भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्ध लड्न २ हजार थान भाइल रेम्डेसिभिर उपहारस्वरुप प्रदान गरेको छ ।
भारत सरकारकोतर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त औषधी हस्तान्तरण गरेका हुन् । कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको हो ।
यसअघि प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र आईसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ ।
अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउने छ ।
निकटतम मित्र तथा छिमेकीको हैसियतले कोरोना महामारी विरुद्धको लडाईमा भारत, नेपाल सरकार र नेपालीको साथमा रहेको भारतीय दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।