About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
तराईमा राखीको ब्यापार शून्य

कमलेश ठाकुर सोमबार, साउन १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

गएको वर्ष यतिबेला जनकपुरधाम उपमहानगरपालिका–९ का रोशन साहलाई चुरापोते र राखीको व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो । पिडारीचोकस्थित उनको पसलमा साउन महीनामा प्रत्येक दिन ग्राहकको घुइँचो लाग्थ्यो । त्यसैले गतवर्ष यो सिजनमा उनले ६ जनासम्म स्टाफ राखेर व्यापार गरेका थिए । तर, यो वर्ष कोरोनाले गर्दा उनको पसल खाली छ । सिजनमै पसल खाली देख्दा अब आउने पर्वमा पनि यस्तै अवस्था रहला भन्ने चिन्ता उनको छ । ‘साउन १५ दिन बितिसक्यो र सोमवार रक्षा बन्धन पर्व छ । तर पहिलाको जस्तो व्यापार नै छैन,’ उनले भने, ‘न चुरापोते विक्री भएको छ, न त राखी नै ।’

गत असार १० गतेदेखि उनले पसल खोल्न थालेका हुन् । शनिवार उनको पसल पुग्दा दुईजना स्टाफ पनि खाली बसिरहेका थिए । पोते उन्ने एक स्टाफसँगै रोशन मोबाइलमा व्यस्त थिए । गएको १२ वर्षदेखि व्यापार गर्दै आएको आफूलाई यसपालि लकडाउनले गर्दा फाट्टफुट्ट ग्राहकमै चित्त बुझाउनु परेको उनले सुनाए । उनले प्रत्येक वर्ष व्यापारबाट उनले ५ लाख रुपैयाँसम्म कमाउँथे । तर यसपालि व्यापार शून्य भएकाले आम्दानी पन सुकेको उनले गुनासो गरे । ‘वर्षभरका लागि साउनमै कमाइ हुन्थ्यो । यसपालि कोरोनाले गर्दा तयारी पनि गरेनौं,’ उनले भने, ‘नत्र साउनका लागि २ महीनाअघि नै राता, हरिया, पहेँला माला र विभिन्न प्रकारको राखीको विक्री शुरू हुन्थ्यो ।’ सिजनमै व्यापार नभएपछि यसपालिको सामान त्यसै थन्किने उनको भनाइ छ ।

उनको पसलमा रहेका स्टाफ शंकर साहले आजभोलि ग्राहक कुर्दैमा दिन बित्ने गरेको बताए । अर्का व्यवसायी सरोज सिंह ग्राहक नभएपछि पसलमा सामान मिलाउँदै गरेका भेटिए । १५ वर्षदेखि यो व्यवसाय गर्दै आएका उनले लकडाउनले गर्दा व्यवसायमा निकै असर परेको बताए । ‘हरियो पोते र राखी बिक्नुपर्ने थियो,’ उनले भने, ‘अहिले त मानिसलाई दिनचर्या धान्नै गाह्रो छ ।

उपभोक्ताको क्रय क्षमता नभएकाले पनि व्यापार खस्किएको हो ।’ जानकी मन्दिर हुँदै राजदेवी मन्दिर जाने बाटोस्थित २० वर्षदेखि मालाको व्यापार गर्दै आएका अर्का व्यापारी सन्तोष मिश्रको पीडा पनि उस्तै छ । माला बनाउन बजारका अन्य पसलबाट उनलाई उन्ने काम मिल्थ्यो ।

घर परिवार यही कामबाट पाल्थे । तर यो वर्ष पसलमा ग्राहक नभएपछि माला उन्ने काम पनि नभएको उनले बताए । ‘अरू बेला साउनमा पसलमा ग्राहकको घुइँचो हुँदा माला उन्न भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने, ‘यसपालि खाली बस्नु परेको छ ।’

उनी तिलहरी, नौगेडीलगायत माला उन्ने गर्थे । एउटा माला उनेको रू. १५० देखि ५०० रुपैयाँ लिन्थे । दैनिक ६ ओटा माला उन्ने उनले लकडाउनका कारढा आफ्नो पेसा संकटमा परेको बताए । ‘अहिले त परिवार पाल्ने पैसा पनि उठ्दैन,’ माला उन्दै गरेकी उनको पत्नी निर्मला मिश्रले भनिन्, ‘अहिले त कोरोनाको डरले चुरा लिन पनि कोही आएनन् ।’

विगतका वर्ष साउनमा दिनको १५ हजार रुपैयाँसम्म व्यापार गर्ने उनले यसपालि ग्राहकको संख्या धेरै घटेको बताइन् । हिजोआज बोहनी गर्न पनि गाह्रो भएको उनले सुनाइन् । लकडाउनले गर्दा यसपालि पसलमा चुरा पनि थप्न नसकेको उनको भनाइ छ । उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले व्यापारीको समस्या उल्लेख गर्दै व्यापारीलाई राहत पुग्ने प्रक्रियामा लागेको बताए ।

व्यापारीलाई घर भाडा र कर मिनाहा गर्न सरोकारवालासँग छलफल भइरहेको उनको भनाइ छ । ‘व्यापारीलाई राहत मिल्ने विकल्प खोजिएन भने हजारौं पलायन हुने अवस्था आउँछ,’ उनले भने ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल
मिथिला बिहारीमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]