रोपेको धानमा रोग फैलिएर खेतमै सुक्न थालेपछि प्रदेश २ का किसानहरू चिन्तित भएका छन् । बाढीपछि कोरोनाको समेत सामना गर्दै आएका उनीहरू जसोतसो लगाइएको धानबाली फौजी कीराले सखाप पार्न थालेपछि थप चिन्तित बनेका हुन् ।
प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धान किसान यतिखेर धान जोगाउन लागिपरेका छन् ।
एउटा विपद सकिन नपाउँदै बालीमा अर्काे विपद नयाँ रोगका रूपमा आएका कारण धानको बोट नै पहेंलो भएर सुक्न थालेपछि किसानहरू आफ्नो मेहनत अनि लगानी डुब्ने चिन्तामा परेका हुन् ।
रोपाइँको समयमा रासायनिक मलको चरम अभाव थियो । जसोतसो ऋण लिएर खेती गरेकोमा नयाँ रोगका कारण धानको बिरुवा पहेंलो भएर खेतमै सुक्न थालेको किसान जोगी मुखियाले बताए । बालीमा रोग लाग्न थालेपछि वर्षभरका लागि खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको उनले बताए । बाढीले क्षति पुर्याएर पनि आधा बचेको धान फौजी कीराले गर्दा पहेंलो भएर सुक्न थालेपछि रातको निद्रा हराएको स्थानीय किसान रामएकवाल महतोले बताए ।
कृषि ज्ञान केन्द्र राजविराजका पीपीओ दिनेश प्रसाद यादवका अनुसार खेतमा प्रयोग गरिने रासायनिक मल डीएपी, युरिया, पोटासलगायत सही मात्रा नमिल्दा बालीको जरा नरम र कमजोर हुँदा कीराले आक्रमण गर्न थालेको हो । जहाँ मलको मात्रा मिलाएर हालेको छ, त्यस्ता खेतको धानमा रोगको प्रकोप नरहेको उनले बताए ।
किसानहरूमा प्राविधिक ज्ञानको कमी र कीराका लागि अनुकुल वातावरण भएका कारण फौजी कीराको प्रकोप बढी देखिएको उनको भनाइ छ ।
‘हाम्रा किसानहरू खेतीमा असन्तुलित मलको प्रयोग गर्छन्, कुनै हाल्दै नहाल्ने अनि कुनै आवश्यकता भन्दा बढी हाल्ने गर्दा पनि यो समस्या देखिन्छ’, उनले भने, ‘हामीले भन्दा भन्दै पनि यो प्रवृत्तिमा सुधार ल्याउन सकिएन ।’
रासायनिक मल डीएपी, युरिया, पोटास लगायत मलको सही मात्रा नमिल्दा बालीको जरा नरम र कमजोर भएको र कीराले आक्रमण गर्न थालेको उनको भनाइ छ । अर्कोतर्फ ठूलो वर्षापछि खडेरी प¥यो भने पनि यस्तो कीराले दुःख दिने गरेको यादवले बताए । ‘अहिलेको मौसम पनि कीराका लागि अनुकुल छ’, उनले थपे, ‘बादल लाग्ने तर पानी नपर्ने तथा बादल लागेर धुम्म पर्ने मौसममा गवारो कीराको प्रकोप बढी हुन्छ ।’
यसका लागि स्थानीय तहका कृषि प्राविधिकहरूसँग सल्लाह लिन उनले सुझाव दिएका छन् । ज्ञान केन्द्रले किसानहरूको सहजताका लागि जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिरहेको यादवले जानकारी दिए । ‘बत्तीको सहायताले पनि यो कीरा मार्न सकिन्छ’, उनले भने, ‘कीरालाई बत्तीमा आकर्षित गर्ने र तल विषादी प्रयोग गरी मार्ने एउटा सहज उपाय हो ।’
प्रदेश २ का कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले कीरा लागेको धानखेतको निरीक्षण गरेपछि रोकथामका लागि कृषि ज्ञान केन्द्रमा सम्पर्क राख्न भनी किसानलाई सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । तर, किसानले अहिलेको विषम् परिस्थितिका कारण सदरमुकाम राजविराजसम्म पुग्न समस्या भएको र कर्मचारीले फोन समेत नउठाउँदा औषधिको व्यवस्थापन गाउँमै मिलाइदिन आग्रह गरेका छन् ।