घुमुवा प्रहरीकै सेटिङमा तस्करीको ‘ट्रान्जिट’ बन्यो रुपन्देही
काठमाडौं, ३० भदौ । भारतसँगको सीमा खुला भएकै कारण नेपालमा यतिबेला कोरोना महामारी बढेको छ । अझै पनि सीमा क्षेत्रमा अवैध आवातजावत रोकिएको छैन । प्रहरीसँगको आर्थिक लेनदेनकै आधारा यस्ता धन्दा चलिरहेका छन् ।
पैसा लिएर भारतीयलाई छिराएको आरोपमा बाराका एसपी दिगबिजय सुवेदी गत महिना कारबाहीमा परे । अन्य जिल्लामा पनि तस्करीदेखि भारतीय छिराउने धन्दा रोकिएको छैन ।
सशस्त्र प्रहरीका एसपीको संरक्षणमा बर्दियाबाट ठूलो मात्रामा तस्करी भइरहेको रिपोर्ट हेडक्वार्टर पुगेको छ । बर्दियाका सशस्त्र प्रहरीका एसपी नरबहादुर राउतले दुई घुमुवा परिचालन गरी तस्करी गर्दै आएका छन् । सशस्त्र प्रहरी वरिष्ठ हबल्दार रतन आचार्य र भुपेन्द्र खड्का एसपी राउतका घुमुवा हुन् । एसपीकै निर्देशनमा घुमुवाद्वयको संलग्नतामा काठ, खसिबोका तथा अन्य सामनको तस्करी मौलाएको भन्दै प्रधानमन्त्रीको सचिबालय , गृह मन्त्रालय तथा सशस्त्र प्रहरी मुख्यालयसम्म उजुरी परेको छ ।
आफूलाई अब्बल ठान्ने र सानो काम गरेर ठुलै काम गरें भनेर फुर्ति गर्ने सशस्त्र प्रहरीका ५ नम्बर प्रदेश प्रमुख डिआइजी किशोर प्रधानसमेत एसपीको बदमासीमा मौन देखिएका छन् । यस्तो धन्दामा उनको पनि सरक्षणको आश.का गरिएको छ । बिगत १० बर्ष देखि घुमुवा बसेका रतन आचार्यको सुर्खेतमा र भुपेन्द्र खड्काको बर्दिया सदरमुकाममा अबैध आर्जनबाट बनाइएका बंगला, घडेरी तथा खेत जोडिसकेको स्रोत बताउँछ । अहिले पुनः लकडाउनको मौका छोपेर एसपी राउत आफैं ती बद्नाम घुमुवा परिचालन गरेर अवैध असुली धन्दामा लागेका छन् । तराईका अन्य केही जिल्लामा कार्यरत सशस्त्र प्रहरीका एसपीहरुउपर समेत छानबिन भइरहेको स्रोत बताउँछ ।
घुमुवा प्रहरीकै सेटिङमा तस्करीको ‘ट्रान्जिट’ बन्यो रुपन्देही
सशस्त्र प्रहरी र नेपाल प्रहरीका घुमुवाको मिलेमतोमा रुपन्देही तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । जिल्लाका सानाठूला सबै किसिमका नाकाबाट तस्करसँग घुमुवा प्रहरीले लाइन मिलाइ भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् । कोरोना भाइरसको महामारी बाबजुत पनि जिल्लामा अचाक्ली तस्करी हुने गरेको छ ।
तस्करहरुसँग असुलीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घुमुवा टोली नै परिचालन गरेका छन् । कानूनतः घुमुवा प्रहरी परिचालन गर्न पाइँदैन । तर, रुपन्देहीमा भने सशस्त्र र नेपाल प्रहरीले सूचना संकलनका नाममा घुमुवा प्रहरी परिचालन गरी असुली गर्दै आएका छन् । सशस्त्रका घुमुवाले तस्करीसँग असुल्न्छन् भने नेपाल प्रहरीका घुमुवाले यौनधन्दा चलाउने होटलदेखि तस्करहरुसँग असुली गर्छन् ।