About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
बालरोगको उपचारमा दक्ष जनशक्तिको कमी

खोज केन्द्र शुक्रबार, पौष ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

बालबालिकाको स्वास्थ्यमा अन्य उमेर समूहका मानिसको तुलनामा छिट्टै संक्रमण हुन्छ । बालबालिकामा देखिने विभिन्न संक्रमणले उनीहरूलाई अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था समेत आउन सक्ने डा. विराज पराजुली बताउँछन् । प्रस्तुत छ, बालरोग, बालबालिकामा देखिने श्वासप्रश्वासको समस्या, उपचार, बच्ने उपाय लगायत विषयबारे ‘पिडियाट्रिक क्रिटिकल केयर’मा नेपालको पहिलो डीएम (डक्टर अफ मेडिसिन) समेत रहेका बालरोग विशेषज्ञ डा. पराजुलीसँग गरेको कुराकानीको सार :

कस्ता रोगले बालबालिकालाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने अवस्था आउँछ ?
बालबालिकालाई मस्तिष्क, श्वासप्रश्वास, पेट, मिर्गौला आदि अंगको समस्या र सामान्यतया सबै प्रकारका संक्रमण हुँदा अवस्था अनुसार आकस्मिक र सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गर्नुपर्ने हुन सक्छ । मौसम अनुसार बालबालिकामा फरक समस्या देखिने गर्छन् । जस्तै, मलेरिया, कालाज्वर, स्क्रफटाइफस, डेंगी, टाइफाइड आदि रोग वर्षाको समयमा देखिन्छन् । यस्तै चिसो मौसममा निमोनिया, स्वाइनफ्लू, श्वासप्रश्वासको समस्या र मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । यस्तो कुनै पनि समस्या हुुुुँदा बालबालिकाको स्वास्थ्य अवस्था अनुसार आकस्मिक कक्षमै लैजानुपर्ने हुन सक्छ ।

पछिल्लो समय जटिल रूपमा देखिएको बालरोग कुन हो ?
पछिल्लो समय बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्या बढी मात्रामा देखिएको छ । यसबाहेक मस्तिष्कको संक्रमण, मुटुको समस्या र पेटको संक्रमण पनि जटिल बन्दै गएको पाइन्छ ।

बालबालिकामा श्वासप्रश्वास सम्बन्धी के कस्ता समस्या आउँछन् ?
बालबालिकामा श्वासप्रश्वास सम्बन्धी मुख्यतः भाइरल संक्रमण बढी हुन्छ । भाइरल संक्रमणमा मुख्यतः ब्रोन्क्रियोलाइटिस्ट, निमोनिया र दम आदि रोग देखिन्छन् ।

बालबालिकालाई श्वासप्रश्वासको समस्या किन हुन्छ ?
साना बालबालिकामा सबै अंगको पूर्ण विकास भइसकेको हुँदैन । जब उनीहरू हिँडडुल गर्न थाल्छन्, तब बाहिरी वातावरणसँग सम्पर्कमा आएर यस्ता समस्या देखिन्छन् । बालबालिकाको शरीरका सबै प्रणालीको विकास भइनसकेको हुँदा संक्रमणको सम्भावना अधिक हुन्छ । तर संक्रमण हुँदैमा सबै भाइरल संक्रमण खतरा हुन्छ भन्ने होइन । ५ वर्षमुनिका बालबालिकालाई १ वर्षको अवधिमा ८ देखि १० पटकसम्म रुघाखोकी मात्रै लाग्यो भने त्यो पनि सामान्य मानिन्छ । धेरै अभिभावक यो अवस्थामा आत्तिएर आउने गरेका छन् । तर रुघाखोकीकै कारण श्वासप्रश्वासमा समस्या आयो भने तत्काल विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुपर्छ । बच्चामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिँदा खानेकुरा नखाने, आमाको दूध नचुस्ने, सुस्त देखिने, स्वाँ–स्वाँ गर्ने, कोखा हान्ने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा छिट्टै उपचार शुरू गर्नुपर्छ । तर सामान्य ज्वरो, रुघाखोकी आदि देखिँदा आत्तिनु पर्दैन ।

बालबालिकामा श्वासप्रश्वास सम्बन्धी जन्मजात रोग पनि देखिन सक्छन् ?
बालबालिकामा वंशाणुगत कारण श्वासप्रश्वास सम्बन्धी रोग देखिन्छ भन्ने भ्रम पनि कतिमा देखिन्छ । तर त्यस्तो हुँदैन । विविध कारण जन्मिँदै मुटु तथा रक्तनली र फोक्सोको (बनावटमा) समस्या लिएर जन्मिएका बच्चालाई भने श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ ।

श्वासप्रश्वास सम्बन्धी समस्या ल्याउन सक्ने रोगहरू के के हुन् ?
रुघाखोकी, टन्सिल लगायत घाँटीभन्दा माथि देखिने रोगले श्वासप्रश्वास सम्बन्धी खासै समस्या देखिँदैन । तर घाँटीभन्दा मुनि नसा, निमोनिया, रक्तनलीको समस्या, मुटु र फोक्सोका बनावटी समस्या आदिले श्वासप्रश्वास सम्बन्धी रोग ल्याउन सक्छ ।

बालबालिकालाई संक्रमणबाट कसरी बचाउन सकिन्छ ?
बालबालिकालाई सबैभन्दा पहिले सबै  खोप अनिवार्य लगाउनुपर्छ । जाडो महीनामा न्यानो लुगा लगाइदिने, रुघाखोकी लागेका मानिसको सम्पर्कमा नल्याउने, आवश्यक मात्रामा तरल पदार्थको सेवन गराउने आदि गर्नुपर्छ । विभिन्न भाइरसका खोप लगाउने आदि उपाय अपनाएर भाइरल संक्रमणबाट बालबालिकालाई टाढा राख्न सकिन्छ ।

नेपालमा बालरोगको उपचारको अवस्था कस्तो छ ?
करीब सबै प्रकृतिका बालरोगको राम्रो उपचार नेपालमा हुन्छ । तर नेपालमा बाल रोगसँग सम्बन्धी विशेषज्ञ डाक्टरको अभाव छ । काठमाडौंमै बालबालिकाका लागि छुट्टै दक्ष जनशक्तिको कमी छ । काठमाडौंभन्दा बाहिर त यो संख्या झनै न्यून छ । देशभर सरकारी बाल अस्पतालको रूपमा काठमाडौंमा एउटा मात्र (कान्ति बाल) अस्पताल छ । यसले मात्र देशभरका बिरामी धान्न सक्दैन । देशभर सरकारी बाल अस्पतालको व्यवस्था भएमा यस क्षेत्रमा धेरै सुधार आउँथ्यो ।

नेपालमा बालबालिकामा अन्य रोगको संक्रमणको अवस्था कस्तो छ ?
नेपालमा बालबालिकामा संक्रमणको दर उच्च छ । तापक्रम उच्च हुने ठाउँमा मलेरिया, कालाज्वर, टाइफाइड, डेंगी, स्क्रफटाइफस लगायतको संक्रमणको सम्भावना बढी हुन्छ । नेपालमा तराई क्षेत्रमा यस्ता रोगको संक्रमण बढी हुने गरेको छ । पछिल्लो समय डेंगीको प्रकोप फैलिँदा ५/६ हजारलाई यसको संक्रमण भएको तथ्यांक देखिएको थियो । यसको लक्षण शुरूमा देखिँदैन । त्यसैले यो दर अझ बढी हुनुपर्छ । बालबालिकामा डेंगी लगायतको संक्रमण भएमा विशेषज्ञ डाक्टरसँगै परामर्श लिनु र उपचार गर्नुपर्छ ।

सम्बन्धित

ताजा अपडेट
मधेसवादीको दोहोरो चरित्र: पहिला संविधान जलाउने, अहिले संविधान जोगाउने
धनुषाको मिथिला नगरपालिकामा पत्रकार संजाल गठन
जसपामा दुई धार, उपेन्द्र यादबलाई सिरहामा कालो झण्डा देखाउने चेतावनी

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]