तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा तस्करहरुको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरेको छ । हत्या गरेर बिकको शव करिब ३ सय मिटर दक्षिणमा रहेको मोहना नदीमा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो । उनीसँगै गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेको छ ।
घटनास्थलको प्रकृति हेर्दा गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउँदलाई तस्करको समूहले घेराबन्दी गरेर आक्रमण गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । उखुबारीको छेउमा रहेको बाँझो खेतमा लछारपछार भएजस्तो माटो देखिएको छ, भने छेउमै प्रहरीको एउटा जुत्ता पनि फेला परेको छ । त्यसको करिब ५० मिटर पर स्लिपिङ ब्याग र चप्पल भेटिएको छ भने त्यो भन्दा अझै ५० मिटर दक्षिणतर्फ खेतमै रगत देखिएको छ ।
‘तस्करहरुले घेराबन्दी गरेर उखु छेउको जमिनदेखि रगत भएको ठाउँसम्म लगेर हत्या गरेको हुनसक्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने,‘हत्या गरेर शव मोहना नदीमा फालिएको देखिन्छ ।’
रगतदेखिएको नजिकै फुटेको अवस्थामा मोबाइल पनि भेटिएको उनले बताए । घटनास्थल नेपाल र भारत दुवैतर्फका तस्करहरुको ट्रान्जिट प्वाइन्ट रहेको स्थानीयले बताएका छन् । ‘गोरुगाडामा भारतबाट सामान ल्याएर उखुबारी छेउमा राख्ने र त्यहाँबाट नेपालतर्फका तस्करहरुले सामान लैजाने गर्छन्,’ एक स्थानीयले भने,‘यहाँ त रातभर मानिसहरु हिँडेको हिँड्यै गर्छन् ।’
यो नाका भएर भारतमा मटर, भटमास तथा दलहन बस्तु तस्करी हुने गर्छ भने भारतबाट नेपालतर्फ दैनिक उपभोग्य सामाग्री मध्ये चिनी, लुगाकपडा, सुर्तीजन्य पदार्थ, हार्डबेयरका सामग्री, इलेक्ट्रिक्स सामानहरु अवैध आयात हुने गर्छ । प्रहरीकै सेटिङमा नियमित तस्करी हुने गरेको स्थानीय बताउँछन् । ‘जुगेडामै अस्थायी प्रहरी पोष्टका साथै नेपाल सशस्त्र प्रहरीको विओपी पोष्ट रहेको छ,’ नाम नबताउने शर्तमा अर्का एक स्थानीयले भने,‘प्रहरी र सशस्त्रकै सेटिङमा तस्करी हुने गर्छ ।’