जनकपुरधाम । प्रदेश नं २ सरकारले अगामी आर्थिक वर्षको लागि रू. ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार कुल बजेट विनियोजन गरेको छ ।
प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ रू. १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् ४५ दशमलव ९५ प्रतिशत र पुँजितर्फ रु १७ अर्ब ९८ करोड ८२ लाख अर्थात् ५३ दशमलव ६७ प्रतिशत बजेट विनियोजन गरेको हो ।
वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात् शून्य दशमलव ४८ प्रतिशत विनियोजन भएको छ ।अगामी आर्थिक वर्षको बजेटमा बजेट खर्च आन्तरिक स्रोत राजस्वबाट रू. १२ अर्ब २४ करोड २८ लाख ६० हजार र नेपाल सरकारबाट अनुदान रू.१३ अर्ब ४० करोड ५९ हजार छुट्याइएको छ ।
प्रदेश सरकारको खर्च नभएर नगद मौजदात रू.६ अर्ब ९१ करोड २९ हजार बजेटमा समेटिएको छ । कोरोना रोकथामका लागि स्वीकृत कार्यक्रमको रू.२ अर्ब मध्ये रू.३३ करोड रकम राहत बाँडेको प्रदेश सरकारले प्रादेशिक स्वास्थ्य प्रयोगशाला निर्माणको लागि रू. ७० करोड २७ लाख विनियोजन गरेको छ ।
कोरोना महामारी रोकथामको लागि प्रादेशिक अस्पताल जनकपुरमा रू. ४५ करोड ५३ लाखको लगानीमा स्तरोन्नती गर्न विनियोजन गरिएको छ । यस्तै सप्तरीको भारदा अस्पतालाई स्तरोन्नती गर्न रू.६ करोड ८९ लाख र पर्सा पोखरिया अस्पताल रू.४ करोड ४ लाख विनियोजन भएको छ ।
त्यस्तै बजेट सागरनाथ वनमा प्रदेश आयुर्वेद अनुसन्धान केन्द्र स्थापना गर्ने कुरा समेटिएको छ । अनुसन्धान केन्द्र निर्माणमा बजेट अभाव हुन नदिने कुरा उल्लेख गरिएको छ । यस्तै क्यान्सर अस्पताल ट्रमा सेन्टरको लागि रू.२ करोड विनियोजन गरिएको छ ।
स्थानीय निकायको सहयोगमा सर्पदंश उपचार केन्द्रको लागि एन्टिभेनम सञ्चालन गर्न रू.५ करुोड ५४ लाख, विपदमा परेकालाई उद्धार गर्न रू. ५ करोड ८० लाख बजेट छुट्याइएको छ ।कोराना महामारीले बैदेशिक रोजगारी गुम्ने खतरालाई दृष्टिगत गर्दै बजेटमा कृषि एवं उत्पादनमुल्क क्षेत्रमा जोड दिएको छ ।
सरकारले किसानहरुलाई कृषि ऋणको लागि रू.२ करोड विनियोजन गरिएको छ भने अतिविपन्न र दलित युवाको क्षमता अभिवृद्धि गर्न प्रदेश प्रमुख कार्यक्रम अन्तरगत रू. ८ करोड छुट्याइएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आधुनिक कृषिमा जोड दिंदै सुपथ ब्याज दरमा ऋण उपलब्ध गराउने विषय पनि बजेट भाषणमा प्रतिबद्धता गरिएको छ ।
सरकारले कृषि रोजगार कार्यक्रम अन्तरर्गत रू. १२ करोड, जनता अवास कार्यक्रमको लागि रू. ८० करोड ७४ लाख, शित भण्डार निर्माण गर्न रू.२० करोड विनियोजन गरिएको छ ।
कृषि उपज बाहन खरीद गर्नका लागि रू.२ करोड २५ लाख, डिप बोर्डिगको जडान लागि रू. ३ करोड २० लाख, निजी तथा सार्वजनिक दूध संकलन बाहन खरीद गर्नका लागि रू. १ करोड, हुलाकी मार्ग लक्षित दूध मेसिनको लागि रू. ५ करोड र किसान को जिवन सुधारका लागि रू.३ करोड ५० लाख विनियोजन गरिएको छ ।