सशस्त्रका घुमुवाहरूले छाेडेकाे उजागर
जनकपुर । लकडाउन बीच धनुषामा भन्सार छली तस्करी बढेको छ । भन्सार छली तस्करी नियमन गर्ने निकायकै मिलोमतोमा लकडाउनमा पनि तस्करी ह्वातै बढेको हो ।
यसै क्रममा भन्सार छली ल्याएको भारतबाट करिब ३ लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सामान सहित महोत्तरी जलेश्वर नगरपालिका-११ बस्ने ३४ वर्षीय जितेन्द्र कुमार साह समेत २ जनालाई प्रहरीले पक्राउ गरेकोछ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ज.७ प ४०६१ र ज.६ प ६०९७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्दा भन्सार छली गरी ल्याएका राजनिवास २ सय १० थान, पानपराग पत्ती (सुर्ती) १ सय थान, खाने तेल २५ बोतल र उक्त मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उक्त सामान सशस्त्र प्रहरीको धनुषा स्थित गणका एसपी र भन्सारको राजस्व गुल्मका डिएसपीले परिचालन गरेका घुमुवाहरूले रकम लिएर छाेडेकाे समेत खुल्न अाएकाे छ भने भन्सार कार्यालय जनकपुर समेत महिनावारी उठाउंदै आएको तस्करहरुकै आरोप छ ।