कोरोना महामारी: लकडाउनको मौका छोप्दै खानेतेलमा अप्रत्यासित मूल्यवृद्धि गरी जनकपुरमा धारा तेलको कालोबजारी भैरहेको तथ्य बाहिर आएको छ । अभावको मौका छोप्दै धारा तेलको अप्रत्यासित मूल्यवृद्धि गरेका तेल उद्योग माथि अनुसन्धान गर्न सरकारी निकायले बेवास्ता गर्दा उपभोक्ता मारमा परेका छन ।
अस्वभाविक मूल्यमा तेल बेचिरहेका केएल दुगड ग्रुप तथा ज्ञान ईन्टरपराईजेज ले जनकपुरको मिल्स एरियामा रहेको शाखाले कालोबजारी गर्दै आएको ब्यापारीहरु बताउंछन । दुगडका जनकपुर शाखा संचालक चिरंजिवी जोशीले उद्योगले निर्धारण गरेको मूल्य भन्दा चर्को रकम लिई तेल बिक्री बितरण गर्दै आएको जनकपुरका एक ब्यापारीले गुनासो गरे । उद्योगले धारा तेलको मूल्य २ हजार १ सय ५० रुपैयाँ निर्धारण गरेको छ । तर संचालक जोशीले आफ्नो शाखामा तेल नै नल्याई मिल्स एरियामा रहेको ज्यन्ती किराना स्टोरमा थन्काई २ हजार ३ सय ५० मा बिक्री बितरण गर्दा आफुहरु मारमा परेको जनकपुरका ब्यापारीले गुनासो गरे । यती मात्र नभैइ खुद्रा ब्यापारी तथा उपभोक्तालाई सहजै रुपमा तेल उपलब्ध नगराउने गरेको उनले बताए । संचालक जोशीले उद्योग मतहतको मिल्स एरिया शाखामा तेल अभाव देखाई अन्यत्र किराना पसलबाट चर्को मूल्य असुल्दा धेरै महंगोमा खाने तेल किन्नु परेको उपभोक्ता संजिब साहले दुखेसो पोखे ।
धारा ब्राण्डको तेल उत्पादक केएल दुगड गु्रप का शाखा संचालक जोशीलाई लकडाउनको अवधिमा मूल्य नबढाउन आग्रह गरेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह को कथन छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा र नाप तौल तथा गुणस्तर कार्यालय जनकपुर निरिह देखिएपछि बजारमा खानेतेलको मूल्य अझै असमान्य रुपमा बढिरहेको छ ।
तोरीको तेल प्रतिलिटर २ सय ८० रुपैयाँ भन्दा बढीमा बिक्री भएको भेटिएको छ । शाखा संचालक जोशीले बदमासी गरेको संकेत गर्दै जनकपुरका खुद्रा ब्यापारीहरु कारवाहीको मांग गरेका छन ।
धारा तेलको कालोबजारी सम्बन्धमा आफुलाई केही जानकारी नरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले भने – ‘यसबारे अनुसन्धान गरेर मात्रै के भएको भन्ने निश्कर्ष निकाल्न सकिन्छ ।’
बजारमा अभावको कारण देखाउँदै खानेतेलमा झण्डै ३३ देखि सतप्रतिशतसम्म कृत्रिम मूल्यवृद्धि गरिएको छ ।
जनकपुरमा धारा तेलको कृत्रिम मूल्यवृद्धि नभएको शाखा संचालक जोशीले जिकिर गरे । ढुवानी खर्च जोगाउन आफुले ज्यन्ती किराना तथा जिरोमाईलका ब्यापारीलाई तेल अनलोड गर्ने गरेको बताए ।
जनकपुरमा धारा तेलको मात्र होईन ज्ञान चक्की आँटामा समेत कृत्रिम मूल्यवृद्धि गरिएको छ ।