तर बिहीवारको सूर्यग्रहणको पूर्ण रूप भने नेपालबाट नदेखिने उनीहरूको भनाइ छ।
नेपालीहरूले आंशिक रूपमा मात्र सूर्यग्रहण हेर्न सक्नेछन्।
बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार बिहीवार बिहान ८ बजेर ४३ मिनेटमा काठमाण्डूबाट सूर्यग्रहण देखिनेछ।
त्यस्तै ८ बजेर ३३ मिनेटमा महेन्द्रनगरबाट र ८ बजेर ४८ मिनेटमा भद्रपुरबाट सूर्यग्रहण देखिनेछ।
उनका अनुसार काठमाण्डूमा ११ बजेर ३३ मिनेटमा सूर्यग्रहण सकिनेछ।
उनका अनुसार यो सूर्यग्रहणलाई दुर्लभ खालकै सूर्यग्रहण भन्न सकिन्छ।
यो सूर्यग्रहण किन दुर्लभ हो भन्नेबारे उनले बीबीसीसँग बताएका कारणहरू उनकै शब्दमा:

खग्रास भनेको पूरै ढाकिने खालको हो भने खण्डग्रास भनेको अलिकति मात्र ढाकिने हो।
यो खण्डग्रास सूर्यग्रहण हो। यसमा चन्द्रमाले सूर्यलाई पूरा नभई आधाजति मात्र ढाक्छ।
वास्तवमै यो सूर्यग्रहण अलि दुर्लभखाले हो। किनभने यो चुराजस्तो हुन्छ।
यसमा बीचमा केही देखिँदैन र सूर्य सुनको बालाजस्तो देखिन्छ।
त्यसको कारण के हो भने अहिले चन्द्रमा पृथ्वीभन्दा निकै टाढा छ।

त्यसले गर्दा चन्द्रमाले सूर्यलाई पूरै ढाक्न सक्दैन र सुनौलो बालाजस्तो हुन्छ।
यो सूर्यग्रहणलाई हामी पूरै देख्न सक्दैनौँ। काठमाण्डूबाट ३९ प्रतिशत मात्र देख्न सक्छौँ।
खग्रास सूर्यग्रहण चाहिँ ३ सय ७५ वर्षपछि मात्र देख्न सकिन्छ। हामीले जीवनकालमा देख्न सक्दैनौँ।
हेर्न हुन्छ कि हुँदैन?
सूर्यग्रहणलाई खुला आँखाले हेर्नै हुँदैन। त्यसो गर्यो भने आँखा सधैँका लागि बिग्रन्छ।

सूर्यलाई सिधै हेर्दा कोर्नियामा असर पर्छ। जीवनभर ज्योति गुम्यो भने फर्कँदैन।
वैज्ञानिकहरूले बताएका विशेषखाले उपकरण वा चश्मा प्रयोग गरेर मात्र हेर्न हुन्छ।
नत्र थालमा पानी राखेर पनि हेर्न मिल्दैन। बजारमा आएका चश्मा पनि वैज्ञानिक परीक्षण नगरिएका हुनाले प्रयोग नगरेकै राम्रो हो।
कुन राशीले हेर्न हुने र नहुने भन्नेको पनि कुनै वैज्ञानिक आधार नभएकाले सुरक्षित हुने गरी यो सूर्यग्रहणलाई जोसुकैले हेर्न हुन्छ।