सर्वसाधारण मानिसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकनको व्यवस्था गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले बताए ।
समितिको कार्यालय कीर्तिपुरमा टेलिस्कोपमा सोलार फिल्टर जडान गरी सुरक्षित तरिकाबाट अवलोकनको व्यवस्था गरिएको उनले सुनाए । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट सूर्यग्रहण अवलोकनको व्यवस्था मिलाएको अध्यक्ष सुरेश भट्टराईले सुनाए ।
समितिले नेपालका तीन स्थानबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्यसमेत सार्वजनिक गरेको छ । काठमाडौं, महेन्द्रनगर र भद्रपुरबाट देखिने सूर्यग्रहणको वैज्ञानिक रुपमा गणितीय गणनाअनुरुप शुद्ध तथ्यांक निकाली जनमानसमा जानकारी गराएको हो ।
जसअनुसार काठमाडौंमा ०८ : ४३, महेन्द्रनगरमा ०८ : ३८ र भद्रपुरमा ०८ : ४८ मा ग्रहण शुरु हुनेछ । यसैगरी ग्रहणको मध्य पनि काठमाडौंमा १० : ०१, महेन्द्रनगरमा ०९ : ५२ र भद्रपुरमा ०९ : ५९ मा हुनेछ । ग्रहणको अन्त्य काठमाडौंमा ११ : ३३, महेन्द्रनगरमा ११ : १९ र भद्रपुरमा ११ : २७ मा हुने समितिले बताएको छ ।
यसैगरी ग्रहण अवधि काठमाडौंमा दुई घण्टा ५० मिनेट, महेन्द्रनगरमा दुई घण्टा ४३ मिनेट र भद्रपुरमा दुई घण्टा ५३ मिनेटसम्म रहनेछ ।
यसपटकको सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रासमात्र देखिने छ । पृथ्वीको केही भागको करीब १०० किमिको ब्याण्डबाट बलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । चन्द्रमाको छायाँको व्यास सूर्यको भन्दा सानो भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिने निमित्त कार्यकारी निर्देशक शर्माले जानकारी गराए ।
सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर अवलोकन गर्नु नहुने समितिको ठहर छ । यसरी हेरेमा आँखा सदाका लागि बिग्रने सम्भावना हुन्छ । एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्बलाई अवलोकन गर्नु हुँदैन ।
हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चश्माबाट मात्र ग्रहण अवलोकन गर्न सकिने कार्यकारी निर्देशक शर्माले सम्झाए । साधारण चश्माको प्रयोग गरेर समेत ग्रहण नहेर्न पनि उनले आह्वान गरे ।
सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको समितिले बताएको छ । नेपाल पञ्चांग निर्णायक समितिले भने ग्रहणको मानिसमा प्रभाव शास्त्रीय विश्लेषणअनुसार चार प्रहर अर्थात १२ घण्टा अघिदेखि नै सुतक लाग्ने बताएको छ ।
जसअनुसार बुधवार बेलुकी ८ : ४३ बजेदेखि नै बालक, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेधको शास्त्रीय वचन रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । रासस