नेपाल-भारत सीमामा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले प्रदेश २ मा थप ७३ वटा बोर्डर आउट ? पोस्ट (बीओपी) स्थापना गर्ने भएको छ ।
सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कृष्णभक्त ब्रम्हचार्यले शुक्रबार प्रमुख नाका वीरगन्जको इनार्वमा स्थापना भएको बीओपीको उद्घाटन गरे ।
‘सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको हो,’ उनले भने, ‘ यहाँबाट हुने सबै किसिमका अवैध क्रियाकलाप नियन्त्रणका लागि बीओपी थप्दै जाने हाम्रो योजना छ ।’ उनका अनुसार पहिलो चरणमा १२ वटा, दोस्रोमा २४ र तेस्रो चरणमा ३७ वटा बीओपी स्थापना गरिने छ । प्रदेश २ मा हालसम्म ५० वटा बिओपी रहेका छन् ।
डिआइजी ब्रम्हचार्यका अनुसार सीमामा हुने तस्करी, लागू औषध कारोबार, हातहतियार ओसारपसार र अन्तरदेशीय अपराध नियन्त्रणका लागि थप बीओपी स्थापना गर्न लागिएको हो ।
कोरोना भाइरस संक्रमण सुरु भएदेखि सशस्त्र प्रहरीले नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ (एफओपी) समेत स्थापना गरेको छ ।
उनका अनुसार अवैध रुपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टाइनमा पठाउने काम एफओपीले गर्दै आएको छ ।