About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
रेल त आयो गुड्ने सपना कहिले होला पूरा ? छैन जनशक्ति, लिक निर्माण हुनै बाँकी

कानून पनि छैन, प्रदेश सरकार रुष्ट

खोज केन्द्र मंगलबार, आश्विन २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले २ वटा रेल खरीद गरेको छ । आफ्नै रेल सञ्चालन गर्ने योजनाअनुसार सरकारले ती रेल खरीद गरेको हो । सन् २०१९ को मे १० मा कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग गरिएको सम्झौताअनुसार रेल नेपाल आइपुगेको हो । रेलको मूल्य ८३ करोड ९३ लाख ६० हजार भएको बताइएको छ । २०७७ असोज २ गते जनकपुर आइपुगेको रेल अब कहिलेदेखि चल्ला भन्ने जिज्ञासा रेल वे कम्पनीले मेट्न सकेको छैन । रेल नेपाल भित्रिएको १९ दिन भइसकेको छ । कहिलेदेखि यात्रुले सेवा पाउँछन् ? अत्तोपत्तो छैन ।

नेपाल भित्रिएको सो रेल १६०० एचपी डेमु  रेलको अगाडि र पछाडि दुईवटा इन्जिन र ५ वटा डिब्बा रहेको बताइएको छ । एउटा ट्रेन सेटले एक पटकमा झण्डै १३ सय यात्रु बोक्न सक्ने नेपाल रेल वे कम्पनीको भनाइ छ । रेल प्रतिघण्टा ११० किलोमिटरको गतिमा कुद्ने छ ।

छैन जनशक्ति
लामो समय सञ्चालन भएर रोकिएको जनकपुर–रेल मार्ग पुनः सञ्चालन गर्ने योजनाअनुसार सरकारले रेल भित्राएपछि उत्साह छाएको छ । सामाजिक सञ्जाल पनि यसले अहिले तातिएको छ । तर रेल तत्काल सञ्चालनमा आउने अवस्था छैन । किनभने, रेल सञ्चालनका लागि ड्राइभरलगायतका दक्ष प्राविधिक जनशक्ति नै छैनन् ।

सरकारले गत वर्ष रेल सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति माग गरेको थियो । तर ती प्राविधिक जनशक्तिका लागि आवेदन नै परेनन् । रेलका लागि आवश्यक जनशक्ति नभएकाले भारतलगायतका अन्य मुलुकबाट यसको व्यवस्थापन गर्नुपर्ने अवस्था छ । आवश्यक प्राविधिक जनशक्ति नभएपछि सरकारले भारतसँग आग्रह गरेको बताइएको छ । रेल्वे कम्पनीका अनुसार, कति कर्मचारी राखेर कुन मोडालिटीमा चलाउने लगायत विषयमा भारतसँग प्रस्ताव माग गरिएको छ ।
लिक निर्माण हुनै बाँकी 

रेल सञ्चालनका लागि जनशक्ति मात्रै होइन, लिकसमेत निर्माण हुन बाँकी छ । सरकारले भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिबाससम्म रेल सञ्चालन गर्ने सोच बनाएको छ । तर सबैतिर लिक निर्माण भइसकेको छैन । जयनगरदेखि जनकपुरसम्म मात्र ३५ किलोमिटर रेलको लिक निर्माण भएको छ ।

अन्य भागमा भने अहिले लिक निर्माण भइरहेको छ । जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिबाससम्म लिक निर्माण हुन केही समय लाग्ने भएकाले पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन गर्ने तयारी छ । अबको एक डेढ महिनामै रेल सञ्चालन गर्ने सोच रेल्वे कम्पनीले बनाए पनि यो अवधिमा रेल सञ्चालन हुने सम्भावना निकै कम देखिन्छ । किनभने, रेल सञ्चालनका लागि आवश्यक जनशक्तिदेखि कानूनसम्म अभाव छ ।

कानून पनि छैन 
रेल सञ्चालनका लागि कानून आवश्यक हुन्छ । तर अहिलेसम्म रेल सञ्चालनका लागि कानून पनि निर्माण भएको छैन ।
कानून बनाउन संघीय संसद आवश्यक हुन्छ । संघीय संसद अहिले सञ्चालनमा नरहेकाले तत्काल कानून निर्माण गर्ने अवस्था पनि छैन । अध्यादेशको बाटो समाते मात्रै कानून निर्माण तत्काल हुन सक्ने देखिन्छ ।

सञ्चालनको टुंगो छैन
यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिबाससम्म सञ्चालन गर्न किनिएको हो । तर, हाल जनकपुरदेखि जयनगरसम्म मात्र लिक निर्माण भएको छ । भइरहेको छ । त्यसैले पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन हुनेछ । पूर्ण गतिमा चलाउने हो भने यो १९ मिनेटको दूरी हो । तर, यात्रुबाहक भएकाले यो रेल विभिन्न स्टेसनमा रोकिँदै ढिलो चल्ने छ ।

प्रदेश सरकार रुष्ट 
रेल सञ्चालनमा आएमा यसको सबैभन्दा बढी लाभ प्रदेश २ लाई हुन्छ । यस अर्थमा प्रदेश २ सरकार खुसी हुनुपर्ने हो । तर प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत नै रेल आफ्नो प्रदेशमा भित्रिँदा रुष्ट छन् ।

राउत रुष्ट हुनुको कारण हो, रेल्वे कम्पनीले रेल हस्तान्तरण कार्यक्रममा आमन्त्रण नगर्नु । कार्यक्रममा रेल्वे विभागका महाप्रबन्धकदेखि महानिर्देशक, निर्देशकहरूसम्मलाई निम्तो गरिए पनि प्रदेश २ सरकारलाई जानकारी नगराइएको हो ।

विभागले रेल हस्तान्तरण कार्यक्रममा नबोलाएपछि मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेश सरकारलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन् । यसबाट संघीयताको पनि अवमूल्यन भएको उनको भनाइ छ ।

रेल इतिहास 
नेपालमा रेल विकासको इतिहास लामो छ । यो विसं १९८४ मा सुरु भएको थियो । रक्सौल–अमलेखगञ्ज ४७ किमी रेलमार्ग १९८४ मै सञ्चालनमा आएको थियो ।

भारतमा बेलायती शासन हुँदा पुरानो प्रविधिको रेल नेपालमा भित्रिएको हो । नेपालबाट काठ लैजान त्यतिबेला रेल प्रयोग गरिएको थियो । पछि मालसामान र मानिसहरू ओसार्न पनि उक्त रेल प्रयोग भयो । त्यसमा स्टिम इन्जिन थियो, कोइला र पानीको बाफबाट चल्ने । यो रेललाई विस्तारै अपग्रेड गनुपर्ने आवश्यकता भए पनि त्यसो गरिएन । रेलको महत्व र आवश्यकता बुझ्ने ल्याकत नहुँदा यसको विकास नभएको जानकारहरू बताउँछन् ।

र, अलपत्र एउटा सपना ?  
रेल विभागले केही वर्षअघि कोरियन कम्पनीलाई उपत्यकामा मेट्रो रेलका विषयमा सम्भाव्यता अध्ययन गराएको थियो । उपत्यकामा ७७ किमी रेलमार्ग बनाइने अध्ययन भएकामा २५ किमी भूमिगत र ५२ किमी आकाशे रेल मार्ग बनाउनुपर्ने सुझाव थियो । पाँच भागमा विभाजन गरी तीन भाग आकाशे र दुई भाग भूमिगत मार्ग निर्माणका लागि अध्ययन कार्यदलले सिफारिश गरेको विभागले जनाएको थियो ।

सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमी, कीर्तिपुर–कालिमाटीे–नयाँ बानेश्वर–एयरपोर्ट ११ किमी र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीमा आकाशे रेलमार्ग बनाउन सिफारिश गरिएको थियो । स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोँगबु १४ किमीमा भूमिगत रेलमार्ग निर्माणको अर्को सिफारिस पनि गरिएको थियो ।

आकाशे रेलमार्ग निर्माणमा सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमीका लागि रु सात हजार ८३६ करोड, कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्ट ११ किमीका लागि रु छ हजार ८०६ करोड र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीका लागि रु १५ हजार १०० करोड लाग्ने अनुमान थियो । भूमिगत रेलमार्ग निर्माणमा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमीका लागि रु ११ हजार ८०० करोड र धोबीघाट–सिंहदरबार–नक्साल–गोँगबु १४ किमीका लागि रु १३ हजार ९५ करोड लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको थियो ।

उपत्यकामा पाँच वटा विद्युतीय मेट्रो रेल निर्माणका लागि कूल रु ५४ हजार ७१७ करोड लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको विभागले जनाएको थियो । तर यो योजना अहिले अलपत्र परेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]