डा ज्ञानेश्वरप्रसाद (जिपी) सिंहको उपचारका क्रममा त्रुटि र कमजोरी भेटिएपछि नेपाल मेडिकल काउन्सिलले उपचारमा संलग्न युनिभर्सल मेडिकल कलेजका चिकित्सकलाई कारबाही गरेको छ।
काउन्सिलले उपचारमा संलग्न रहेका एक चिकित्सकलाई एक वर्षका लागि इसोफेजियल इन्डोस्कोपी गर्न नपाउने र उक्त विषयको तालिम लिई त्यसको प्रमाण काउन्सिलमा पेस गरेपछि मात्र इसोफेजियल इन्डोस्कोपीको प्रक्रिया गर्न पाउने निर्णय गरेको छ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले उपचारमा संलग्न नाक, कान, घाँटी रोगका ती चिकित्सक (मृतक डा सिंहको परिवारको आग्रहमा उपचारमा संलग्न चिकित्सकको नाम गोप्य राखिएको) लाई कारबाहीको पत्र पठाएका छन्।
बिरामीको उपचारका क्रममा सरुको अवस्थादेखि नै संलग्न भएको र बिरामीको उपचारमा चिकित्सकबाट त्रुटि, कमजोरी भएको व्यहोरा विज्ञ टोलीले प्रतिवेदनमा समेत उल्लेख गरिएको परिप्रेक्ष्यमा उक्त चिकित्सकको व्यक्त स्पष्टीकरणमा पुष्टि हुने गरी यथेष्ट प्रमाणहरु संलग्न हुन नसकेको’ पत्रमा उल्लेख छ, ‘काउन्सिलको पूर्ण बैठकमा निर्णय भए बमोजिम सचेत गराउँदै एक वर्षका लागि इसोफेजिएल इन्डोस्कोपी नगर्न र सो विषयको तालिम लिई काउन्सिलमा पेस गर्ने निर्णय भएको छ।’
डा ज्ञानेश्वरप्रसाद सिंहको युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा त्रुटि र कमजोरी हुँदा स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि थप उपचारका लागि काठमाडौं ल्याउनु परेको थियो। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा डा सिंहको मृत्यु भएको थियो। युनिभर्सलमा उपचारका क्रममा भएको कमजोरीकै कारण डा सिंहको मृत्यु भएको काउन्सिलको छानबिनका क्रममा देखिएको हो।
काउन्सिलले छानबिनपछि एक जना चिकित्सकलाई कारबाही गरे पनि उक्त उपचार प्रक्रियामा संलग्न अर्का चिकित्सकलाई कारबाही नगरेको भन्दै मृतक डा सिंहका छोरा प्रज्वल सिंहले बाँकीलाई पनि कारबाही र कलेजलाई पनि आवश्यक अनुसार कारबाहीको माग गरेका छन्।
प्रज्वल भन्छन–
‘हामीले अझै पूर्ण रुपमा न्याए पाइसकेका छैनौं। उपचारमा संलग्न अर्का डाक्टरलाई कारबाही भएको छैन भने कलेजलाई पनि आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने खालको कारबाही लगायतका काम हुन बाँकी छ,’ उनले भने ‘यसका साथै हामीले उचित क्षतिपूर्ति पनि पाउनुपर्छ।’
काउन्सिलका अनुसार डा सिंहको उपचारमा संलग्न एनेस्थेसियाका अर्का चिकित्सकसँग स्पष्टीकरण सोधिएको छ। ती चिकित्सकले बुधबार काउन्सिलमा स्पष्टीकरण दिएको काउन्सिलका एक सदस्यले जानकारी दिए।
काउन्सिलले युनिभर्सल मेडिकल कलेजलाई विभिन्न प्रणाली सुधार गर्न, स्वास्थ्य सेवा प्रभावकारिताका व्यवस्थित प्रोटोकल तथा निर्देशिका बनाई लागू गर्न र बिरामी एवं स्वास्थ्यकर्मीबीचको सम्बन्धलाई सुमधुर बनाइराख्न निर्देशन समेत दिएको छ।