काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् आजभोलि नै पुनर्गठन हुने चर्चा छ ।
मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटी टुंगो लाग्न बाँकी रहे पनि नेकपाका सांसदहरू मन्त्री बन्ने दौडधुपमा लागेका छन् । अवसर पाइसकेका र अवसर नपाएका दुवै खाले सांसद् यसपटक पनि मन्त्री बन्ने दौडमा छन् । तर यसपटक विगतमा अवसर नपाएकाले मन्त्री बन्ने सम्भावना अधिक छ ।
पूर्वएमाले खेमाका कैयनले मन्त्रीको आकांक्षा देखाए पनि अर्थमन्त्रीमा महासचिव विष्णु पौडेलको सम्भावना रहेको बताइन्छ ।
त्यसैगरी गणेश ठगुन्ना, शान्ता चौधरी, कृष्ण दाहाल, यज्ञराज सुनुवार, प्रभु साह, रेखा शर्मा, जयपुरी घर्ती(वर्षमान पुन हटे मात्र) र नारदमुनि रानालाई मन्त्री चर्चा छ । यसअघि मन्त्री बन्ने सौभाग्य नपाएकाले यी अनुहारबारे नेकपाभित्र विवाद नरहेको बताइन्छ ।
त्यसैगरी नेकपाका केही नेताले काठमाडौंबाट कृष्णगोपाल श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।
यसअघि अवसर पाइसकेका भए पनि काठमाडौं र नेवार समुदायको प्रतिनिधित्व हुने भएकाले उनको सम्भावना बढी छ ।
त्यसैगरी, भीम रावलले पनि मन्त्री बन्ने चाहना राखेका छन् । मन्त्री बन्ने चाहना पूरा गर्नकै लागि कार्यदल सदस्य रहेका उनले कडा अडान नराखेको चर्चा छ । तर रावल एमालेको उपाध्यक्ष र उपप्रधानमन्त्री बनिसकेका व्यक्ति रहेकाले मन्त्रिपरिषद्मा समेट्ने प्राविधिक समस्या खडा हुने ठानिएको छ ।
पूर्वमाओवादी खेमाका पनि दर्जनौंले मन्त्री हुने रहर गरेका छन् । देवेन्द्र पौडेल यसपटक समेटिने पक्कापक्की छ । पौडेल नेकपा स्थायी समिति सदस्यमध्ये मन्त्री नबनेका एक मात्र व्यक्ति हुन् ।
त्यस्तै, टोपबहादुर रायमाझी, पम्फा भुसाल, जनार्दन शर्माको पनि मन्त्री बन्ने चर्चा छ । भीम रावललाई जस्तै रायमाझी पनि यसअघि उपप्रधानमन्त्री बनिसकेकाले प्राविधिक जटिलता छ ।