जितपुर सिमरा उपमहानगरपालिका-७ स्थित सडकबाट भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ११ लाख ५५ हजार ६ सय ८७ रुपैयाँ बराबरको कपडा सहित पर्सा वीरगंज महानगरपालिका-२१ बस्ने २२ वर्षीय छोटेलाल पटेललाई असाेज १७ गते शनिबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले वीरगंजबाट जितपुरतर्फ आउँदै गरेको ना.२ च ६६७९ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा उक्त कपडा सहित फेला पारी गाडी चालक पटेललाई उक्त गाडी सहित पक्राउ गरेको हो ।
पटेललाई बरामद कपडा र गाडी सहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैगरी बारा, निजगढ नगरपालिका-९ स्थित सडकमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब १ लाख २८ हजार रुपैयाँ बराबरको ३ सय २० किलो अलैची शनिबार प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सर्लाहीबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०३-००१ च ०४९७ नम्बरको पिकअपलाई जाँच गर्दा उक्त परिमाणको अलैची फेला पारी बरामद गरेको हो । बरामद अलैची तथा पिकअप गाडीलाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।