नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाविरूद्धका तीन वटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् ।
कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने उनले बताए ।
देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै शनिबार उनले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी दिए । प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक बृद्धि भइरहेको उनले उल्लेख गरे ।
‘अहिले भारतमा एउटा हैन, दुईटा हैन, तीन वटा खोपको परीक्षण चलिरहेको छ, चाँडै नै सकारात्मक नतिजा सार्वजनिक हुने बैज्ञानिकहरुले बताएका छन्, त्यो परीक्षण सफल भएपछि ठूलो मात्रामा औषधीको उत्पादन गर्ने तयारी पनि भइरहेको छ,’ उनले भने ।
भारतमा कोरोनाको महामारी सुरु हुदाँ एउटा मात्रै प्रयोगशाला रहेको स्मरण गर्दै प्रधानमन्त्री मोदीले अहिले त्यो संख्या बढेर १४ सयभन्दा बढी प्रयोगशाला बनिसकेको जानकारी दिए । कोरोनाविरुद्धको खोप तथा उपचारका लागि एक सय तीन करोड भारतीय रुपैया कोषमा राखिएको उनले बताए ।
कोरोनाविरुद्धका खोप उत्पादन सम्वन्धी महत्वकांक्षी सपना चाडै नै व्यवहारमा देख्न सकिने उनको भनाई थियो । प्रधानमन्त्री मोदीले केही महिनामा ठूलो मात्रामा एन ९५ मास्क, पिपिई भेन्टिलेटरलगायतका सामग्रीहरु भारतले विश्व बजारमा निर्यात गर्ने पनि दाबी गरे ।