बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भनिएका पाँच अभियुक्तमध्ये चौंथो आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले आज पक्राउ गरेको हो।
हत्याका पाँच आरोपीमध्ये चार जना आरोपीलाई पक्राउ गर्न प्रहरीलाई १३ वर्ष लागेको छ। आज दिउँसो साढे २ बजे कोल्हवी नगरपालिका–४ सपही टोलबाट पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।
यसअघि प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरिसकेको छ। बारा ईनर्वासिरा गाविस (साविक)–९ बस्ने मनेजर गिरीलाई १९ असोज २०६५ र बाराकै साविक खोपवा गाविस–८ बस्ने राम एकवाल सहनीलाई २१ पुस २०६५ मा पक्राउ परेका थिए। उनीहरू दुवै जनालाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ।
त्यस्तै, बारा साविक गडहल–५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार अघिल्लो वर्ष, २५ फागुन २०७६ मा पक्राउ परेका थिए। उनलाई बारा जिल्ला अदालतमा २९ फागुन मा पेश गरिएकोमा अदालतको आदेशले पूर्पक्षका लागि कारागार चलान भएका छन्।
बारा जिल्ला अदालतको १७ जेठ २०६८, पुनरावेदन अदालत हेटौंडाको १६ साउन २०६९ र सर्वोच्च अदालतको २० पुस २०७३ को फैसलाले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबिमा राखिएको थियो ।