About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेश २: समाजिक मन्त्री साहको छोराको सेटिंगमा करोडौँ भ्रष्टाचार

यस्तो बेला झन लुट्न छाडेनन्

खोज केन्द्र मंगलबार, साउन २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

विश्व नै कोरोना विपत्तिमा परेको बेला प्रदेश नम्बर २ मा भने राज्यको ढुकुटी सिध्याउने कुम्ल्याउने खेल हुँदै छ । 

कोरोना भाइरस (कोभिड–१९) को स्वास्थ्य सुरक्षा उपकरण दोब्बर तेब्बर मुल्यमा खरिद गरेको भन्दै प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह र उनका कान्छो छोरा सुमित साहको चौतर्फी आलोचना भइरहँदा पार्टी भित्र समेत बिरोध हुन थालेको छ ।

भ्रष्टाचार र महामारीमा मन्त्रीकै सेटिंगमा कमिशन आतंक हर्कत गरेको भन्दै समाजिक यमन्त्रीको विरोध भइरहेको छ । 

‘सरकारले लिस्टिङ गरेका अधिकांश सामानमा महंगो मुल्य राखिएको छ । सर्जिकल मास्कदेखि ग्लोब्स, चस्मा, गाउन, थर्मोमिटर, पिसिआरमा समाजिक मन्त्रीको छोराको कमिशन सेटिंगमा चर्को मुल्यमा खरिद गरेको छ ।

 प्रदेस २ को समाजिक विकास मन्त्रालय, प्रदेस स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरले आरटी–पीसीआर उपकरण खरिद गर्दा न्यूनतम मूल्य प्रस्ताव गरेका फर्मसँग खरिद सम्झौता नगरेर धेरै बढी मूल्य प्रस्ताव गरेको मेडी सोलुसन प्रालि काठमाडौंसँग स्वास्थ्य सामग्री खरिद गरिएको छ । जनकपुरको राईन सप्लायर्सले न्यूनतम दरमा उपकरण उपलब्ध गराउने प्रस्ताव पेश गरेको भएपनि राइनको प्रस्ताव रद्द गरिएको छ ।

बायो सेफ्टी क्याबिनेट क्लास–२ उपकरण २ थान ८ लाख ५० हजार रुपैयाँको दरमा १७ लाख रुपैयाँमा मेडी सोलुसनबाट किनेको छ तर राईन सप्लायर्सले ७ लाख रुपैयाँ प्रतिथानको दरले १५ लाख रुपैयाँमा नै उपकरण दिने प्रस्ताव गरेको थियो । केन्द्रमार्फत प्रदेश सरकारले २ लाख रुपैयाँ बढी मूल्यमा बायो सेफ्टी क्याबिनेट क्लास–२ उपकरण किनेको छ ।

पीसीआर क्याबिनेट  ८ लाख ५० हजार रुपैयाँको दरमा २ थान खरिद गरिएको छ तर राईन सप्लायर्सले ४ लाख रुपैयाँको दरमा नै हुड उपकरण बिक्री गर्ने दर प्रस्ताव गरेको थियो । चर्को मूल्यको प्रस्ताव स्वीकार गरेर हुडलाई ९ लाख रुपैयाँ बढी मूल्यमा खरिद गरिएको छ ।

रेफ्रीजिरेटेड सेन्ट्रीफ्यूज (हाई स्पीड) उपकरण २ वटा ८ लाख रुपैयाँको दरमा खरिद गरिएको छ तर राइन सप्लायर्सले ५ लाख रुपैयाँको दरमा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । यसरी सरकारले ६ लाख रुपैयाँ बढी खर्च गरेर मेडीसोलूसन खरिद गरेको छ ।

फ्रीजर–२० उपकरण ४ थान २ लाख ५० हजार रुपैयाँको दरमा १० लाख रुपैयाँमा खरिद गरिएको छ तर राइन सप्लायर्सले १ लाख रुपैयाँ प्रतिउपकरण उपलब्ध गराउने प्रस्ताव गरेको थियो । प्रदेश सरकारले ६ लाख रुपैयाँ बढी मूल्य तिरेर फ्रीजर–२० किनेको छ ।

सरकारले फ्रीजर–८० उपकरण ८ लाख रुपैयाँको दरमा २ वटा १६ लाख रुपैयाँमा किनेको छ तर राईन सप्लायर्सले ४ लाख रुपैयाँ प्रतिफ्रीजर प्रस्ताव गरेको थियो । फ्रीजर–८० खरिदमा १२ लाख रुपैयाँ बढी खर्च गरिएको छ ।

आरटी–पीसीआर आरटी किट ३ हजार ६०० रुपैयाँको दरमा २ हजार थान किट ७२ लाख रुपैयाँमा खरिद गरिएको छ तर राईन सप्लायर्सले २ हजार २०० रुपैयाँ मात्र प्रतिकिट मूल्य प्रस्ताव गरेको थियो । कम मूल्यमा किट उपलब्ध हुँदाहुँदै सरकारले २८ लाख रुपैयाँ बढी तिरेर किट किनेको छ ।

प्रदेश सरकारले २५ लाख ७५ हजार रुपैयाँको दरमा २ वटा चीनको डील्याब नामक आरटी–पीसीआर मशिन खरिद गरेको छ तर नेपाली बजारमा डील्याब मशिनको मूल्य १५ लाख रुपैयाँ मात्र रहेको जनकपुरमा ल्याब सम्बन्धी उपकरणहरू आपूर्ति गर्ने आरएस सर्जिकल हाउसका सञ्चालक सुजीत साहले बताए । ५१ लाख ५० हजार रुपैयाँमा २ वटा मशिन खरिद गर्दा प्रदेश सरकारलाई बजार मूल्यभन्दा २१ लाख ५० हजार रुपैयाँ बढी परेको छ ।

बजारमा १ लाख ५० हजार रुपैयाँमा उपलब्ध रहेको ५० लिटरको अटोक्लेभ होरीजोटल मशिन प्रदेश सरकारले ५ लाख ७५ हजार रुपैयाँको दरमा किनेको छ । कूल ३ लाख रुपैयाँमा २ वटा उपकरण खरिद हुनसक्ने अवस्थामा ८ लाख ५० हजार रुपैयाँ बढी मूल्य तिरेर प्रदेश सरकारले ११ लाख ५० हजार रुपैयाँमा २ वटा उपकरण किनेको छ ।

स्वाब संकलन गर्न प्रयोग गरिने भाइरस ट्रान्सपोर्ट मिडियम ९भीटीएम० ४०० रुपैयाँको दरमा २ हजार थान कूल ८ लाख रुपैयाँमा खरिद गरिएको छ तर भीटीएम ३०० रुपैयाँको दरमा नेपालमा उपलब्ध रहेको आरएस सर्जिकल हाउसका सञ्चालक संजीत साहले बताए । कूल ६ लाख रुपैयाँमा किन्न पाइने भीटीएम २ लाख रुपैयाँ बढी खर्च गरेर सरकारले किनेको छ ।

प्रदेश सरकारले आरएनए एक्स्ट्राक्सन रिएजेन्ट समेत ५०० रुपैयाँको दरमा २ हजार थान १० लाख रुपैयाँमा किनेको छ तर रिएजेन्टको बजार मूल्य ३५० रुपैयाँ मात्र रहेको साहले बताए । कूल ७ लाखमा आउने रिएजेन्ट ३ लाख रुपैयाँ बढी तिरेर कूल १० लाख रुपैयाँमा खरिद गरिएको छ ।

प्रदेस सरकारले माइक्रो सेन्ट्रीफ्यूज ९हाई स्पीड० २४ हजार ५०० रुपैयाँको दरमा २ थान ४८ हजार रुपैयाँमा किनेको छ । २५ हजार रुपैयाँको दरमा २ थान भोटेक्स मिक्सचर, ३८ हजार रुपैयाँको दरमा ३० थान मल्टी च्यानेल पिपेट, ६ हजार ५०० रुपैयाँको दरमा ६० थान भ्यारियबल साइजका पिपेट समेत किनेको छ ।

पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामग्री सहितका उपकरण सरकारले २ करोड ४९ लाख ७० हजार रुपैयाँमा किनेको छ । ३२ लाख ४६ हजार १०० रुपैयाँ भ्याट समेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँ परेको छ तर यी सबै सामग्री राईनले कूल २ करोड ६९ लाख ९५ हजार ७०० रुपैयाँमा उपलब्ध गराउन प्रस्ताव गरेका थिए, उनको बोलपत्र रद्द गरिएको छ ।

स्वास्थ्य सामग्री किन्न मन्त्रीको छोराको सेटिंग

चैत्र २० गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी अस्पताल वीरगञ्ज र सगरमाथा अस्पताल राजविराजका लागि ३ सेट आरटी–पीसीआर मशिन खरिद गर्ने निर्णय गरयो । तर ती उपकरण खरिदका लागि सूचना प्रकाशित गर्नुभन्दा पहिले नै संघीय सरकारले नारायणी अस्पताल वीरगञ्जका लागि पीसीआर मशिन पठाएपछि जनकपुर र राजविराजका लागि २ थान मात्र पीसीआर मशिन खरिद गर्ने भन्दै केन्द्रले २ थान पीसीआर मशिन खरिद गर्ने निर्णय गरेको थियो ।

केन्द्रका सूचना अधिकारी श्रवणकुमार नायकले वैशाख १४ गते प्रदेश सरकारबाट बजेटको स्रोत सुनिश्चित भएपछि वैशाख १७ गते गोरखापत्र पत्रिका र सामाजिक विकास मन्त्रालयको वेबसाइटमा समेत ५ दिने बोलपत्र (टेन्डर) को सूचना प्रकाशित गरिएको बताए ।

५ दिने म्यादको अन्तिम दिन वैशाख २२ गते ३ वटा आपूर्तिकर्ताले टेन्डर दर्ता गराएका थिए । युनिक ट्रेडर्स प्रालि र मेनका इन्टरप्राइजेज जेभी, राईन सप्लायर्स जनकपुर, मेडी सोलूसन इन्टरनेसनल गरी ३ वटा फर्मको आवेदन फारम दर्ता गरिएको नायकले बताए ।

दर्ता भएका ३ वटा फर्ममध्ये राईन सप्लायर्सले प्रस्ताव गरेको मूल्य सबैभन्दा कम रहेको थियो तर महंगो प्रस्ताव स्वीकृत गरियो । सूचना अधिकारी नायकले कम मूल्य प्रस्ताव गर्ने फर्मको आवश्यक कागजात पूरा नभएको र प्राविधिक रुपमा मूल्यांकन समितिले छनोट नगरेको बताए ।

‘हामीले १४ वटा आइटम एकैसाथ प्याकेजमा नै खरिद गर्नका लागि टेन्डर आह्वान गरेका थियौं, सूचना अधिकारी नायकले भने, ‘राईन सप्लायर्सका सम्पूर्ण कागजात नै पूरा थिएन भने युनिक तथा मेनका जेभीले ५ वटा आइटम मात्र आपूर्ति गर्न सकिने बताएको थियो ।

तर राईन सप्लायर्सका सञ्चालक सलामत राईनले आफूले कागजात पूरा भए पनि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कागजात स्वीकार नगरेको दाबी गरे ।

‘सबैभन्दा कम दर सहितको टेन्डर हामीले भरेका थियौं तर हामीलाई अचानक सम्झौता गर्ने बेलामा प्राविधिक सम्बन्धी कागजात अपुरो छ भनेर बखेडा झिके, राईनले भने, ‘हामीले लगेका थप कागजातहरू केन्द्रले स्वीकार नै गरेन, कागजात जम्मा गर्न लाग्दा समेत बुझ्न मानेनन् ।

छुट्टाछुट्टै उपकरण जसले सस्तोमा उपलब्ध गरायो, उसैबाट किन्न सकिने विकल्प हुँदाहुँदै पनि मन्त्रीको छोराको सेटिंगमा एकमुष्टको शर्त राखेर चर्को मूल्य तिरेको छ । 

सस्तोमा स्वास्थ्य उपकरण उपलब्ध हुँदाहुँदै महंगोमा किनेर प्रदेश सरकारको बजेट स्वाहा किन गरियो होला ? 

‘केन्द्रका निर्देशक डा। प्रमोदकुमार यादव, सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र सामाजिक विकास मन्त्री नबलकिशोर साह सुडीका छोरा सुमित साह सहितको मिलेमतोमा नै सरकारले जानीजानी बजारको चलनचल्ती मूल्यभन्दा धेरै महंगो दरमा सामान किनेको छ, सामाजिक विकास मन्त्रालयका एक जना उच्चपदस्थ कर्मचारीले भने, ‘यसरी सरकारी बजेटबाट चर्को मूल्य तिरेर सामान किनेर मन्त्री, सचिवदेखि कर्मचारीसम्मलाई कमिसनबापत रकम दिइएको छ । सस्तोमा सामान दिनेले कमिसन दिन नसक्ने भएकाले प्रस्ताव रद्द गरिएको हो ।

केन्द्रका निर्देशक डा यादव विगतमा स्वास्थ्य निर्देशनालयका निर्देशक हुँदा नै मेडीसोलुसनबाट सामान खरिद गर्ने गरेका कारण फर्मसँग उनको साँठगाँठ पुरानै रहेको स्रोतको दाबी छ । 

निर्देशक यादवले सामाजिक विकास मन्त्री नबल किशोर साह सुडीका छोरा सुमित साहसँग मेडिसोलुसनका सञ्चालकलाई चिनजान गराउनुका साथै निकट बनाएको मन्त्रालयका ती कर्मचारी बताउँछन् । 

सामाजिक विकास मन्त्रालयका ठूला खरिद र योजनामा अप्रत्यक्ष रुपमा मन्त्री सुडीका छोरा सुमितले नै सक्रियता देखाउने गरेको स्रोतको दाबी छ । 

पीसीआर मशिन खरीद गर्दा देशमा पनि अभाव भएका बेला स्वाभाविक रूपमा महंगो भएको केन्द्रका निर्देशक डा यादवले तर्क गरे तर संस्तोमा उपकरण उपलब्ध गराउने फर्मबाट खरिद गरिएन ।

प्रदेश सरकारले खरिद गरेका उपकरण चिनियाँ कम्पनीका हुन् ।

‘खरिद गरिएका चिनिया उपकरण न त धेरै राम्रो क्वालिटीका छन्, न त कम गुणस्तरको नै छ, ‘बीच–बीच खालको मशिन छ । 

किनिएका मशिनको भ्यालिडिटी परीक्षण गर्न ३०० जति किट नोक्सान भएको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]