महोत्तरी : जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आइसियू सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा सुरु भएको हो ।
भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले पूर्ण सेवा प्रवाह हुनेमा अस्पतालले नै आशंका जनाएको छ ।कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई जुनसुकै वेला भेन्टिलेटर आवश्यक पर्न सक्ने भएकोले जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको आइसियू सञ्चालनमा आएको हो ।
अस्पतालको आइसोलेसनमा हाल ४२ जना पुरुष उपचाररत छन् । यसमध्ये चार–पाँचजनामा कोरोनाको लक्षण देखिएको छ । अस्पतालको भेन्टिलेटरसहितको आइसियूमा एकजना मात्रै चिकित्सक छन् । यसकारण आइसियू पूर्ण रूपमा सञ्चालन गर्न नसकिने जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताए । उनले प्रदेश सरकारसँग एमडी एनेस्थेसिया, एमडी इन्टरनल मेडिसिन, तालिमप्राप्त नर्सिङ स्टाफलगायत माग गरे पनि उपलब्ध नगराएको बताए ।
महोत्तरीमा शनिबार मात्र १० जना कोरोनाको संक्रमित थपिएका छन् । महोत्तरीमा हालसम्म एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने दुईजनाको मृत्युसमेत भइसकेको छ ।