About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद

ठाकुर र महतोको प्रस्ताव महेन्द्र र राजकिशोरद्वारा ठाडै अस्वीकार

खोज केन्द्र शुक्रबार, आश्विन ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी (जसपा)भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा पनि विवादकै कारण केन्द्रीय समिति गठनमा ढिलाइ भइरहेको छ ।

जसपा विधानमा ७ सय १ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । विवादकै कारण दुई वटा नामावली तयारी भइरहेको जसपा स्रोतको दाबी छ । बबरमहलस्थित राजपाको कार्यालयमा पटक पटक बसेको शीर्ष नेताहरूको बैठकमा सहमति हुन नसक्दा दुई वटा नामावली तयारी भइरहेको स्रोतको दाबी छ ।

तत्कालीन राजपा नेपालका तर्फबाट केन्द्रीय सदस्य चयन गर्न अध्यक्षमण्डलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र राजकिशोर यादवसहितको बैठक गत सोमबार बसेको थियो । तर, यी चार नेताका बीचमा सहमति जुट्न सकेन ।

महेन्द्र, राजकिशोर र अनिलकुमार झाले ठाकुर र महतोको कोटाबाट घटाएर अन्य चार नेताको कोटा बढाउनुपर्ने प्रस्ताव गरेका छन् । ठाकुर र महतोको कोटाबाट घटाएर महेन्द्र र शरदचन्द्र भण्डारीलाई ५२÷५२, अनिल र राजकिशोरलाई ३८-३८ हुनुपर्ने प्रस्ताव असन्तुष्ट समूहले राख्दै आएको छ ।

छलफलमा अनिल र भण्डारी सहभागी भएनन् । जसपा नेतृ एवं पत्नी डा. डिम्पल झाको उपचारका लागि अनिल नयाँ दिल्लीमा छन् ।

यस्तै, भण्डारी बिरामी भएकाले घरमै आराम गरिरहेका छन् । भण्डारीले दुईमध्ये जुन प्रस्तावमा सहमति भए पनि आफू त्यसैमा सन्तुष्ट रहेको बताउँदै आएका छन् । ठाकुर र महतो आफूहरूको तत्कालीन पार्टीको संगठन गाउँगाउँसम्म रहेकाले सोहीअनुसार सदस्य संख्या अरूभन्दा बढी हुुनुपर्ने अडानमा छन् ।

दुई पार्टी एकीकरणपश्चात् बनेको जसपा कार्यकारिणी समितिमा समेत ठाकुर र महतोले मनोमानी गरेको आरोप महेन्द्र, अनिल र राजकिशोरले लगाउँदै आएका छन् । जसपा अध्यक्षसमेत रहेका ठाकुर र वरिष्ठ नेता महतोले पूर्वसहमतिअनुसार सदस्य संख्या आफूहरूका लागि नछुट्याएको आरोप लगाउँदै छुट्टै नामावली तयार गर्ने असन्तुष्ट नेताहरूले जनाएका छन् ।

तत्कालीन राजपाको केन्द्रीय सदस्य ८ सय ६१ थियो । तर, अहिले उसले ३ सय ५० केन्द्रीय सदस्य छान्नुपर्ने भएकाले नेतृत्वलाई मिलाउन सकस भएको हो । समाजवादीको केन्द्रीय सदस्य ४ सय ३१ रहेको थियो । केही निष्क्रिय तथा केही दोहोरो जिम्मेवारीमा रहेकाले उसलाई केन्द्रीय सदस्य छान्न सजिलो छ ।

साउन अन्तिम साता सम्पन्न भएको जसपा कार्यकारिणी समितिको बैठकले जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउन पाँच सदस्यीय पदाधिकारीलाई सचिवालय निर्माण गर्दै जिम्मेवारी दिएको थियो ।

जसपामा अहिले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । यही पाँच जना पदाधिकारी रहने गरी सचिवालय बनाइएको हो । सचिवालयलाई आवश्यक गृहकार्य गरेर जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन तथा नेताहरूको वरीयता टुंगो लगाउन अधिकार दिइएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात पार्टी एकिरण गरेर जसपा घोषणा भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]