कोरोना संक्रमित थपिँदै, सरकारलाई कमिशनकै चिन्ता
कोरोनाविरुद्धको संघर्षमा प्रदेश २ सरकारले गत आर्थिक वर्षमा २ अर्बभन्दा बढी रकम खर्च गरे पनि भेन्टिलेटर खरीद अझै गर्न सकेका छैन । सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० थान भेन्टिलेटर र आईसीयूको अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्नका लागि मन्त्रालयसँग पटक पटक बजेट माग गर्यो । तर, हालसम्म बजेट उपलब्ध नगराइएको केन्द्रका निर्देशक डा. प्रमोदकुमार यादवले बताए ।
‘तीनओटा प्याकेजमा स्वास्थ्य सामग्री खरीद गर्न टेन्डर आह्वानसहितका करीब ५० प्रतिशत काम पूरा भइसकेको छ,’ उनले भने ‘केन्द्रबाट असार २१ गते हामीले मन्त्रालयलाई पत्राचार गरेर बजेट माग पनि गरेका हौं ।’
भेन्टिलेटरसहितका उपकरण खरीद गर्न प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउन वैशाख ७ गते निर्णय गरेको थियो । तर प्रदेश सरकारले अझै भेन्टिलेटर खरीद गर्न सकेको छैन ।
कोरोना संक्रमित थपिँदै, सरकारलाई कमिशनकै चिन्ता
प्रदेश २ मा कोरोना संक्रमितको संख्या सात हजार नाघिसकेको छ । प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमित थपिँदै गएका छन् । तर सरकारले स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको उचित व्यवस्थापन गर्न सकेको छैन । जसकारण संक्रमित बिरामी स्तरीय उपचारबाट वञ्चित भएका छन् भने महामारी भयावह बन्न सक्ने भन्दै सर्वसाधारण चिन्तित बनेका छन् ।
प्रदेश २ का सरकारी अस्पतालमा ९ वटा मात्र भेन्टिलेटर छन् । त्यसमध्ये ४ वटा मात्रै कोभिड संक्रमितको उपचारमा प्रयोग गरिएको छ । निजी अस्पतालमा भेन्टिलेटर भए पनि कोभिडका बिरामीलाई भर्ना नलिएको बुझिएको छ । जनकपुर प्रादेशिक अस्पतालमा ५ वटा भेन्टिलेटर भए पनि कोभिड अस्पतालको आइसोलेसनमा एउटा मात्रै उपलब्ध छ ।
अस्पतालका प्रवक्ता डा. जामुन प्रसाद सिंहले आईसीयूमा १ थान मात्र भेन्टिलेटर रहेको बताए । भेन्टिलेटर र आईसीयू भरिएका कारण थप सिकिस्त बिरामीलाई भर्ना गर्न समस्या भएको उनको भनाइ छ । चिकित्सक हामी संग प्रयाप्त रहेपनि स्वास्थ्य सामग्री अभाव रहेको उनले बताए । तर, महोत्तरीको जलेश्वर अस्पतालमा आइतबारदेखि ५ शøयाको आइसियु सञ्चालन भए पनि त्यहाँ दक्ष जनशक्ति अभावले पूर्ण सेवा प्रवाह हुन सकेको छैन ।
अस्पतालको भेन्टिलेटरसहितको आइसियूमा एकजना मात्रै चिकित्सक रहेको कारण पूर्णरुपमा सेवा प्रवाह गर्न कठिनाइ भएको अस्पतालका प्रमुख सुरेश पाण्डेले बताए । ‘वैशाख मसान्तमा चिकित्सकका लागि विज्ञापन अस्पतालले गरेको थियो तर, कुनै चिकित्सकले विज्ञापन भरेनन्,’ उनले भने, ‘दक्ष चिकित्सक जलेश्वर अस्पतालमा अभाव छ ।’
प्रदेश सरकारसँग एमडी एनेस्थेसिया, एमडी इन्टरनल मेडिसिन, तालिमप्राप्त नर्सिङ स्टाफलगायत माग गरे पनि उपलब्ध नगराएको गुनासो उनलेगरे । यस्तै, राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको एउटा भेन्टिलेटर जडान नभई थन्किएको छ । भौतिक संरचनाको कमी र अभावले भेन्टिलेटर जडान नगरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले बताए । ‘भेन्टिलेटर सञ्चालन गर्नका लागि छुट्टै विभाग नै बनाउनुपर्छ र हामी त्यसका लागि सक्षम छैनौं,’ उनले भने, ‘तर, कोभिडका गम्भीर प्रकृतिका बिरामीका लागि निजी अस्पतालसँग समन्वय गरेर भेन्टिलेटर उपलब्ध गराउने व्यवस्था मिलाउँदै छौं ।’