उखु किसानलाई भुक्तानी नदिने उद्योगीमाथि कारवाही माग
काठमाडौं । राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसदले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा उनीहरुले उखु किसानलाई मजदूर बनाउन बाध्य पार्ने उद्योगीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरे ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कोमल वलीले १५ दिनभित्र उखु किसानको बक्यौता भुक्तानीका लागि उद्योगीलाई तत्काल निर्देशन दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
‘विगतदेखि नै किसानको बक्यौता भुक्तानी दिन बाँकी छ, किन वर्षेनी उखु किसानको समस्या दोहोरिन्छ, उद्योगीले किसानसँग उखु लिन्छन, चिनी उत्पादन गरेर विक्री पनि गरेका छन् तर उनीहरुले किसालाई भुक्तानी नदिएर ठूलो घात गरेका छन्, यसको तत्काल छानबिन गरिनुपर्छ ।’
उखु किसानको बक्यौता भुक्तानी दिन विगतमा सरकारले दिएको निर्देशन उद्योगीले नटेरेको भन्दै उनले किसानको उत्पादन लिने तर भुक्तानी नदिने उद्योगीको नियतले किसान डुब्ने अवस्थामा पुगेको बताइन् ।
सांसद् ओलीले भनिन्, ‘तुरुन्त किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था मिलाइदिनुपर्यो, किसानलाई उखुको भुक्तानी नदिनु अन्याय हो, १५ दिनभित्र किसानको भुक्तानी नदिए उद्योगीलाई कारवाही गरियोस् ।’
राष्ट्रिय जनता पार्टीका वृषेशचन्द्र लालले उखु किसान सत्याग्रह गर्न काठमाडौं आएको बताउँदै ‘यो देश किसानको हो कि होइन’ भन्दै प्रश्न गरे । ‘यदि यो सरकार किसानको हो भने किसानले खेती गर्छ, उत्पादन गर्छ तर किन मूल्य पाउँदैन ?’, उनले भने, ‘किसान कसरी बाँच्छ, अहिले किसान मजदूर बन्न बाध्य भएका छन्, के सरकारले मजदूरको संख्या वृद्धि गर्न खोजेको हो ?’
समाजवादी पार्टीका रामप्रीत पासवानले किसान आफैंले उब्जनी गरेको उखुको मूल्य पाउन सरकारसँग बिलौना गर्न बाध्य हुनु लाजमर्दो भएको उल्लेख गर्दै सरकारको अकर्मण्यताले उखु किसानको भविष्य झन् असुरक्षित बन्दै गएको बताए ।
माग अविलम्ब पूरा नभए उखु किसान ठूलो आन्दोलन गर्न बाध्य हुने भन्दै उनले उखु किसानको बक्यौता भुक्तानीका लागि उद्योगीलाई निर्देशन दिन सरकारको ध्यानाकर्षण गराए ।
विसं २०७० देखि उखु मिलले किसानलाई उखुको भुक्तानी दिन बाँकी रहेको किसानले बताएका छन् ।
अझै पनि विभिन्न उखु उद्योगले किसानलाई करीब रू.१ अर्ब ४० करोड भुक्तानी दिन बाँकी छ । यस्तै किसानले सरकारका तर्फबाट पाउने रू. १ अर्ब ३४ करोड अनुदान पनि प्राप्त गर्न सकेका छैनन् ।
महालक्ष्मी सुगर मिल्स, श्रीराम सुगर मिल्स, एभरेष्ट सुगर मिल, हिमालयन सुगर मिल, वाग्मती, अन्नपूर्णलगायत चिनी उद्योगले किसानलाई ठूलो मात्रामा उखुको भुक्तानी दिन बाँकी छ ।
उखु किसान उद्योगीले बक्यौता नदिएको भन्दै सरकारलाई दवाव दिन किसानहरु अहिले काठमाडौं आएका छन् । सर्लाहीका उखु किसानले एक सातादेखि उखुको मूल्य माग्दै माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका छन् ।
चिनी मिल मालिकको कनेक्सन बालुवाटारमा
एक वर्षअघि पनि यहि सिजनमा किसानहरु चिनी मिल मालिकले पैसा दिएनन् भन्दै आन्दोलनमा उत्रेका थिए । तत्कालिन उद्योगमन्त्री मात्रिका यादवले भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गरेर कार्वाही गर्न गृहमन्त्रालयमा पत्र पठाए ।
गृहले पक्राउ सुरु गरेपछि चिनी मिल सञ्चालक बालुवाटार पुगे र प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा किसानलाई भुक्तानी दिने सहमति भयो । सहमतिमा लेखिएको अक्षर सुक्न भ्याएको थिएन । चिनी मिल सञ्चालक फरार भए । फेरी यसपाली पोहोरकै समस्या बल्झियो । फरक यत्ति हो गत वर्ष किसानहरुले आफ्नै ठाउँमा आन्दोलन गरेका थिए भने यसपाली कम्बल ओढेर काठमाडौं आए ।