कोरोना भाइरस समुदायस्तरमा फैलिसकेको छ संक्रमितको संख्या दिनप्रतिदिन तिब्र गतिमा बढिरहेको छ तर सरकारले लकडाउन थप्नु बाहेक संक्रमित बिरामीको लागि ठोस उपकरणहरुको व्यवस्थापन गर्न सकिरहेको छैन ।
कोरोना संक्रमित बिरामी उपचारको लागि आईसीयू वार्डमा भेन्टिलेटर महत्वपूर्ण उपचार सामाग्री मानिन्छ तर प्रदेश २ का नागरिकले भेन्टिलेटर नपाएर ज्यान गुमाउन बाध्य भएको छ ।
भेन्टिलेटर किन्न प्रदेश २ का सरकारले निर्णयनै नगरेको होइन गत बैशाख १८ गतेनै मन्त्रीपरिषद दुई चरणमा ५० वटा भेन्टिलेटर किन्ने निर्णय गरेको थियो तर कमिसनको चासोपासो नमिलेपछि अहिलेसम्म किन्न सकिएको छैन ।
पहिलो चरणमा ३० वटा भेन्टिलेटर किन्न बोलपत्र (टेण्डर) समेत आह्वान गरियो । तर त्यो मन्त्रीपरिषदले टेण्डर आह्वानको ४ महिना बितिसक्दा पनि कमिशनकै चक्करमा किनिएको छैन ।
प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्न र प्रत्येक जिल्लामा भेन्टिलेटर सहितको आइसीयु कक्षको व्यवस्था गर्नका लागि रकम समेत निकासा गरिसकेको बुझिएको छ ।
प्रदेश दुुईको सामाजिक विकास मन्त्रालयले गत असार १२ गते टेण्डर आह्वान गरेको थियो त्यो टेण्डर पार्न समाजिक विकास मन्त्री नवल किशोर साहकै मिलोमतोमा जम्मा गर्न ८ वटा फर्मले त्यो टेन्डर खरिद गरेका थिए मन्त्रीकै मिलोमतोमा टेन्डर खरिद भएको समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएपछि त्यो टेण्डर नै रद्द गरिएको कुरा मन्त्रालयका एक कर्मचारीले नाम खोल्ने शर्तमा बताए ।
यता सामाजिक विकास मन्त्री नवलकिशोर साहले टेण्डरमा कुनै संस्थाको दरखास्त नपरेकाले त्यो स्वतः रद्द भइ फेरी अर्को टेण्डर आह्वान गर्न प्रक्रियामा लागिएको बताएका छन । तर मन्त्रालयका एक कर्मचारीका अनुसार मेडिको, होस्पिटेक, मेडी सोलुसन गरी ८ कम्पनीले तीनवटै बोलपत्रमा प्रस्ताव दर्ता गराएका थिए ।
मन्त्री साहका छोरा सुमित साहले ठूलै कमीशनको चलखेलमा दर्खास्त परेको कम्पनी मध्ये काठमाडौँको होस्पिटेड ईन्टरप्राईजेजलाई टेण्डर दिन चाँजोपाँजो मिलाएका थिए । होस्पिटेड ईन्टरप्राईजेजका संचालक विशाल पण्डितसँग जनकपुर स्थित होटलमा कयौं पटक मन्त्रीका छोरा सुमित, सचिव डा. रामप्रसाद घिमिरे र स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादव सहितका व्यक्तिको बैठक समेत भएको थियो श्रोतले बताए ।
भेन्टीलेटर खरीदमा करोडौको चलखेल सम्बन्धी समाचार बाहिरिएपछि मन्त्रीका छोरा सुमितले खरीद प्रक्रियामा निष्क्रिय भएपछि त्यो टेण्डर नै रद्द गरिएको श्रोतको भनाई छ ।
श्रोतका अनुसार ४ लाख रुपैयाँ पर्ने भेन्टिलेटरको मूल्य १५ लाखको दरले ३० वटा किन्ने कुरो थियो । चार लाख रुपैयाँ पर्ने भेन्टीलेटर १५ लाखमा खरीद गर्दा ३ करोडभन्दा बढीको चलखेल हुने थियो । तर संयोगले समाचार बाहिरिएपछि मन्त्रालयलाई टेण्डर नै रद्द गर्नुपरयो ।