About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
सम्झनामा राजा वीरेन्द्र

भागवत खनाल सोमबार, पौष १४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

मनको दर्द न उनले कसैलाई भनें, न भन्न मिल्थ्यो न त्यसको कुनै समाधान थियो, न अरू कसैले महसुस नै गथ्र्याे । न कोही थियो जसलाई सुनाइयोस्, न कोही थियो जो सुनोस् । सबै सिकायत गर्ने मात्र थिए, दर्द बुझ्ने कोही थिएन । न कुनै मलम न कुनै औषधि, न कुनै डाक्टर न कुनै अन्तरंग आत्मीय मित्र । छातीभरि पीडा थिए जो कहिल्यै प्रकट भएनन् । दारुण चित्कार जो भित्रै दबेर जीवनसँगै समाप्त भए । दुनियाँको नजरमा सारा भरिभराउ थियो । किन्तु हृदयको अतल गहिराइमा असीम रिक्तता र अपूरणीय घाउ । सायद उनी त्यस्ता वैभवशाली घरमुली थिए जसले श्रीमती, छोरा, भाइ र कुटुम्बको इच्छा सुन्नुपथ्र्याे । मनसाय बुझ्नुपथ्र्याे । विरोधाभासी माग पूरा गर्नुपथ्र्याे । उनले सबैलाई सुन्नुपथ्र्यो । उनको सुन्ने कोही थिएन तथापि भव्य एवं ओजस्वी व्यक्तित्व र अपार दैहिक सुन्दरता, पहिरन, मुस्कान, हेराइ, हिँडाइ र वाणी सबै मधुर र आकर्षक । यी अरू कोही थिएनन् । जघन्य र वीभत्स वंशनासका सिकार नेपाली राजा वीरेन्द्र थिए । आफू सधंै हाँसिरहने उनी दुनियाँलाई बलीन्द्रधारा रुवाएर गए ।

उनको बारेमा हजारौंले लेखे । १०औं हजारले एक झलक पाउन व्याकुल हुँदै घन्टौं ऐच्छिक प्रतीक्षा गरे । सयौं समर्थक र भक्त दर्शनभेटका लागि तड्पे । उनलाई भेट्न आलोचक पनि लालायित भए । भेटेर आउने सबै प्रभावित भए । बाहिरी असुरक्षाबाट जोगाउन भनी तैनाथ हजारौं संख्याको सेना भित्रको शत्रुबाट जोगाउन असमर्थ भयो । उनको जघन्य हत्यामा लाखौंले विलाप गरे । उनको जीवनकालमा कतिपयले कटु आलोचना र निन्दा पनि गरे । परन्तु त्यो आलोचना उनको व्यक्तिगत बानीबेहोरा, व्यवहार र अहंकारबारे थिएन । दम्भ, धूर्तता र छलकपटबारे थिएन । कटुवाच्य र घोचपेचबारे थिएन । थियो त केवल उनको शासनकालका राजकीय विषयमा ।
इटन कलेजका विद्यार्थी उनलाई सीमित राजतन्त्रको महŒव थाहा थियो । संसदीय पद्धतिको मर्म थाहा थियो । किन्तु उनको रगतमा प्रजातन्त्र भिजेको थिएन । उनको वरिपरिको वातावरण प्रजातन्त्र र उदारवादको पक्षमा थिएन । सायद उनमा आफ्ना ‘पुर्वजले आर्जन गरेको मुलुक’ को राजनीतिक प्रणाली आफ्नै इच्छा मुताबिक चल्नु स्वाभाविक महसुस पनि थियो । पृथ्वीनारायणका उत्तराधिकारीमध्ये आफ्नै आँट र निर्णयबाट शासन गर्न समर्थ राजा उनका पिता महेन्द्र मात्र थिए । अरू सबै राजा केवल स्वार्थी दरबारी तŒवका ‘मोहरा’ मात्र ।
पृथ्वीनारायणका छोरा प्रतापसिंह श्रीमती, तान्त्रिक र भारदारका पुतली बने । धुन्धुकारी रणबहादुर शाह परम्पराविरुद्ध प्रतिलोम विवाह गरी रानी कान्तमतिको आकांक्षाको परिपूरक मात्र भए । उनी अनेक बितन्डा गरेर अन्त्यमा आफ्नै विमातृ भाइको हातबाट मारिए । राजा गिर्वाण १९ वर्षको किशोर अवस्थामै दिवंगत भए । आफ्नो कुनै स्वत्व र व्यक्तित्व नभएका राजा राजेन्द्र रानीहरूको चक्रब्यूहमा परी आफ्नै घरभित्र पराजित भए । चतुर जंगबहादुरबाट उनलाई विदेश पलायन गर्न बाध्य मात्र पारिएन, अलौको असफल प्रयासपश्चात् भक्तपुर दरबारमा आजीवन ‘शाही कैदी’का रूपमा जीवन बिताउन विवश पारिए ।

७ सालको ‘क्रान्ति’पछि नेपालमा प्रजातन्त्रको बहाली भयो । राजा त्रिभुवन उदार राजाका रूपमा प्रख्यात भए । किन्तु उनले २०१० साल माघ सात गते गरेको शाही घोषणाले ७ सालको क्रान्तिलाई नै प्रकारान्तरले खारेज गरिदियो । यो शाही घोषणाले राजा त्रिभुवनमा अकस्मात् शक्तिको भोक जागेको प्रमाणित गर्छ । घोषणामा भनिएको थियो ‘अन्तर्निहित राजकीय सत्ता तथा शाही विशेषाधिकारद्वारा कार्यकारिणी, व्यवस्थापिका तथा न्यायसम्बन्धी सर्वोच्च अधिकार राजामा नै रहने हाम्रा महान पुर्खाको पालादेखि नै चलिआएको हाम्रो मुलुकको परम्परा र प्रथा हो ।
हाम्रा विशिष्ट पूर्वाधिकारीद्वारा सुम्पिएको अख्तियारअनुसार सो अधिकार केही समयका लागि प्रधानमन्त्रीहरूद्वारा प्रयोग गरिएको थियो । ७ फागुन २००७ को हाम्रो घोषणाद्वारा सो अख्तियारी झिकिएको हुनाले अब सबै क्षेत्रमा सर्वोच्च अधिकार हामीमा नै छ ।’ यो घोषणा भएको दुई दिनमै प्रधानन्यायालय ऐनमा संशोधन गरी ‘यस ऐनमा रहेको कुनै कुराले पनि श्री ५ महाराजाधिराजको न्यायसम्बन्धी अधिकार लुप्त गर्ने, सीमित गर्ने तथा घटाउने छैन’ भन्ने बेहोरा लेखियो । राजा महेन्द्रले त निर्वाचित सरकारको विघटन गरी नयाँ परिपाटीको स्थापना नै गरे ।

वीरेन्द्र राजा हुँदा एकातर्फ यस्तो शाही ‘विरासत’ थियो भने अर्कातर्फ समयले कोल्टो फेरिसकेको थियो । पूर्वकालमा नेपाल सीमाभित्रको सारा सम्पत्ति राजाको हुन्थ्यो । नेपाल र कम्पनी सरकारबीचमा युद्ध भई सन्धि हुँदा नेपाल र अंग्रेजबीच नभई नेपाली राजा र कम्पनी सरकारबीच भएको थियो । यस्तो विरासत रहेका वीरेन्द्रको समयमा संसार अर्कै भइसकेको थियो । संसारबाट धेरै राजतन्त्र विलुप्त भइसकेका थिए भने कतिपय देशमा संवैधानिक राजतन्त्रको स्थापना हुँदै थियो ।
उनले राज्यारोहण गर्दा देशको जनमत तीन भागमा विभक्त थियो । राजालाई भगवान् एवं राजकीय सत्ता र शाही विशेषाधिकारलाई मान्ने, राजालाई भगवान् नमानी सीमित राजतन्त्रसहितको संवैधानिक राजतन्त्र मान्ने र कुनै पनि प्रकारको राजतन्त्र स्वीकार नगर्ने । वीरेन्द्र राजा भएपछि यी राजाले अवश्य पनि केही घोषणा गर्नेछन् भन्ने आशा गरेर बसेका बहुदल समर्थकको आशामाथि उनले तुषारापात मात्र गरेनन् । संविधान संशोधन गरी पञ्चायती व्यवस्थालाई झन् बलियो बनाउने प्रयत्न गरे । आफ्नो शासनकालको पूर्वाद्र्धमा राजा वीरेन्द्र निरंकुशतातर्फ नै उन्मुख भएको पाइन्छ ।

वीरेन्द्रले आफ्नो जीवकालमा चार किसिमका राजनीतिक परिस्थितिसँग साक्षात्कार गरेका थिए । २८ सालदेखि ३६ सालसम्मको पिताले छाडेर गए मुताबिकको प्रणाली, जनमत संग्रहपश्चात्को तुलनात्मक रूपमा उदार पञ्चायती प्रणाली, ४६ सालमा प्रारम्भ भएको संवैधानिक राजतन्त्रसमेतको बहुदलीय शासन प्रणाली र ५२ सालदेखिको माओवादी सक्रियताको समय । एउटा राजाले आफ्नो छोटो राजकीय जीवनमा यत्रो उतारचढाव झेल्नु सानो कुरा थिएन । आफ्नो शासकालमा राजा वीरेन्द्र आफ्नो व्यक्तित्वलाई बडो प्रखर र प्रभावशाली बनाउन सफल भएका थिए । उनले आफ्नो राज्याभिषेकको समयमा विश्वका ६० जना राष्ट्रप्रमुख र सरकार प्रमुखको सामुन्ने प्रस्तुत गरेको शान्तिक्षेत्र प्रस्ताव युगान्तकारी थियो । संसारका धेरै देशले यसको समर्थन गरेका थिए । संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले त्यस प्रस्तावको मुक्तकण्ठले समर्थन र प्रशंसा गरेका थिए । असंलग्न देशहरूको शिखर सम्मेलनमा राजा वीरेन्द्रले बडो प्रभावकारी सहभागिता जनाएका थिए । सार्कको स्थापनामा उनको उदाहरणीय भूमिका थियो ।

प्रमुख रूपमा दरबारिया वातावरण र किञ्चित उनकै

‘शाही महŒवाकांक्षा’का कारणले जनमतसंग्रह अपेक्षित रूपमा धाँधलीरहित र स्वतन्त्र हुन पाएन । देशमा बहुदलीय पद्धति स्थापना भएपछि राजा वीरेन्द्रको क्रियाकलाप सापेक्ष रूपमा सौम्य र सन्तुलित थियो । तथापि ५२ सालपछि विद्रोही पक्षसँग गरेको भनिएको कथित अघोषित गठबन्धनले दिवंगत राजाको नैतिक चरित्र र इमानमा प्रश्न खडा ग¥यो ।
यो कथित गठबन्धनबारे कुरा आउँदा उनी जीवित थिएनन् । परन्तु यो एउटा अनुत्तरित प्रश्न र रहस्यका रूपमा रहिरहनेछ । विद्रोही पक्षले आफ्नो पृष्ठपोषण हुने जुनसुकै कुरालाई उपयोग गर्नु नितान्त स्वाभाविक थियो । किन्तु राजाले नै राजतन्त्रको सत्यानास गर्न उद्दत शक्तिसँग घाँटी जोड्नु आश्चर्यको घटना हो । यदि यो परिघटना सत्य हो भने उनी आफ्नै विरासत खतम पार्ने कार्यमा फँसेको र चुकेको मान्नुपर्नेहुन्छ । यसबाट उनी बहुदलीय शक्तिलाई विद्रोहीको माध्यमबाट ठेगान लाउने मनसायले प्रेरित भएको देखिन्छ ।

राजा वीरेन्द्र शिक्षित र देशको वस्तुस्थितिबारे पूर्ण जानकार थिए । उनी इमानदारीसाथ नेपाली जनताको भलो र समृद्धि चाहन्थे । उनी राष्ट्रिय हितलाई धरौटी राखेर विदेशी शक्तिसँग झुक्न चाहन्नथे । पञ्चायतको समयमा उनी प्रत्येक वर्ष पालैपालो विकास क्षेत्रका दुर्गम गाउँसम्म पुग्थे । जनतामाझ उनी अत्यन्तै सुन्दर सम्बोधन गर्थे । उनी उपस्थित जनतालाई आफ्नो व्यक्तित्व, मुस्कान र वाणीले मन्त्र मुग्ध पार्थे । त्यो भ्रमणको ठूलो गरिमा थियो । किन्तु उनका नजिकका व्यक्ति र परिवारका सदस्यले त्यसलाई ‘शाही तामझाम’ मा सीमित पारिदिए । उनी ‘प्यारा राजा’ थिए । सायद उनलाई समस्त जनमानस आफ्नो भक्त र समर्थक रहेको महसुस हुन्थ्यो । तर, यो आंशिक सत्य मात्र थियो । उनी देशको तत्कालीन समग्र परिस्थितिको जानकारी राख्थे । देशभित्रका गतिविधि र घटनाबारे सूचित थिए तर सुसूचित थिएनन् । उनमा बाह्य ज्ञान थियो । किन्तु आन्तरिक प्रज्ञा र समयलाई चिन्ने चैतन्य थिएन ।

 

राजा वीरेन्द्र कुनै महान् र उम्दा शासक होइनन् । तर, उनले यो मुलुकलाई कुनै युगान्तकारी बैगुन पनि दिएर गएनन्

प्रायः जुनसुकै शासक र शक्तिमा रहेको व्यक्तिको चेतना अन्धो हुन्छ भन्ने सामान्य सिद्धान्त छ । शक्तिमा रहेका व्यक्तिको वरिपरि सर्वदा र सवै देशमा एउटा स्वार्थी र ‘छट्टुको ‘कोटरी’ हुन्छ । गणतन्त्र भएको मुलुकमा यस्तो समूह शक्तिमा भएको व्यक्तिकै कथित हितैसी र समर्थकहरूको झुन्डका रूपमा रहेको हुन्छ । यस्तो समूहलाई आधुनिक गणतन्त्रमा ‘सल्लाहकार’ को नामले चिनिन्छ । वंशानुगत शासन व्यवस्था भएको देशमा त्यो झुन्ड पति या पत्नी, भाइ, छोरा, कुटुम्ब र सैनिक अधिकारीको रूपमा रहेको हुन्छ । यिनीहरू एउटा अदम्य किल्ला बनाएर बसेका हुन्छन । यिनीहरू शासकलाई अनेकौं, लोभ, डर, आतंक र त्रास देखाएर भ्रमित पार्न खप्पिस हुन्छन् । धेरैजसो शासक आफ्नो स्वविवेकले निर्णय गर्ने क्षमता राख्दैनन् । सल्लाहकार झुन्डका हरेक व्यक्तिको आफ्नै स्वार्थ हुने हुँदा उनीहरूको परामर्श पनि फरक हुन्छ । यस्तै, अवस्थामा हो, शासक विचलित हुने र गल्ती गर्ने खतरा बढ्ने ।
राजा वीरेन्द्रको वरिपरि पनि सायद ‘आफ्ना’हरूको दुर्दमनीय समूह थियो । चाहे जनमतको बखतमा होस्, बहुदलीय संविधान जारी हुने बखतमा होस् या विद्रोही शक्ति हावी भएको बखतमा, यिनलाई कुनै न कुनै रूपमा विचलित पारिएको थियो । सायद आफ्नो घेराबन्दीबारे उनी जानकार थिए । उनको कुल परम्परा, संस्कृति, ‘शाही व्यक्तित्व’ र प्रतिष्ठाका कारण साधारण शासकले जस्तो आफ्ना मर्महरू पोख्ने सुविधा उनलाई थिएन । उनको वरिपरि स्वतः सिर्जित ‘भारदारी’ थियो । रानी, भाइहरू, आमा, दिदीबहिनी, कुटुम्ब र सैनिक अधिकारीहरूको विशाल घेराबाट बाहिर जाने अवस्थामा सायद थिएनन् उनी । उनको शासनकालको निरंकुुश भनिएको बेलामा धूर्त पञ्च र परिवारको घेराले विचलित पारे । संवैधानिक राजतन्त्रको समयमा पनि उनी परिवार, राजनीतिक दल, उक्साउने तŒव, विद्रोही शक्ति, भारत, चीन, अमेरिका र युरोपियन शक्तिको घेरामा परिरहे ।

इतिहासले धेरै शासक जन्माउँछ । ती सबै आउँछन्, जान्छन् र इतिहासको गर्भमा विलीन भएर लुप्त हुन्छन । शासकहरू समकालीन राष्ट्रका निर्णायक शक्ति हुने हुँदा उनीहरूका क्रियाकलापले जनताको सौभाग्य या दुर्भाग्यको रेखा कोर्छ । राजा वीरेन्द्र कुनै महान् र उम्दा शासक होइनन् । तर, उनले यो मुलुकलाई कुनै युगान्तकारी बैगुन पनि दिएर गएनन् । एउटा राजाका रूपमा उनले यस मुलुकका खातिर जे गर्न सक्दथे त्यो गरेर गए । किन्तु उनमा जुन शालीनता, नम्रता, विनयशीलता, धैर्य र सहनशीलता थियो, त्यो चाहिँ युगान्तकारी छ । उनले कसैलाई निन्दा, गालीगलोज, खिसीट्युरी, उपहास र कटाक्ष गरेनन् । शासकका रूपमा त उनको मूल्यांकन इतिहासले गर्दै जाला । तर, एउटा व्यक्तिका रूपमा उनका सद्गुण आजका नेताहरूले पनि सिक्नु जरुरी छ ।

 

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल
मिथिला बिहारीमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]