About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
चिनियाँ नागरिक पक्राउ प्रकरण : नक्कली वेबसाइट र एप्स बनाएर चिनियाँलाई नै ठगी

खोज केन्द्र बिहिबार, पौष १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । सोमवार काठमाडौंबाट पक्राउ परेका चिनियाँहरूले आफ्नै मुलुकका नागरिकलाई ठगी गरेको नेपाल प्रहरीले बताएको छ । चीनको नेशनल सेन्टरल ब्यूरो (एनसीबी)बाट प्राप्त सूचनाका आधारमा नै उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को भनाइ छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले यस्तो जानकारी दिएको हो । एनसीबीले ४ महीनाअघि नै यस विषयमा नेपाल प्रहरीलाई जानकारी दिएको सीआईबीको भनाइ छ ।

पक्राउ परेका चिनियाँहरूले विभिन्न माध्यमबाट चीनका धनाढ्य युवतीसँग सम्बन्ध बनाउने, उनीहरूलाई आफूले बनाएको नक्कली वेबसाइट र मोबाइल एप्स छुट्टाछुट्टै रूप दिन्थे । यी वेबसाइटमा बैंक खाता पनि खोल्न सकिने सुविधा रहेको तथा उनीहरूले आफ्नो सम्पर्कमा रहेकाहरूलाई उच्च ब्याजदरको प्रलोभन देखाएर त्यहाँ खाता खोली पैसा जम्मा गर्न लगाउने गरेको प्रहरीको भनाइ छ ।

त्यसपछि कतिपय युवतीले पनि त्यसमा खाता खोलेर पैसा जम्मा गर्ने गरेको बताइएको छ । साथै, राम्रो ब्याज आउन थालेपछि युवतीहरूले खातामा पैसा बढाउने गरेको र खातामा पैसा बढ्दै गएर लाखौं भएपछि उनीहरूले वेबसाइट र एप्स नै बन्द गरेर पैसा कब्जा गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले प्रक्राउ गरेका १२२ जना चिनियाँ नागरिक फरकफरक समूहका हुन् । उनीहरूले यस्तो धन्दा गर्न चीनमा एजेन्टहरू नै राखेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदी बताउँछन् । ‘चीनमा भएका एजेन्टले स्थानीय रूपमा कसलाई फसाउन सकिन्छ भनेर पत्ता लगाउने र त्यसको जानकारी नेपाल पठाउने गरेको देखिन्छ,’ उनले भने, ‘सोही जानकारीका आधारमा यहाँ बस्ने चिनियाँले त्यस्ता युवतीसँग विभिन्न माध्यमबाट सम्बन्ध बढाउने र यस्तो धन्दा गर्ने गरेको देखिन्छ ।’

एनसीबी चाइनाले दिएको यस्तै प्रकारको सूचनामा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका प्रमुख डीआईजी नीरजबहादुर शाहीले बताए । उनले भने, ‘उनीहरू अन्य आपराधिक क्रियाकलापमा पनि संलग्न हुन सक्छन्, त्यस विषयमा पनि अनुसन्धान भइरहेको छ ।’ घटनाको प्रकृति हेर्दा उनीहरूले चिनियाँ नागरिकलाई नै निशानामा राखेको सीआईबीको भनाइ छ ।

इन्टरपोलको चिलीमा भएको ८८औं महासभामा एनसीबी पेचिङ तथा नेपाल प्रहरीबीच ट्रान्सबोर्डर साइबर अपराध नियन्त्रणका विषयमा छलफल भएको थियो । त्यसयता दुवै पक्षबीच यस विषयमा सूचना आदानप्रदान भएको थियो । त्यसैका आधारमा सीआईबी र महानगरीय प्रहरी परिसर टेकुको संयुक्त टोलीले काठमाडौंका विभिन्न ठाउँबाट १२२ चिनियाँ नागरिक पक्राउ गरेको थियो ।

हाल उनीहरूलाई काठमाडौं प्रहरी अन्तर्गतका विभिन्न वृत्त तथा प्रभागमा राखिएको छ । चिनियाँलाई पक्राउ गरेपछि नेपाल प्रहरी र सीआईबीलाई एनसीबी चीनले धन्यवाद पनि दिएको छ ।

पक्राउ परेकामध्ये ८ महिला र ११४ पुरूष छन् । उनीहरूबाट ७४७ मोबाइल, ३३१ लाप्टप, ९८ सीपीयू, ९९ मनिटर, २२ पेनड्राइभ, ३२७ सिम कार्ड र ६७ ओटा पासपोर्ट बरामद गरिएको छ । साथै, ४ लाख २४ हजार नेपाली रुपैयाँ र ४३ हजार चाइनिज मुद्रा पनि बरामद गरिएको छ ।

पक्राउपूर्व सोधपुछ गर्दा उनीहरूले महिला प्रहरीमाथि दुव्र्यवहार गरेको सीआईबीको भनाइ छ । त्यसैले उनीहरूमाथि हाल सार्वजनिक अपराध तथा दुर्व्यहारको मुद्दा अघि बढाइएको छ । उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार नै ५दिनको समय दिएको छ । महानगरीय प्रहरी परिसरले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

उनीहरूलाई घर भाडामा दिने सम्बद्ध घरधनीलाई पनि अनुसन्धानको दायरामा ल्याउने सीआईबीको तयारी छ । उनीहरूले कानूनी प्रक्रिया नपुर्‍याई घर घाडमा दिएको भए प्रचलित कानूनबमोजिम कारबाही गरिने सीआईबीका शाहीको भनाइ छ । उनीहरूले मासिक रू. ४ लाखदेखि रू. १२ लाखसम्म भाडा लिने गरको बताइएको छ ।

अनुसन्धानको क्रममा खुल्ने थप सूचनाका आधारमा नयाँ मुद्दा अघि बढाउने सीआईबीको तयारी छ । सीआईबीका निर्देशक शाहीले भने, ‘अहिले उनीहरूलाई दुव्र्यवहार मुद्दामा अनुसन्धान गरिरहेका छौं । अनुसन्धानका क्रममा उनीहरूका अन्य आपराधिक क्रियाकलाप पनि खुल्न सक्छन्, त्यसका आधारमा पनि प्रचलित नेपाली कानूनअनुसार थप मुद्दा अगाडि बढाउँछौं ।’

यदि उनीहरूमाथिको आरोप प्रमाणित नभए अध्यागमन विभागलाई जिम्मा लगाउन सकिने उनको भनाइ छ । त्यसपछि विभागले आफ्नो अधिकार प्रयोग गरेर उनीहरूलाई स्वदेश फिर्ता गर्न सक्ने शाहीको कथन छ ।

सम्बन्धित

ताजा अपडेट
मधेसवादीको दोहोरो चरित्र: पहिला संविधान जलाउने, अहिले संविधान जोगाउने
धनुषाको मिथिला नगरपालिकामा पत्रकार संजाल गठन
जसपामा दुई धार, उपेन्द्र यादबलाई सिरहामा कालो झण्डा देखाउने चेतावनी

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]