राजविराज । तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत राजविराज नगरपालिकाले निर्माण शुरू गरेको सामुदायिक भवनमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ ।
६५ लाख रुपैयाँ लागतमा राजविराज–७ मा निर्माणाधीन उक्त भवनमा सम्झौता विपरीत इँटा प्रयोग भएको पाइएको हो । भवन निर्माणमा १ नम्बरको इँटा प्रयोग गर्ने सम्झौता भएको थियो ।
ठेकेदार कम्पनी धर्मराज निर्माण सेवाले सम्झौता र मापदण्डविपरीत निर्माण सामग्री प्रयोग भएको पाइएपछि स्थानीयले विरोध गरेका छन् । कम्पनीले निर्माणस्थलमा सूचना बोर्ड समेत नराखी मनलाग्दी ढंगले काम गर्दासमेत नगरपालिकाले बेवास्ता गरेको स्थानीय अनिल पेडिवालको आरोप छ ।
कम्पनीका प्रतिनिधि विनोद विहारीले अन्यत्र झार्नुपर्ने २ र ३ नम्बरको इँटा भूलवश सामुदायिक भवन निर्माण स्थलमा खसालिएको जिकीर गरे । निर्माणस्थलमा थुपारिएका इँटा सामुदायिक भवन निर्माणका लागि नभएको उनको भनाइ छ । विहारीले गल्तीको ढाकछोप गरेको भन्दै स्थानीयले छानबिन गरेर गलत गर्नेमाथि कारबाही गर्न माग गरेका छन् ।
स्थानीयको विरोधपछि राजविराज नगरपालिकाका सूचना अधिकारी मनोजकुमार यादवले भवन निर्माणस्थलको अनुगमन गरिने बताएका छन् । ‘केही दिनमै भवन निर्माणस्थलको अनुगमन गर्छौं,’ उनले भने, ‘निर्माणस्थलमा सूचना बोर्ड समेत राख्न लगाउँछौं ।’