कार्यालय सहयोगी असुल्ने, हाकिम हसुर्ने
नेपाली राजदूतावास अबुधाबीका कर्मचारीले खुलेआम घुस बार्गेनिङ गर्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् ।
अबुधाबीस्थित नेपाली राजदूतावासबाट प्रवाह हुने कामदारको मागपत्र प्रमाणीकरणलगायतका काममा दूतावासका तृत्तीय सचिव रामविनय यादवले हाकाहाकी घुस खाने गरेको एक सेवाग्राहीले बताए ।
तृत्तीय सचिव यादवले सेवाग्राहीसँग घुस उठाउन कार्यालय सहयोगी पुस्कल लामालाई परिचालन गर्ने गरेका छन् । लामाले उठाएको घुस रकम यादवलगायतका कर्मचारीले बाँडेर लिने गरेको स्रोत बताउँछ ।
देशभित्र रोजगारी नपाएर विदेशी भूमिमा कठिन श्रम गर्न बाध्य नेपालीसँग कर्मचारीले नाजायज फाइदा उठाइरहेको बारे सेवाग्राहीले स्वयं राजदूतसँग गुनासो गर्दै आइरहेका छन् । आफूहरूको गुनासोपछि पनि राजदूत र दूतावासले भ्रष्ट कर्मचारीको गतिविधि हेरेर बसिरहेको एक सेवाग्राहीले बताए ।
यसबारे राष्ट्रिय सकर्तकता केन्द्रमा पनि नेपालीहरूले उजुरी गरेका छन् । उजुरीपछि विदेशस्थित दूतावासबाट प्रदान गरिने सेवालाई सरल, पारदर्शी, प्रभावकारी, सेवाग्राहीमैत्री बनाइ अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिमा अभिवृद्धि गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ ।