तथ्याङ्कमा हेर्ने हो भने आर्थिक वर्ष २०७५-०७६ मा आर्थिक वृद्धिदर ७ प्रतिशत, मुद्रास्फीति दर ४.२ प्रतिशत, गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत र प्रतिव्यक्ति आय १ हजार ३४ अमेरिकी डलर रहेको अवस्था छ, तर व्यवहारमा भने गरिबलाई हातमुख जोर्न, मध्यमवर्गलाई आफ्नो दैनिक जीविकोपार्जन गर्न र धनीलाई सम्पत्ति लुकाउन गा¥हो भएको अर्थतन्त्रको अवस्था छ हाम्रो देशको ।
जनता सुत्दा भोकै सुत्छन्, तर उठ्दा एक्कासि आयस्तर बढेको नक्कली र चमत्कारिक विकासको तथ्याङ्क आउँछ ।
आर्थिक–सामाजिक रूपमा हेर्ने हो भने क्रसर उद्योगको आतंक, जग्गा दलालीहरू र भूमाफियाहरूको आतंक, नाफाखोर व्यापारीहरूको आतंक आदिले सामान्य जनता शान्तिसँग बस्नै नसक्ने अवस्थामा पुगिसकेका छन् भने कोरोनाको प्रभावले नेपालको समग्र आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा माथि नजाने अनुमान गरिएको अवस्था छ । यो देश आर्थिक, भौगोलिक, पूर्वाधार विकास, प्रशासनिक सुगमता, प्राकृतिक स्रोत र साधनको उपलब्धता आदिका हिसाबले असमान अवस्थामा रहेको छ, त्यसैगरी सातै प्रदेशको अवस्था पनि समान छैन ।
प्रदेश १ पूर्वमा भारतको पश्चिम बंगाल, पश्चिममा प्रदेश २ र वाग्मती प्रदेश, उत्तरमा तिब्बत र दक्षिणमा भारतको विहारसहित हिमाल, पहाड र तराई भू–भागमा फैलिएको १४ वटा जिल्ला मिलाएर यो प्रदेशको निर्माण भएको छ ।यो प्रदेशको जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ रहेको छ ।
क्षेत्रफलका हिसाबले २५ हजार ९ सय ५ वर्गकिलोमिटर ओगटेको यो प्रदेशको मानव विकास सूचकांक ०.५५३ छ, यो सूचकांक राष्ट्रिय औसत ०.४९० भन्दा बढी हो । यहाँ ७३.६८ प्रतिशत जनसंख्या शिक्षित छन् भने मुख्य गरेर नेपाली (४३.०७ प्रतिशत), मैथिली (११.०१ प्रतिशत) र लिम्बू (७.३ प्रतिशत) भाषा बोलिन्छ । यो प्रदेशको प्रतिव्यक्ति आम्दानी १ हजार २ सय ११ अमेरिकी डलर रहेको छ ।
यो प्रदेशमा ५ सय ७५ वटा उद्योग र १४ वटा जलविद्युत् आयोजना रहेका छन् भने ६५.३ हजार मानिसले रोजगारी प्राप्त गरेका छन् ।
मानव विकास सूचक, प्रतिव्यक्ति आय, स्थानीय आय, उद्योगको अवस्था, रोजगारीको स्तर हेर्दा यो प्रदेशको अवस्था राम्रो नै देखिन्छ । सर्वोच्च शिखर सगरमाथा, इलामको अन्तु डाँडा, कन्याम, भेडेटार, नाम्चे आदि पर्यटकीय स्थलहरू र सगरमाथा राष्ट्रिय निकुञ्ज, कोसीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंगा संरक्षण क्षेत्र, नेपालको सबैभन्दा अग्लो ह्यातुङ झरना, ताप्लेजुङको पाथीभरा, इलामको माईपोखरी, झापाको अर्जुनधारा, सुनसरीको वराह क्षेत्र, पिण्डेश्वरी, रामधुनी, दन्तकाली, खोटाङको हलेसीजस्ता प्रसिद्ध स्थलहरू यही प्रदेशमा पर्छन् ।
पुवाखोला जलविद्युत् आयोजना, थामे जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना साथै सप्तकोसी, कन्काई, त्रियुगा नदीहरू यो प्रदेशमा पर्ने हुनाले यो प्रदेश जलस्रोतका हिसावबले धनी प्रदेश मानिन्छ भने ७० मिटरदेखि ८ हजार ८ सय ४८ मिटरसम्मको भूभाग यसै प्रदेशमा पर्छ ।
प्रदेश २ दक्षिणमा भारतको विहार, उत्तरमा वाग्मती र प्रदेश १, पूर्वमा प्रदेश १ र पश्चिममा वाग्मती प्रदेश भू–भागमा फैलिएको आठवटा जिल्ला समेटेर बनाइएको यस प्रदेशको जनसंख्या ४५ लाख ४ हजार १ सय ४५ रहेको छ ।
यो प्रदेश जनघनत्वका आधारमा सबैभन्दा बढी जनघनत्व भएको प्रदेशमा पर्छ । यहाँको ४९.५४ प्रतिशत जनसंख्या शिक्षित छ भने यहाँ मैथिली (४५.३० प्रतिशत), नेपाली (६.६७ प्रतिशत) र भोजपुरी (१८.५८ प्रतिशत) भाषा बोलिन्छ । क्षेत्रफलका हिसाबले ९ हजार ६ सय ६१ वर्गकिलोमिटर ओगटेको यो प्रदेशको मानव विकास सूचकांक ०.४८५ रहेको छ । यो प्रदेशको प्रतिव्यक्ति आम्दानी ९ सय ६७ अमेरिकी डलर छ । यो पनि नेपालको प्रतिव्यक्ति आम्दानीभन्दा कम हो ।
प्रदेशको समग्र गरिबी दर २७.७ प्रतिशत रहेको छ, जुन राष्ट्रिय गरिबी दर २५.२ प्रतिशतभन्दा बढी हो ।यो प्रदेशमा ३ सय ४३ वटा उद्योगहरू रहेका छन् भने ४५.३ हजार मानिसले रोजगारी प्राप्त गरेका छन् । मानव विकास सूचक, प्रतिव्यक्ति आय, स्थानीय आय, राजस्व बाँडफाँड तथा विकासका आधार जलविद्युत्, जडीबुटी, खानीमा यो क्षेत्र कमजोर देखिन्छ भने आव २०६९-७० को कृषि मन्त्रालयबाट प्रकाशित तथ्यांकलाई आधार मान्ने हो भने यो प्रदेश कृषि उत्पादनका दृष्टिकोणबाट दोस्रो नम्बरमा पर्छ ।
यो प्रदेशका प्रमुख स्थानहरूमा जानकी मन्दिर र गढीमाई मेला रहेका छन् भने वीरगन्ज नाका, जनकपुर–जयनगर रेल यसै प्रदेशमा पर्छन् ।
यो प्रदेशको मुख्य समस्या भनेको भ्रष्टाचार, बालविवाह र छुवाछूत प्रथा नै हो र जलविद्युत् उत्पादन भने शून्य रहेको तथ्याङ्कले देखाउँछ ।
वाग्मती प्रदेश पूर्वमा १ नम्बर प्रदेश, उत्तरमा तिब्बत, दक्षिणमा दुई नम्बर प्रदेश र भारतको विहार, पश्चिममा गण्डकी प्रदेशसहित कुल क्षेत्रफल २० हजार ३ सय वर्गकिलोमिटर ओगटेकोे यो प्रदेशमा जम्मा ३ वटा महानगरपालिका, एउटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका र ७४ गाउँपालिका गरी १ सय १९ स्थानीय तह र १३ वटा जिल्ला रहेका छन् भने यहाँको कुल जनसङ्ख्या ५५ लाख २९ हजार ४ सय ५२ रहेको छ ।
यहाँ मुख्य गरेर नेपाली (५७.४२ प्रतिशत), तामाङ (१८.३१ प्रतिशत) र नेपालभाषा (१२.२९ प्रतिशत) बोलिन्छ । नेपालको सबैभन्दा प्राचीन बसोबासको क्षेत्रमध्ये रहेको नेपालको राजधानी काठमाडौँ उपत्यका यसै प्रदेशमा पर्ने हुनाले ऐतिहासिक, राजनीतिक, आर्थिक र सांस्कृतिक हिसाबले यो प्रदेश नेपालको सबैभन्दा समृद्ध, पूर्वाधारयुक्त र गतिशीलप्रदेश हो ।
नेपालको सबैभन्दा बढी जनसङ्ख्या र सहरीकरण यहीँ छ । मुलुकको एकतिहाइ गार्हस्थ्य उत्पादन र औद्योगिक प्रतिष्ठान तथा आधाभन्दा बढी राजस्व यही प्रदेशबाट उठ्ने गरेको छ ।
यो प्रदेश मानव विकास सूचकाङ्क (०.५५८) र प्रतिव्यक्ति आय (१ हजार ७ सय ६७ अमेरिकी डलर) मा पनि अगाडि रहेको छ । सबैभन्दा धेरै विश्वसम्पदा र ऐतिहासिक धरोहर तथा नेपाल चिनाउने ऐतिहासिक वास्तुकला पनि यसै प्रदेशमा छन् । नेपालमा आउने प्रायः सबै विदेशी पर्यटकको गन्तव्य पनि यही हो ।हाल नेपालमा रहेका कुल ११ औद्योगिक क्षेत्रहरूमध्ये बालाजु, पाटन, भक्तपुर र हेटौँडा गरी चारवटा औद्योगिक क्षेत्रहरू यस प्रदेशमा रहेका छन् ।
आव २०७४-७५ को औद्योगिक तथ्याङ्कअनुसार सो वर्ष यस प्रदेशमा कुल ३ सय ३१ वटा उद्योग दर्ता भएका छन् । यस प्रदेशको कुल क्षेत्रफलको करिब १७ प्रतिशत जमिन खेतीयोग्य छ । नेपालमा मुख्य खाद्यान्न बालीहरूको कुल क्षेत्रफलमा १३ प्रतिशत र समग्र कृषि उत्पादनमा १६ प्रतिशत योगदान यस प्रदेशको रहेको छ ।
चाँगुनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, पशुपति मन्दिर क्षेत्र, पाटन दरबार क्षेत्र, हनुमान ढोका दरबार, बौद्धनाथ महाचैत्य र चितवन राष्ट्रिय निकुञ्जजस्ता विश्वसम्पदा सूचीमा सूचीकृत नेपालमा रहेका १० वटामध्ये ८ वटा सम्पदा यो प्रदेशमा रहेका छन् भने शिवपुरी राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्रजस्ता पर्यटनका स्थलहरू यसै प्रदेशमा रहनुले पर्यटन विकासका हिसाबले यो प्रदेश अन्य प्रदेशहरूभन्दा निकै नै अब्बल मानिन्छ ।
वि.सं.२०७४ को तथ्याङ्कअनुसार यो प्रदेशमा जम्मा १४ हजार ८ सय २९ विद्यालय, ३ वटा विश्वविद्यालय र २ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेका छन् । यो प्रदेशमा कुल साक्षरता दर ७४.८५ प्रतिशत रहेको छ भने २७ वटा सरकारी अस्पताल, ४२ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ सय ४२ वटा स्वास्थ्य चौकी, १ सय १ वटा नगर केन्द्र, ८६ वटा सामुदायिक स्वास्थ्य एकाइ तथा ६४ आयुर्वेद स्वास्थ्य संस्थाहरूले जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् ।
गण्डकी प्रदेश पूर्वमा वाग्मती प्रदेश, पश्चिममा ५ नम्बर प्रदेश, उत्तरमा तिब्बत, दक्षिणमा ५ नम्बर प्रदेश र भारतको विहार रहेको तथा प्रशासनिक हिसाबले गण्डकी प्रदेशलाई ११ जिल्ला, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी ८५ स्थानीय तहमा विभाजन गरिएको छ । यस प्रदेशको जनसंख्या २४ लाख ३ हजार ७ सय ५७ रहेको छ, क्षेत्रफलका हिसाबले २१ हजार ५ सय ४ वर्गकिलोमिटर ओगटेको यो प्रदेशको मानव विकास सूचकांक सबै प्रदेशको भन्दा उच्च ०.५६७ रहेको छ ।
यो प्रदेशको प्रतिव्यक्ति आम्दानी १,२७७ अमेरिकी डलर रहेको छ । यो प्रदेशमा साक्षरता ७४.८१ प्रतिशत रहेको छ भने ४ सय ५२ वटा उद्योग र २९ वटा जलविद्युत् आयोजना रहेका छन्, साथै २८.३ हजार मानिसले रोजगारी प्राप्त गरेका छन् । प्रतिव्यक्ति आय, राजस्व बाँडफाँड र जलविद्युत् आयोजनाका दृष्टिकोणबाट यो प्रदेश रामै्र अवस्थामा छ भने स्थानीय आय, कृषि उत्पादनका दृष्टिकोणबाट कमजोर अवस्थामा छ । गण्डकी प्रदेशमा १४.९१ प्रतिशत जनता आर्थिक गरिबीको रेखामुनि रहेका छन् ।
प्रदेश ५ यो प्रदेशमा जम्मा ४ वटा उपमहानगरपालिका, ३२ वटा नगरपालिका र ६३ गाउँपालिका गरी १ सय ९ स्थानीय तह र १२ वटा जिल्ला रहेका छन् । यस प्रदेशको जनसंख्या ४४ लाख ९९ हजार २ सय ७२ रहेको छ भने साक्षरता ६६.४३ प्रतिशत छ । क्षेत्रफलका हिसाबले २२ हजार २ सय ८८ वर्गकिलोमिटर ओगटेको यो प्रदेशको मानव विकास सूचकांक ०.५१९ रहेको छ, यो सूचकांक राष्ट्रिय औसत ०.४९० भन्दा बढी छ ।
यहाँ मुख्य गरेर नेपाली (५१.६ प्रतिशत), थारु (१५.२६ प्रतिशत) र अवधी (१२.१८ प्रतिशत) भाषा बोलिन्छ । यो प्रदेशको प्रतिव्यक्ति आम्दानी ९ सय ४३ अमेरिकी डलर रहेको छ । यो प्रदेशमा १० जनाभन्दा बढीलाई रोजगारी दिएका ९ सय उद्योग रहेका छन् । कृषि उत्पादन, स्थानीय आय, मानव विकास सूचक र राजस्व बाँडफाँडका दृष्टिकोणबाट यो प्रदेश औसत अवस्थामा मात्र छ भने प्रतिव्यक्ति आयका दृष्टिकोणबाट कमजोर अवस्थामा छ ।
यसका प्रसिद्ध स्थलहरूमा लुम्बिनी र दाङ उपत्यका रहेका छन् । कर्णाली प्रदेश १० वटा जिल्ला मिलाएर बनाइएको यो प्रदेशको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ रहेको छ भने साक्षरता ६२.७७ प्रतिशत छ । क्षेत्रफलका हिसाबले २७ हजार ९ सय ८४ वर्गकिलोमिटर ओगटेको यो प्रदेशको मानव विकास सूचकांक ०.४६९ छ । यहाँ मुख्य गरेर नेपाली, मगर र तामाङ भाषा बोलिन्छ ।
यो प्रदेशको प्रतिव्यक्ति आम्दानी ८ सय ८ अमेरिकी डलर छ । यो पनि नेपालको प्रतिव्यक्ति आम्दानीभन्दा कम हो । यो प्रदेशको साक्षरता प्रतिशत ६२.७७ छ भने यो प्रदेश कृषि उत्पादन, स्थानीय आय र मानव विकास सूचकका दृष्टिकोणबाट कमजोर देखिन्छ ।
सुदूरपश्चिम प्रदेश ९ वटा जिल्ला मिलाएर बनाइएको यस प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ छ भने साक्षरता दर ६३.४८ प्रतिशत छ । क्षेत्रफलका हिसाबले १९ हजार ५ सय ३९ वर्गकिलोमिटर ओगटेको यो प्रदेशको मानव विकास सूचकांक ०.४७८ रहेको छ । यहाँ मुख्य गरेर नेपाली (३०.१७ प्रतिशत), डोटेली (३०.४ प्रतिशत) र थारु (१७ प्रतिशत)भाषा बोलिन्छ । यो प्रदेशको प्रतिव्यक्ति आम्दानी ६ सय ६३ अमेरिकी डलर रहेको छ ।
यो पनि नेपालको प्रतिव्यक्ति आम्दानीभन्दा कम हो । राजस्व बाँडफाँड र प्रतिव्यक्ति आयमा कमजोर प्रदेश हो यो । कृषि उत्पादन, स्थानीय आय र मानवविकास सूचकका दृष्टिकोणबाट यो प्रदेश छैटौं नम्बरमा पर्छ ।माथिको तथ्यांकलाई हेर्दा प्रदेशहरूका बीचमा आर्थिक असमानता रहेको देखिन्छ ।
वाग्मती प्रदेश सबै तथ्यांकमा अगाडि छ । यो प्रदेश केन्द्रीय सरकारको आर्थिक सहयोगबिना पनि चल्न सक्ने अवस्थामा छ भने कर्णाली प्रदेश र सुदरपश्चिमकोे आर्थिक अवस्था अन्य प्रदेशको तुलनामा कमजोर देखिए पनि सबै प्रदेशले आन्तरिक राजस्वको दायरामा विस्तार र सार्वजनिक खर्चको प्रभावकारी कार्यान्वयन गर्दै अगाडि बढ्नु नै प्रदेश विकासको मूलमन्त्र हुनुपर्छ ।
(लेखक त्रिवि अर्थशास्त्रका उपप्राध्यापक हुन् ।)