संक्रमितले अस्पताल भरिए, उपचार कहाँ गर्ने ?
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर प्रदेश २ का जिल्लाहरूमा बढिरहेको छ । धनुषामा त अहिलेसम्म ११ जनाको ज्यान नै गइसकेको छ । ३ सयभन्दा बढी त सक्रिय संक्रमित छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमप्रसाद भट्टराई कोभिड–१९ अस्पताल भरिभराउ हुनु र समुदायमा संक्रमण उकालो लाग्नुले चुनौती थपिएको बताउँछन् ।
धनुषाको कोरोना संक्रमण अवस्था र यसविरुद्धको लडाइँका चुनौतीबारे प्रजिअ भट्टराईले यसरी सुनाएः
धनुषामा केही दिनअघि सम्म ट्राभल हिस्ट्री भएकामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । कहीँ नगएका मानिसमा संक्रमण थिएन । तर अहिले समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । कहीँ नगएका मानिस कोरोनाका बिरामी बनिरहेका छन् ।
कोरोनाका कारण धनुषामा अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ भने ३ सयभन्दा बढी ‘एक्टिभ केस’ छन् ।
महामारीलाई फैलन नदिन हामीले सतर्कता बढाइरहेका छौं । अहिले पनि धनुषा लकडाउनकै अवस्थामा छ । लकडाउनपछि संक्रमण केही कम भएजस्तो देखिएको छ । तर समुदायस्तरमै संक्रमण फैलिइसकेकाले खतरा उत्तिकै छ । त्यसैले भोलिसम्म रहेको लकडाउनको अवधि बढाउने कि भन्ने सोचमा हामी छौं । यद्यपि, अहिलेसम्म यसबारे केही निर्णय गरिसकेका भने छैनौं । यहाँको वस्तुगत अवस्था र केन्द्रले गर्ने निर्णय हेरेर अघि बढ्ने सोचमा छौं ।
संक्रमणको बढ्दो ग्राफ र सीमित अस्पतालका कारण उपचारमा समस्या देखिन थालेको छ । कोभिड–१९ उपचार प्रयोजनका लागि खडा गरिएका सबै अस्पताल भरिएका छन् । उपचार गर्ने ठाउँ छैनन् ।
यही बेला जिल्लामा मिर्गौलाका डायलासिस गर्नुपर्ने बिरामी पनि थपिएका छन् । खासगरी विदेशबाट आएका अधिकांशमा किड्नीको समस्या बढेको छ । तर डायलासिसका लागि हामीसँग ७ वटा मात्र बेड छन् । डायलासिसका लागि आवश्यक पूर्वाधार नभएकाले यो पनि कोरोना जत्तिकै पेचिलो बनेको छ । किड्नीकै रोगीलाई पनि संक्रमण बढी भइरहेकाले कसरी यो संकटसँग जुध्ने भन्ने भइरहेको छ ।
संक्रमणविरुद्धको लडाइँमा जिल्लाका स्थानीय तहसँग मिलेर काम भइरहेको छ । पहिले स्थानीय तहले गाउँमा क्वारेन्टाइन बनाएका थिए । प्रदेश सरकारले अहिले हरेक स्थानीय तहमा आइसोलेसन सेन्टर राख्न भनेको छ । तर कार्यान्वयन भएको छैन । जिल्लाका १८ वटै स्थानीय तहका प्रमुखसँग संवाद गरेर कोरोनाविरुद्धको लडाइँमा लाग्ने सोच बनाएको छु ।
(प्रजिअ भट्टराईसँग ‘हेलो प्रजिअ’ स्तम्भअन्तर्गत शनिबार बिहान गरिएको कुराकानी)