिट्टी, बालुवा गुन्डाहरू उदाएका छन् । त्यसमध्ये केही निर्वाचित भएपछि नेतामा रूपान्तरण पनि भएका छन् । यसरी कतिपय ज्यान मार्ने उद्योग गर्नेहरू, छिमेकीका कुखुरा बोकेर दौड प्रतियोगितामा जानेहरू हिजोआज गाउँमा बस्दैनन् । उनीहरू पुरानो पेशाबाट स्वैच्छिक अवकाश लिएर जनताका सेवकमा दरिइसकेका छन् । त्यसैले हिजोआज उनीहरू शहर पसेका छन् । संसद् भवनतिर घुसेका छन् । अहिले उनीहरूलाई काम गर्न सजिलो भएको छ । किनभने विगतमा उनीहरू जीवन चलाउन ‘हप्ता’ उठाउन फिल्डमै जानुपथ्र्यो । हिजोआज त ब्रिफकेस बोकेर उनीहरूको दैलोमै मानिसहरू सेवामा हाजिर हुन्छन् । हिजोको पेशा र आजको उनीहरूको कामबीच केवल भोटको अन्तर रहेको छ । केही भोटले मानिसको जिन्दगीमा कतिसम्म फरक पार्दो रहेछ !

गाउँमा जलविद्युत्पछि अहिले पर्यटन विकासको पनि लहर चलेको छ । पर्यटकको संख्या बढाउन नयाँ चर्चहरू खडा गरिएका छन् । नयाँ मदिरालय बनाइएका छन् । खण्डहरजस्ता विद्यालयहरू पनि पर्यटकहरूलाई ऐतिहासिक स्थल भनेर देखाउने एक नयाँ गन्तव्यस्थल बनेका छन् । अरू उत्पादनमा विश्वव्यापीकरणको जतिसुकै प्रभाव भए पनि घरेलु तथा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न घरेलु मदिराको प्रयोग भने व्यापक बनाइएको छ । यस कार्यले बेला बेलामा प्रहरी प्रशासनका लागि पनि आम्दानी सुनिश्चित गर्ने माध्यम बनेको छ ।

गाउँका युवायुवतीहरू आफ्नो सम्पूर्ण सम्पत्ति र जीवन नै दाउमा लगाएर भए पनि सकेसम्म विदेशै जाने, नपाए सरकारी जागीरमा आकर्षित छन् । नत्र भने उनीहरू यस्तो कामको खोजीमा छन्, जसमा काम चैं गर्न नपरोस्, अर्थात् श्रम गर्न नपरोस् तर पारिश्रमिक चैं पाइयोस् ।

गाउँका पुराना जमीनदार र मिटरब्याजीहरूको ठाउँ बैंक, फाइनान्सहरूले लिइसकेका छन् । वित्तीय संस्थाहरूले कृषि वा कुनै नयाँ परियोजनामा ऋण दिन नसके पनि टिभी किन्न, मोटर वा मोटरसाइकल (मोसा) किन्न भने किसानहरूलाई ऋण अझै पत्याइरहेका छन् । यसरी टिभीले शहरलाई गाउँमा पुर्‍याइरहेको छ भने मोटर र मोसाले गाउँलाई शहरमा । यसरी नेपालको यो बदलिँदो तस्वीर बनाउनमा के नीति, के नेता वा जनता प्रायः सबैको अहम् योगदान रहेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]