उखु किसानको भुक्तानी नतिर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपस्थित गराउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेपछि त्यस्ता चिनी उद्योग सञ्चालक मन्त्रालयको सम्पर्कमा आएका छन् ।
संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलवारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उक्त जानकारी दिएका हुन् ।
मन्त्री भट्टका अनुसार अन्नपूर्ण सुगरका राकेश अग्रवाल र महालक्ष्मी सुगरका वीरेन्द्र कनोडिया मन्त्रालयको सम्पर्कमा आएका हुन् । विगत ६ वर्षदेखि उखुको भुक्तानी नपाएको भन्दै सर्लाही, नवलपरासी र रौतहटका किसानहरू उखुको बाँकी बक्यौताको मागसहित २ सातादेखि संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
आन्दोलनरत किसानका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वागमती सुगर मिलले करीब ५ हजार उखु किसानलाई हालसम्म करीब रू. १ अर्ब ४१ करोड रकम भुक्तानी गर्न बाँकी छ ।
यसका साथै सरकारले किसानलाई प्रतिक्वीन्टल ६५ रुपैयाँ ६७ पैसा अनुदान दिने बताएकोमा उक्त अनुदानबापतको करीब १ अर्ब ३४ करोड रुपैयाँ पनि नपाएको गुनासो किसानको छ ।
उखु किसानको आन्दोलन चर्किएपछि मन्त्रालयले ती उद्योगका सञ्चालकलाई सम्पर्क गरेकोमा अन्नपूर्ण र महालक्ष्मीसँग सम्पर्क हुन सकेको थिएन । त्यसपछि सम्पर्कविहीन २ मिल सञ्चालकलाई पक्राउ गरी मन्त्रालयमा उपस्थित गराइदिन कृषि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।
मंगलवार गृहले प्रहरी प्रधान कार्यालय र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पक्राउ गर्न पत्र लेखेपछि उद्योगीहरू सम्पर्कमा आएका हुन् ।
हाल देशभर १४ ओटा चिनी उद्योग रहेकोमा ८ ओटा उद्योगले भने समयमै भुक्तानी गरिरहेका छन् । बाँकी उद्योग भने कृषकको भुक्तानी नदिई अहिले बन्द अवस्थामा रहेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणि ज्ञवालीले बताए ।
उनका अनुसार अन्नपूर्णले सबैभन्दा बढी रू. ५१ करोड भुक्तानी गर्न बाँकी छ । यस्तै श्रीरामले रू. ४२ करोड र महालक्ष्मीले रू. २१ करोड भुक्तानी गर्न बाँकी छ । मिल सञ्चालक र कृषकबीच सरकारले तोकेको दरमा ४५ दिनभित्र किसानलाई उखुको भुक्तानी दिनुपर्ने सहमति भए पनि त्यसको कार्यान्वयन भने नभएको किसानको आरोप छ ।
उद्योगीले भारतबाट चिनी आयात भएकाले देशमा उत्पादित चिनी नबिकेको भन्दै सम्झौताअनुसार मूल्य तिर्न नसक्ने भनी किसानलाई भुक्तानी नदिने गरेको महासंघका अध्यक्ष मैनालीले बताए । ‘जिल्ला प्रशासन कार्यालय, उद्योग मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा पटकपटक छलफल गरी भुक्तानी गर्ने सहमति भए पनि किसानले भुक्तानी भने पाएका छैनन्,’ उनले भने ।
चिनी मिल मालिकले किसानको भुक्तानी नतिरेको भन्दै यसअघि तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले गृहसँग सहकार्य गरी उद्योगीलाई ठगी मुद्दामा कारबाही गर्ने तयारी गरेको थियो । त्यसबेला प्रहरीले अन्नपूर्ण सुगर प्रालिका सञ्चालक राकेश अग्रवाललाई पक्राउ पनि गरेको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा उखु किसान र उद्योगीबीच तत्काल बक्यौता रकम तिर्ने सहमति भएकोमा हालसम्म पनि उक्त भुक्तानी किसानले पाएका छैनन् ।
मन्त्रालयको सम्पर्कमा आएपछि उखु उद्योगीले किसानको बक्यौता रकम तिर्ने र उद्योग सञ्चालन गर्ने प्रतिबद्धता गरेको उद्योगमन्त्री भट्टले बताए । ‘उद्योगीले किसानको बाँकी रकम भुक्तानी गर्ने र उद्योग पनि सञ्चालन गर्ने प्रतिबद्धतासहित केही समय मागेका छन्,’ उद्योगमन्त्री भट्टले भने । यसका लागि मन्त्रालयले लिखित सम्झौताको तयारी गरेको उनले बताए ।