जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन देशको अखण्डता, राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको बताए ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा भएको पनि महतोले बताए ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताए ।
राष्ट्रियता जाति, धर्म विशेष र क्षेत्रले निर्धारण नहुने उल्लेख गर्दै नेता महतोले आजैबाट राष्ट्रघात र राष्ट्रवादको परिभाषा परिवर्तन गर्नुपर्ने बताए ।
वर्तमान संविधानप्रति आफूहरुको ‘रिजर्भेसन’ रहेको उल्लेख गर्दै पटक–पटक संविधानप्रति रहेको विभिन्न असहमतिहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइए पनि आफूहरुको कुरा नसुनिएको उनले बताए ।
आफूहरुको असन्तुष्टिलाई पनि सम्बोधन गर्दै प्याकेजमा संविधान संशोधन गरेको भए अझ राम्रो हुने उनले बताए । यदि त्यस्तो गरेको भए हिमाल, पहाड, तराई मधेसका नागरिकको भावना समेटिने नेता महतोले बताए ।
नेता महतोले संविधानप्रति आफूहरुको असहमति र असन्तुष्टि हुँदाहुँदै नेपाली भूमिको सवाल र राष्ट्रियताको सवाल आउँदा सहर्ष स्वीकार गरेको बताए ।