जनकपुरधाम । धनुषा र सिरहाको सीमा भएर बग्छ कमला नदी । नदीको पश्चिमपट्टि ठूलो संख्यामा मानिसको बसोवास छ । जिल्ला प्रशासन कार्यालय, धनुषाका अनुसार कमला नगरपालिका जिल्लाकै गहिरो ठाउँ हो । त्यहाँ हरेक वर्ष बाढीले ठूलो क्षति हुन्छ । गाउँका बासिन्दालाई जीउधन जोगाउनै मुश्किल हुन्छ ।
धनुषासहित देशका अधिकांश जिल्लामा गएको सोमवारदेखि वर्षा भइरहेको छ । कमला नगरपालिका–५ का मनोज साह ३ दिनदेखि निदाउन पाएका छैनन् । मुसलधारे वर्षापछि आउने भेलले बगाउने कि भन्ने चिन्ताले उनलाई सताएको छ । वर्षायाममा आकाशमा कालो बादल गर्जिंदा गाउँभर त्रास उत्पन्न हुने गरेको उनले बताए ।
‘बगरमा वास भएकाले बाढीले कतिबेला बगाउने हो भन्ने पिरलो छ,’ उनले भने, ‘झरी प¥यो कि रातभर जाग्राम बस्नुपर्छ । कतै खोला बस्तीमा पो आउँछ कि भन्ने डरले निदाउनै पाइँदैन ।’
धनुषाको उत्तरी भेग मिथिला नगरपालिका–९ सुन्दरपुरस्थित बडहरी खोला किनारमै छाप्रो बनाएर बस्दै आएकी सावित्री देवकोटाको कथा पनि उस्तै छ । उनको दिन राम्रै कट्छ । तर, साँझ पर्नासाथ त्रासको घण्टी बज्न थाल्छ । ‘कुन बेला पानी परेर बाढीले लैजान्छ कि भन्ने चिन्ताले सताइरहन्छ,’ उनले भनिन् ।
ढल्केवर बस्दै आएकी उनको परिवारले ऋणमा थिचिएपछि करीब अढाई वर्षअघि पूरै घरजग्गा बेच्नुपरेको थियो । भूमिहीन भएर कतै बस्ने ठाउँ नपाएपछि बाध्यतावश खोला किनारमै छाप्रो बनाएर बस्नुपरेको उनले सुनाइन् । घर बनाउने बेला खतरामुक्त रहे पनि २ वर्षदेखि आएको बाढीले कटान गर्र्दा उनको घर खोला सतहमै पुगिसकेको छ । ‘पानी पर्यो भने रातभर सुत्दैनौं,’ उनले भनिन्, ‘अगाडिबाट बगाउने हो कि पछाडिबाट कुनै ठेगान छैन ।’
मनसूनमा खाद्यान्न समस्या
धनुषाको उत्तरी भेग मिथिला नगरपालिका–९ बडहरी खोला किनारमै सुन्दरपुर गाउँ छ । यहाँ ६६ घर परिवार सुकुमवासीको बसोवास छ । करीब ११ वर्षअघि तत्कालीन माओवादी शान्तिवार्तामा आएपछि सातै दलको सहमतिमा यो बस्ती बनेको थियो । गाउँमा अधिकांश दलित तथा मुसहर समुदाय बस्छन् । ९९ प्रतिशत निरक्षर छन् । खोलामै बालुवा, गिट्टी चालेर, मजदूरी गरेर उनीहरूले दिनचर्या धानेका छन् । तर प्रत्येक वर्ष मनसून शुरू भएपछि बस्तीमा खाद्यान्न समस्या हुने गरेको छ । वर्षायाममा सधैं खाद्यान्न संकट हुने गरेको स्थानीय सुनील रामले बताए । ‘वर्षायाममा राजमार्गसँग हाम्रो सम्पर्क टुट्छ,’ उनले भने, ‘हुने खानेले पहिला नै खाद्यान्न ल्याएर राख्छन् । नहुने भोकै बस्नुपर्ने अवस्था आउँछ ।’
यस्तै गाउँमा स्कुल नभएकाले बर्खा लागेपछि सामान्य अवस्थामा समेत गाउँका सबै बालबालिका विद्यालय जान पाएका छैनन् । गाउँभन्दा करीब डेढ किलोमिटरको दूरीमा बेंगाडावरमा मात्र विद्यालय छन् । खोला तर्ने जोखिम त छँदै छ, स्कुल टाढा पनि छ । सडक पार गरेर जानुपर्दा गाडी दुर्घटनामा एक विद्यार्थीको ज्यान गएकाले पनि अरू विद्यार्थी वर्षायाममा विद्यालय जाँदैनन् ।
गाउँमा खानेपानीको समस्या समेत अत्याशलाग्दो छ । करीब ३ किलोमिटरस्थित तम्सी खोलाबाट गाउँलेले पाइप जोडेर पानी गाउँसम्म ल्याएका छन् । तर, धारामा मुश्किलले दिनमा आधा घण्टा पानी आउने गरेको स्थानीय दंगबहादुरले सुनाए । ‘ट्याङ्की पानीको सतहभन्दा धेरै माथि भयो । पानी नै धेरै आउँदैन,’ उनले भने, ‘पानी आउन छोड्यो भने खोलापारिबाट बोकेर ल्याउनुपर्छ ।’ थुप्रै जनप्रतिनिधिले खानेपानी समस्या समाधान गरिदिने सपना बाँडेको तर, कसैले पनि आफ्नो वाचा पूरा नगरेको गुनासो उनले गरे ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले स्थानीय तहसँग सहकार्य गरी वर्षायाममा हुने समस्या समाधानका लागि तयारी गरिरहेको बताए । जोखिम ठाउँमा रहेका मानिसलाई सुरक्षित ठाउँमा लैजाने र डुबान हुने अधिकांश ठाउँमा राहत वितरणको पूर्वतयारी भएको जानकारी दिए ।